कानेपोखरी २ का गरिब परिवारहरू अझै अध्यारो रातमा रात बिताउँदै

रविन्द्र बराल/ मोरङ, असार १२ – मोरङको कानेपोखरी २, दलेलीस्थित सुकुम्बासी बस्तीका केही घरपरिवारहरू अहिले पनि अध्यारो रातमा मट्टीतेलको बत्तीको सहारामा रात काट्न बाध्य छन्। सबै नागरिकको घरमा उज्यालो पुर्याउने सरकारी अभियान भइरहे पनि उक्त बस्तीका धेरैजसो घरहरू अझै पुरानै प्रणालीमा निर्भर छन्।
तीन दशकअघि नहरछेउको ऐलानी जमिनमा बसोबास थालेका ५० भन्दा बढी घरपरिवारमध्ये केही घरमा अहिले विद्युत् पुगे पनि अधिकांशले आर्थिक अभावका कारण बत्ती बाल्न सकिरहेका छैनन्।
स्थानीय बासिन्दा पाण्डे ऋषिदेव चार सदस्यीय परिवारसहित एउटै टिनको छानो भएको जिर्ण घरमा बस्दै आएका छन्। घरको घेराबेरा कमजोर छ, भुइँमै बोराको ओछ्यानमा सुत्नुपर्छ। खाटसमेत नभएकाले रातको समयमा सर्पले टोक्ने डरले उनी स्वयं रातभरि परिवारको रेखदेखमा बस्नुपरेको बताउँछन्।
दुई वर्षअघि स्थानीय तहले दलित परिवारलाई घर बनाइदिने भनेर ठाउँ तयार गरी पिलर उठाएर टिनको छानो हालिदिएको थियो। तर बाँकी संरचना बनाउन नसकेपछि उनीहरू सामान्य बाँसको टाटीले छोपेर बस्न बाध्य छन्। अहिले त्यही घरसमेत जीर्ण अवस्थामा पुगेको छ। न राम्रो बस्न मिल्ने घर छ, न त घरभित्र उज्यालो छ।
त्यस्तै अर्की मुसहर समुदायकी महिला भन्छिन्, “स्थानीय तहलाई जानकारी दिँदा सबै नेताहरूले ‘हुन्छ’ मात्रै भन्छन्, तर कोही फर्केर हेर्न आउँदैनन्।”
रुकमन्ती ऋषिदेवले भनिन्, “गाई–बाख्रा सबै बेचेर अहिलेको घर बनाएका हौं। तर अहिले दुई छाक जोहो गर्न गाह्रो छ। घरमा बत्तीसमेत नभएर रात कटाउन झन् अप्ठ्यारो भएको छ।”
उनले वडामा विद्युत् मिटरको सिफारिस लिन जाँदा धेरै खर्च लाग्ने जानकारी दिँदै, सोही कारण मिटर जडान गर्न नसकिएको बताइन्। अहिले उनीहरू मट्टीतेलको कुप्पिको सहारामा बस्न बाध्य छन्।
गाउँपालिका–२ का वडासचिव श्याम चौधरीका अनुसार वडाले ऐलानी जग्गामा बसोबास गर्ने र अत्यन्त विपन्न परिवारलाई मिटर सिफारिसमा मात्र २ सय रुपैयाँ लिने गरेको र अति विपन्नका लागि निशुल्क सेवा पनि दिने गरेको जानकारी दिए।
स्थानीयहरूका अनुसार चुनावका बेलामा नेताहरूले गरिबका लागि थुप्रै आश्वासन दिन्छन्, तर जितेपछि गाउँ फर्किँदैनन्। त्यसैले दिनप्रतिदिन गरिबहरू बेसाहारा हुँदै गएका छन्।

















