
नवराज राई/संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरीमा आज साहित्यिक महोत्सव सम्पन्न भएको छ । महोत्सव मकालु साहित्य समाज संखुवासभाको आयोजनामा सम्पन्न भएको हो। महोत्सबमा अग्रज साहित्यकार, कलकार र संस्कृतिविद्हरुको उपस्थिती रहेको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए ।
मत्स्यपोखरीमा नवनिर्मित मूर्तिहरुको ७ दिने प्राण प्रतिष्ठा कार्य समेत गरिएको थियो । पोखरी आसपास बसाहा, शिवलिङ्गको नवनिर्मित मूर्तीहरुमा प्राण गर्न ५ जना पुरोहितहरुले गएको कार्तिक २७ गतेदेखि पुजा आरती गरेका थिए । सोही अवसरमा सार्वजनिक प्रयोजनका लागि जग्गा प्रदान गर्ने १ सय ७५ जना जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, विशिष्ट अतिथि बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, गाउँपालिका अध्यक्ष पासाङ नुर्दू शेर्पा र उपाध्यक्ष यदुकुमारी राईले संयुक्त रुपमा सम्मान हस्तान्तरण गरेका थिए । गाउँपालिकाको समृद्धिका लागि निशुल्क जग्गा दिएर सहयोग गर्नेहरुको सहयोगको उच्च मुल्याङ्कन गर्दै पालिका स्तरीय कार्यक्रमको आयोजना गरि सम्मान गरिएको पालिका अध्यक्ष पासां नुर्बु शेर्पाले बताए।
मत्स्यपोखरी संखुवासभाको चिचिला गाउँपालिका वडा नं ४ को बिच भागमा अवस्थित छ । पोखरीभित्र अनेकौ जलपरी रहेका छन् । संखुवासभाको सदरमुकाम खादबारीबाट करिब एक घण्टा ट्याक्सी चढेर मत्स्यपोखरी पुग्न सकिन्छ । बस चढेर गएमा धरानबाट धनकुटा, हिले , अरुण नदीको किनारै किनार हुदै आठ घण्टामा चिचिला पुग्न सकिन्छ।
खाँदबारीबाट सिजनमा पांमा, सेकाहातिर पहेंला सुन्तला र धानका बालाहरु हेर्दै जान पाइन्छ। छयाङ्कटी डाँडा हुदै बादल नलागेका बेला विस्वको पाचौ अग्लो मकालु हिमालको समेत दृस्यवालोकन गर्न सकिन्छ। पोखरीको पश्चिमपट्टी पर्ने असाध्य सुन्दर हरियो दुबोले ढाकेको हरियो खेल मैदानमा फुटबल पनि खेल्छन् । पश्चिम पट्टि ढुङेन ढाँण छ तर बिभिन्न प्रजातिका रुखपातले ढुङ्गाहरुलाई नदेखिने गरी छोपेको छ । पूर्वोत्तर पटि जालपा देवीको मन्दिर रहेको छ । दक्षिणपूर्वमा बढेमानका पत्थर कुँदेर बसाहा, शिवलिङ्ग, महादेवका आकृतिहरु कुँदिएको छ । पश्चिमपिछ बिशाल प्रस्तरमा बुद्धको प्रतिमा खोपिदै छ । पोखरीको डिलमा महादेवको मन्दिर रहेको छ।
दक्षिणपट्टि पोखरीको निकासबाट निसृत कञ्चन र निर्मल पानीको केही अंश उपयोग गरेर पञ्चधारा बनाइएको छ । पोखरीको वरिपरि अत्यन्ता राम्रो पर्खाल छ। रेलिङले कार्तिक मंसिर महिनामा पर्ने तिहार पर्वपछिको पूर्णिमाका रात यहाँ परम्परागत मेला लाग्छ । मछेबजार भनेर सयौँबर्ष अघिदेखि मेला लाग्न शुरु भएको यो मेला शेर्पाको स्या, तामाङको सेलो, लिम्बुको धाननाच, आर्यनको भजनकीर्तन, याम्फूको च्याब्रु, मारुनी जस्ता साँस्कृति नाचको मौलिक र जीवन्त प्रस्तुतिको रंगमंच हुने गर्दछ । मत्श्यपोखरी बौद्ध, किरात र हिन्दू धर्माबलम्बीहरुको समान आस्था, विश्वास र सम्मानको धरोहर हो भने मछे मेला बहुल जातीय सँस्कृतिको गौरवमय विरासत हो ।
छयाङ्कुटी डाँडा यहाँको इफल टावर हो। बादल नलागेका समयमा यहाँबाट मकालु, खेम्पालुङ्ग र कन्चनजङ्गाको मुस्कानलाई नजिकैबाट अनुभव गर्न पाइन्छ । छ्याङ्कुटीबाट चिचिला जाँदा गाडी कहिले बिशाल रुखका छाँयामा, कहिले घामका प्रकाशमा टिलिक्क टल्किँदै जान्छ। त्यसपछि चिचिला बजार भेटिन्छ। चिचिला डाँडो मिनीबजार चिचिलाको पालिका केन्द्रमात्र होइन दार्जिलिङको चौरास्ता जस्तै मनमोहक छ ।
चिचिला डाँडा; चिचिला गाउपालिका प्रदेश नं. १ कै सानो गाउँपालिका, दिदिङ र मत्श्यपोखरी दुइ गाविस समायोजन गरेर बनेको हो । चिचिला डाँडा गाउँपालिकाको केन्द्र हो। यहाँ दुइओटा सुविधासम्पन्न होटल सहित २५ ओटा जति साना ठूला पसल भएको बजार,दायाँपटीको पाटोमा चिया बगान बायाँ पट्टिको पाटोमा अलैँची बगान रहेको छ। मौसम सफा हुँदा यहाँबाट उत्तरतिर मकालु हिमाल र खेम्पालुङ हिमालको चुली र पूर्वतिर जलजले हिमाल पर्वतमाला देख्न सकिन्छ ।
चिचिला बजारबाट दापहनेपट्टि घुरबिसे र अर्खौले डाँडा पनि उत्तीकै रमणीय छ । बजारबाट २०० मीटर उत्तरमा थुम्की छ। थुम्कीका डाँडाकाँडाहरु सम्याएर पालिका भवन निर्माणको लागि समथलटार बनाइएको छ । दन्त्यकथामा राक्षसले डाँडाकाँडा सम्याउँछ भनेझैँ डोजरले सम्याएको यो डाँडो प्राकृतिक धरहरा नै हो । यस डाडाको एक छेउमा शिवालय मन्दिर बनाईएको छ । बुद्धपार्क र बलुथान टावर चिचिलाबाट १० मिनेट बसमा गएपछि आउने कुवापानीबाट देब्रेपट्टी रेलिङहरु समातेर सिँढीहरु उक्लँदै २०० खुड्किला उक्लिएपछि शुरु हुन्छ । मकालु हिरक पार्क भने यहाँबाट आधाघण्टामा बसको यात्रापछि कप्दाने पोखरी किनारमा डाँडाहरु सम्याएर निर्माणाधीन रहेको देख्न सकिन्छ। कप्दानेको एतिहासिकता र मनमोहक दृश्यले जसकसैको मनलाई सुम्सुम्याउँछ । पल्लो छेउमा रहेको धजे डाँडा र देउराली बजार, मांमायामाथि भाटभटेनी भन्ज्याङ्ग मनमोहक दृश्यावलोकनका लागि उत्तिकै शानदार छन् ।
के-के छ चिचिला गाउँपालिकामा ?
दिदिङ्गको पाटोमा नागदह, कागुवा खोला, मत्श्य ढुङ्गो, मधाने भिर, हाँडीखोपदेखि झ्याउँपोखरीसम्मको जैविक विविधता युक्त मनमोहक सुन्दर प्राकृतिक पृथकता रहेको छ । नागदह कागुवा साँस्कृतिक संरक्षणको गुरुयोजना निर्माण भइसकेको छ। तर काम थाल्न बाँकि छ । मधानीको पोराजस्तो पाटैपाटा भएको मधाने भिर अनौठो छ। बिब्ल्याँटे अर्थात सोक्पा डुल्ने हाँडीखोपदेखि झ्याँपोखरीसम्म भालु, दुम्सी, मृग, रातोपाण्डा, चितुवा, सालक, स्याल, फ्याउरा, हाप्सिलो लगायत अनेक प्रजातिका जनावरहरु, चाँप, बज्राँठ, अर्खौलो, मुसुरे लगायत २५० प्रजातिका वनस्पति छन्। बिचमा जौबारीको मैदान छ ।
यसलाई वनविज्ञान अध्ययन प्रविधिक विद्यालय र वन्यजन्तु संरक्षण क्षेत्र, चिडिया खाना र बोटानिकल गार्डेनर्को रुपमा विकास गर्न सकिन्छ । दिदिङ्ग डाँडा गाउँ र आहालेमा बाल उद्यान बनाउन सकिन्छ। दिदिङ्गमा लाग्ने अँधेरी बजारलाई साँस्कृतिक केन्द्रको रुपमा बिकास गर्न सकिन्छ ।
मत्श्यपोखरी पटिको पाटोमा बाँस्थलामा राम्रो चउर छ। देविटारमा ओखाडा डाँडा छ । धजेडाँडा, घुरबिसे, अर्खौले, थुम्की, देउराली डाँडा, भाटभटेनी भन्ज्याङ्ग, खर्कुण्डे दह, कप्दानेपोखरी, करङसिङ छाँगा, मत्श्यपोखरी यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।
दुर्लभ अन्न पानीमकै, नेपालमामात्र पाइने लप्सी, ओखर, पाङ्ग्रा, बल्ढ्याङ्ग्रा, जम्मू, मल्लिडो, इन्द्रेनी, काफल, घोडाघोडी, अम्फी, बान्द्रे, ताडिका, भिरगौँडी, जुनेलो, बेथु जस्ता अनौठा फलहरु पाइन्छन् । दश प्रजातिका बाँस, सात प्रजातिका केरा, सुन्तला, नस्पाति, कटहर, सिमलतरुल जस्ता फल र कन्दमूल पाइन्छ ।
मत्स्यपोखरी ओरिपरि गुरुङ जातिको बाहुल्यतार रहेको छ।अधिकांश लेगइ गुरुङ, घ्याब्रे गुरुङ, कोके, धिमल, पेलेथरका गुरुङको बसोबास छ । घ्याब्रे गुरुङहरुको किरिया कर्ममा लामाले एकपाटे ढ्याङ्ग्रो ठोक्ने र खरानी बुकाउने अनौठो सँस्कृति रहेको छ । पोखरी वरिपरि गुरुङहरुको ७१ घर छन् ।
एक घर दर्जी, एक घर विश्कर्मा र एक घर निरौला ब्रम्हण समेत बसोबास गरेको पाईन्छ । यस क्षेत्रमा दुईचार किराना पसलहरु छन् । लेगइ गुरुङहरु यहाँका जिम्मावाल थिए । लृगइ गुरुङहरुको पुर्खा चन्द्रबहादुर लेगइ सर्बप्रथम दैवी शक्ति प्राप्त पुजारी थिए । उनले नै सर्बप्रथम मछैपोखीका देवी देवताहरु पत लगाएका र स्थापित गरेका हुन् ।
उनी ९४ बर्षअधि स्वगैबासी भएपछि अरु कुनै पूजारीहरु उत्पत्ति भएका छैनन् । उनका अनुसार देवदूतका रुपमा यहाँ माछाहरु आएका हुन्। आजसम्म यही मान्यता रहेको छ । उनका अनुसार तीर्थयात्री एवम् पर्यटकहरुले यहाँको पोखरीमा सेतो माछा देखे शुभ हुन्छ भनने मान्यता पनि छ । पहिले पूरै सेतो रङको माछा देख्न पाइनथ्यो तर अझै पनि सेतो शरीर, सेतो पुच्छर, सेतो जीउ आँशिक सेतो भएको देख्न पाइन्छ ।
कस्तो छ मत्स्यपोखरी ?
पोखरीको पानीले लगभग ६ रोपनी क्षेत्रफल ढाकेको छ । वल्ला छेउमा ३० मिटर चौडाइ छ। पल्ला छेउमा १० मिटर छ । ३० मिटर चौडाइ भएको भागको लम्बाई ३० मिटर र क्रमशः घट्दै गएको लम्बाइ ५० मिटर गरी ८० मिटर लम्बाइ छ । गहिराइ चाहिँ वल्ला छेउमा साढे चार फिट बिचमा ७ देखि दश फिट र पल्ला छेउतिर पौडिन नसक्ने मान्छे जान नसक्न अकड छ । जलाशय बाहेकको भाग बोजोले ढाकेको थियो ।
विस २०४४ साल कुसे औसीका दिनदेखि यो पोखरीमा सफाइ अभियान शुरु गरिएको रहेछ । पानी नीलो, कञ्चन र शीतल छ । सफा यति छ कि माछाहरु नाचेको बाहिरबाट छर्लङ्ग देखिन्छ । सभाखोलामा पाइने असला माछाको बीउ यहीबाट उत्पत्ति भएको भनिन्छ ।
राता, पहेँला, छिरबिरे र कल्सौदा हल्का कालो रङका माछाहरु पाइन्छ । भुरा देखि निकै ठूला माछा पनि छन् । वजनबाट भन्दा डेढ किलो सम्मका माछा पनि देखिन्छन् । सबै आकारमा माछा छन् । हजारभन्दा बढी नै सङ्ख्यामा होलान् । भुजा चामल आदि लगेर पोखरीमा हालेपछि सारा माछाहरु बिटो परेर आउँछन् । डल्फिनजस्तो पानीको सतहमाथि पनि पो नाच्दै चारो लिन्छन् । माछाहरु भाग्दैनन् । मार्न पनि पाइन्न । मा¥यो भने असिना, पानी, बाढी, पहिरो, महामारी हुने जनविश्वास रहेको छ।
विस २०४७ सालको चुनावमा एउटा स्थापित राजनीतिक दलका कार्यकर्ताले माछा मारेर सुकाएको आधाघण्टामा असिना पानी परेर मकै सोत्तर पारेको र यहीघटनालाई गीत बनाएर प्रचार प्रसार गरी उक्त दललाई अर्को दलले चुनाव हराएको त यो पङ्तिकारले प्रत्यक्ष देखेको हो ।
यसै गरी विस २०६२ तिर एकजना क्रान्तिकारी भौतिकबादी जनयोद्धाले माछा मारेरे हिँड्पछि आधाघण्टामा नै झोलामा बोकको ग्रिनेड अचानक पड्केर सुनार गाउँमा मृत्युभएको घटना अझै कसैले भुलेको छैन । पोखरीको निकास झण्डै ३०० मीटर झरेपछि सिँहदेवी देवीथान आउने देवीथानमुनि चाहिँ माछा मार्न पाइन्छ ।
यहाँका माछा मछेखोला, ओरङखोला, लङखुवा खोला, हुँदै सभाखोला पुग्छन् । अरुण, सप्तकोशी, गङ्गा नदी हुदैँ समुद्र पुग्दा हुन् र समुद्रबाट पनि खेल्दै यहा आउँदा हुन् । यो चक्र चल्दैन भन्न सकिन्न । सबै माछा असला प्रजातिका माछा हुन् । करिब ४०० जति माछा पोखरीभित्र खेल्छन्। हुरुरुको कप्दाने पोखरीबाट भूमिगत मार्ग हुँदै मत्श्यपोखरीमा आएको निकासले मत्श्यपोखरी बनेको हो भनिन्छ ।
के मागेको छ मत्स्यपोखरीले ?
दुनियाँमा माछा र पानी नभएका ठाउँमा मछेन्द्रनाथको मन्दिर छ । मछेन्द्रनाथको रथयात्रा गराइन्छ । प्राकृतिक माछा भएको मछेपोखरीमा भगवानको प्रथम अवतार मत्श्यावतार रहेको छ । यहाँ मछेन्द्रनाथको मन्दिर र मछेन्द्रनाथको रथयात्रा गराउने हो भने धनकुटा, भोजपुर र तेह्रथुमदेखिका आन्तरिक पर्यटक यात्रीहरुको ओइरो लाग्न सक्छ ।
प्रचार प्रसार गर्न सके चलचित्र निर्माताहरु पितृ स्वर्ग पुगेको दृश्य छयाङ्कन गर्न यहाँ आउँछन् । दुनियाँका मैहुँ भन्ने राष्ट्रका नागरिकहरुको लाम थामिनसक्नु हुन्छ। चिचिलाको मात्र होइन, नेपालकै एउटा पर्यटन गन्तब्यको रुपमा बिकशित भई यो ठाउँ साँग्रिला बन्छ । स्थानीय स्तरमा रोजगारी र ब्यापार बृद्धि भई राष्ट्रिय आय बढ्दछ ।
मत्श्यपोखरी नेपालको पर्यटन मन्त्रालयको राष्ट्रिय गौरवको आयोजना भित्र पर्नु आवश्यक छ । साँस्कृति र धार्मिक महत्वका हिसाबले पनि यसको महत्व छ । मानिसहरु यहाँ बर्षेनी जनै पूर्णिमामा जनै धारण गर्न आउँछन् । कातिक, मंसिर महिनामा पर्ने तिहार पर्वपछिको पूर्णिमाका रात यहाँ परम्परागत मेला लाग्छ ।
मछेबजार भनेर सयौँबर्ष अघिदेखि लाग्न शुरु भएको यो मेला शेर्पाको स्यप्रु, तामाङको सेलो, लिम्बुको धाननाच, आर्यनको भजनकीर्तन, याम्फूको च्याब्रुम्, मारुनी जस्ता साँस्कृति नाचको मौलिक र जीवन्त प्रस्तुतिको रंगमञ्च पनि हो । मत्श्यपोखरी बौद्ध, किरात र हिन्दू धर्माबलम्बीहरुको समान आस्था, विश्वास र सम्मानको धरोहर हो भने मछे मेला बहुल जातीय सँस्कृतिको गौरवमय विरासत हो ।
दुर्लभ र लोपोन्मुख पानीमकै : जुम्ली मार्सी धानभन्दा कम छैन । अचम्म यही पोखरीको वरिपरिका पखेरा बारीहरुमा संसारमा अन्त काहीँ नपाइने पानी मकै फल्छ। पानीमकै जेठ महिनामा छरेर जरामा धान खेतीमा जस्तै पानी लगाइन्छ । धानमा जस्तो जमाउने र गहूँमा जस्तो पटाउने, फूलमा जस्तो माथिबाट छर्किने होइन ।पानीमकै त छड्के, करालो, ओरालो पाखा, सुर्के गरामा छरिन्छ र खोलाबाट दर्जनौकुलो लगेर जरामा छाँगाले ठोक्किने गरी बगाइन्छ।
भ्याए एकपल्ट गोडिदियो नभ्याए पनि छरेपछि भाँच्न जाँदा मुठ्ठीमा घोगा आउँछ । गोडेको र नगोडेकोमा अलि फरक पर्छ। गोडेपछि केही समय पानी लगाइन्न । बेलाबेलामा कुलो मारिन्छ । मकैका दाना लागेर रस पसिसक्यो अब १० आठ दिन पछि भाँच्ने हो भन्दा पानी मारिन्छ । झार हानेर जमरा आएपछि पानी मारिन्छ जरा बलियो हुन्छ अनि पानी लगाउन थालिन्छ । दुइ चोटी गोडेको पानीमकै राम्रो फल्छ । रोपेको छ महिनातिर असोज, कार्तिकमा थन्क्याइन्छ ।
ठुला र मसिना गेडाहरु हुने पानी मकैको रंग सेतो रातो र खोया अलि पातलो, खोसेल्टा हल्का र नरम, जुँगा छोटा, बोट अग्लो, साना र जराहरु भने तीन तहसम्म उम्रिएर जमिन समातेको पाइन्छ ।पानीमकै चपाउदा कमलो, रसिलो, पोषिलो, स्वादिलो हुन्छ । भुट्दा भररर सेताम्या फूल उठ्नु यसको बिशेषता हो ।
रातो मकै खाँदा औषधि हुन्छ । पोल्दा अरुभन्दा छिटै पाक्नु, चामल बनाएर भात खाँदा पनि मार्सीको भातजस्तो स्वादिलो हुनु यसको बिशेषेता हो। पानीमकै फल्ने ठाउँहरुमा अलैँची सप्रिने भएकाले अलैँची पानी मकैको सौता बनेको कारण पानीमकै लोप हुने खतरा हुन्छ। चिचिला गाउँपालिकाले पानीमकै संरक्षण समिति बनाएर, पानीमकै उत्पादन क्षेत्र बनाएर, बीउ संरक्षण कार्यक्रम राखेर यही मत्श्यपोखरी वरिपरिका एक डेढसय रोपनी जमिनमा मात्र खेती हुन्छ ।
प्रचारप्रसार, बजार र कृषकहरुमा ज्ञानको अभावमा संसारमा नपाइने सङखुवासभाको मकालु र चिचिला क्षेत्रमा मात्र पाइने पानीमकै अब मकालुबाट पनि बिस्थापित हने अबस्थामा पुगेको छ । पानीमकै चिचिला १ बाट पुरै बिस्थापित भएर अब चिचिला ४ मत्श्यपोखरी, धजे र जलजला क्षेत्रमा मात्र सिमित हुन पुगेको छ।