बर्षैर दिन चाडबाड अाउँदा
मन मेरो अमिलो.
परदेशैबाट सम्झदा गाँउ घर
मन त्यसै धमिलो…!
पोत्दै छन् होला कमेरो माटो
चिप्लेटी पाखैको.
बज्ने छन् होला मादल ट्याम्के
सिँगारु भाकैको…!
राखेकि होलिन अामाले कठै !
जमरा कुनामा.
पृयाले हेर्लिन परदेशी सम्झि
अाकाशको जूनमा…!
जमरा उठ्लान जुरमुराउदै
पहेलै भयर.
छोराले हेर्ला अायोकि बाबा
मुलबाटो गएर…!
साथीले ले सोध्लान घरमा गइ
लाहुरे अायो कि.
बाबाले भन्लान् बाटोमा अाउँदा
कहि दु:ख पायो कि…!
फुलेकै होलान ति लंका फुल
रातो भइ बाटोमा.
मुलखेतको पानी खन्याउने होलिन
जमरा माटोमा…!
हजारी पनि अातुर छन् होला
तिहारमा फुल्नलाइ.
गाह्रो भो बरै परदेशी यो मन
त्यो माया भुल्नलाइ…!
– तपिकुमार सिँह ठकुरी सिम्ता-४(पिल्क) सुर्खेत।