News Portal

  • एक युवा जो नेपाललाई ‘सडक मानव विहीन बनाउन चाहन्छन्

    हिमाली संचार संवाददाता
    ३३२ पटक

    काठमाडौं-  तपाईंले सडकमा मानसिक सन्तुलन गुमाएका मान्छेहरू, वृद्ध भएर वा अपाङ्ग भएर अथवा कुनै रोगको उपचार गर्न नसकेर सडकमै माग्ने र सडकमै खाने, बस्ने अलपत्र अवस्थामा मानिसहरू पक्कै देख्नुभएको होला । सडकमा यसरी अलपत्र अवस्थामा रहेका तिनै असाहय, अशक्त, अपाङ्ग व्यक्तिहरूको उद्धार गरी उपचार र पालनपोषण गर्न २०६९ सालमा हेटौंडामा मानवसेवा आश्रम सुरु भएको थियो । ६ वर्षको अवधिमा परोपकारी संस्था मानवसेवा आश्रम अहिले १० जिल्लामा फैलिएको छ । सडकमा अलपत्र परेका असाहय व्यक्तिहरूको उद्धार गरी आश्रममा संरक्षण गर्ने तथा परिवार भएमा पारिवारिक पुनर्मिलन गराउने काम गर्दै आएको परोपकारी संस्था मानवसेवा आश्रमले अहिले ५ सय हाराहारी अलपत्र अवस्थामा भेटिएका बालबालिकादेखि वृद्धवृद्धासम्मको संरक्षण गरेर राखेको छ । विदेशी सहयोग नलिने आफ्नो आदर्श बनाएको यो संस्थासँग अहिले पूर्णकालीन समय काम गर्ने ५० जना युवाहरू रहेका छन् । हालै यो संस्थालाई साल्ट ट्रेडिङ कर्पोरेसनले ७५ हजार रुपियाँको पुरस्कारबाट सम्मानसमेत गरेको छ । २०८२ सालभित्र नेपाललाई सडक–मानव मुक्त बनाउने अभियान लिएर अघि बढेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अघिकारीसँग हाम्रा संवाददाता शम्भु दङ्गालले यो संस्थाले कसरी समाजसेवा गरिरहेको छ भन्ने सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।

    मानव सेवा आश्रम कस्तो संस्था हो ? यसले कस्तो काम गर्छ ?
    विशेषगरी मानव सेवा आश्रमले सडकपेटीमा एवम् सार्वजनिक स्थलमा रहेका अत्यन्तै कष्टकर जीवनयापन गर्ने सबै उमेर समूहका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गर्छ ।  त्यस्ता व्यक्तिलाई हामी ४ अबाट हेर्छौं– अनाथ, अपाङ्ग, अशक्त र असहाय । उनीहरू मनोरोगी भएर सडकमा कष्टका साथ बसिरहेका हुन्छन् । त्यस्ता व्यक्तिलाई उद्धार गरेर आश्रममा ल्याएर औषधि उपचार गर्ने, परिवार खोजेर सकेसम्म पारिवारिक पुनर्मिलन गराउने, परिवार भेटिएन भने आश्रममै लौरीजस्तै साहारा बनेर उहाँहरको विशुद्ध सेवा गर्ने परोपकारी संस्था हो– मानव सेवा आश्रम ।

    स्थापना गरेको छ वर्ष भएको रहेछ, सुरुमा तपाईंहरूले कसरी स्थापना गर्नुभयो ?
    मानव सेवा आश्रमको मातृसंस्था सर्वोत्कृष्ट जीवन, सास्वत चिन्तनको माध्यमबाट विभिन्न सकारात्मक सोच, सिर्जनशीलता, मानवीयता, सामाजिक भावनासहितको असल व्यक्ति निर्माण गर्ने कार्यक्रमहरू, विचार शुद्धीकरण गर्ने कार्यक्रमहरू सञ्चालन गर्छौं र अहिले पनि ती कार्यक्रम गरिरहेका छौँ । धेरै आमाबुबाहरू सडक पेटीमा भेटिनुहुन्थ्यो । वृद्ध आमाबाहरूलाई वृद्धाश्रममा लगेर राख्ने प्रयास गथ्र्यौं, बालबालिका भेटिनुहुन्थ्यो, बालगृहहरूमा लगेर राख्ने प्रयास गथ्र्यौं, मनोरोगी भएका, बेवारिसे भएका, परिचय नखुलेको भन्नेवित्तिकै ती मानिसलाई वृद्धाश्रम र बालगृहले राख्न नमान्ने भइसकेपछि त्यस्ता व्यक्तिले पनि त बाँच्न पाउनुपर्छ, उनीहरूको पनि त मानव अधिकार छ, उनीहरूले पनि त संरक्षण पाउनुपर्छ भन्ने सोचका साथ हामीले २०६९ साल भाद्र १३ गते औपचारिक रूपमा मकवानपुरको हेटौंडामा स्थापना ग¥र्यौं ।

    सुरुमा कति अनाथ असाहयलाई लिनुभयो ?
    सुरुमा हामीले एकै दिन ५ जना आमाबाबालाई सडकपेटीबाट उद्धार गरेर आश्रम सञ्चालन गरेका थियौँ । आजको मितिमा १० वटा जिल्लामा मानव सेवा आश्रम छ । मुख्य कार्यालय मकवानपुर हेटौँडा भयो, अरू  चितवन, काठमाडौं, ललितपुर, गोरखा छ । काठमाडौंमा २ वटा शाखा छन् भने गोरखामा भने बालशाखा रहेको छ । त्यहाँ विभिन्न ठाउँमा सडकमा भेटिएका बालबालिका राख्ने गरेका छौँ । त्यहाँ अहिले ५२ जना बाबुनानीहरू रहेका छन् । यस्तै लम्जुङ, बाग्लुङ, पर्साको वीरगञ्ज, कास्कीको पोखरा र रूपन्देहीको बुटवल गरी १० जिल्लामा मानव सेवा आश्रम रहेको छ । अहिले विभिन्न उमेर समूहका ५ सय जना अनाथ अशक्त बुबाआमा नानीबाबुको सेवा गर्ने अवसर पाइरहेका छौँ । मानव सेवा विशुद्ध परोपकारी अभियान हो, हामी कुनै पनि विदेश दातृनिकायको रकम लिँदैनौँ । नितान्त देश विदेशमा रहनुभएका नेपालीहरूकै परोपकारी मनहरूको मुठ्ठी मुठ्ठी सहयोगले मानव सेवा आश्रम सञ्चालन भइरहेको छ ।

    संस्था चलाउन लागि कसरी आर्थिक व्यवस्थापन गर्नुहुन्छ ?
    कुनै पनि दातृनिकायको सर्तसहितको रकम नस्वीकार्ने यो हाम्रो एउटा आदर्श हो । यो ५ वर्षको बीचमा हामीले मुठ्ठी मुठ्ठीबाट मानव सेवा आश्रम सुरु गरेका छौँ । हाम्रो सञ्चालनको आधार भनेको हामीले अभियान चलाएका छौँ सबैका लागि खाना, सबैका लागि नाना भनेर । कसैले आफ्नो जन्मदिनमा आएर एक छाक खाना खुवाउनुहुन्छ, कसैले एक दिनभरीको जिम्मेवारी लिइदिनुहुन्छ । मासिक रूपमा सहयोग गर्ने परोपकारी मन पनि हुनुहुन्छ । गोरखामा एकजना व्यक्ति हुनुहुन्छ, शितलकाजी मास्के जो हाम्रो मानव सेवा आश्रमको अभिभावक पनि हुुनुहुन्छ । उहाँको आफ्नो दुईवटा पेट्रोल पम्प छ, दुईवटा पम्पका ५ प्रतिशत सेयर सदस्य मानव सेवा आश्रमलाई बनाउनुभएको छ । कसैले १ हजार रुपियाँ, कसैले ५ सय रुपियाँ, कसैले आफ्नो कमाइको १० प्रतिशत यसरी हुने सहयोगबाट मानव सेवा आश्रम चलिरहेको छ ।

    तपाईंहरूले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने अभियान सुरु गर्नुभएको रहेछ, यो कसरी सम्भव बनाउनुहुन्छ ?
    यो सम्भव भइ नै सकेको छ । गोरखालाई त हामीले औपचारिक रूपमै घोषणा गरिसक्यौं, गोरखा नगरपालिका र मानव सेवा आश्रमको संयुक्त प्रयासमा गोरखा नगरपालिकामा सडकमा रहेका सहयोगापेक्षित मानवहरूको व्यवस्थापन गरिसकेका छौँ । यस्तै काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई बेगरलेस जोन बनाउने भनेको प्रस्तावलाई पशुपति क्षेत्र विकासलाई अभिभावक बनाएर हामीले सहकार्य गरेर हामीले लगभग पशुपति मन्दिर परिसरभित्र चाहिँ लगभग कोही पनि नभएको अवस्था छ । बाहिरको अवस्था चाहिँ हामी भन्न सक्दैनौँ । कोही आइहाले पनि हामी उद्धार गरेर आश्रममा ल्याइहाल्छौँ । अहिले पशुपति पनि बेगरलेस बनेको छ । हामीले एकै दिन ८१ जनालाई उद्धार गरेर हेटौँडा, चितवन र काठमाडौंमा व्यवस्थापन ग¥यौँ ।

    अहिले चितवनका सडकपेटीमा पनि लगभग कोही पनि मानिस छैनन् । हेटौंडामा पनि यो अवस्था बनिसकेको छ । यस्तै लमजुङ, बाग्लुङमा पनि त्यो अवस्था निर्माण भइसकेको छ । पोखरा त्यो अवस्थामा अघि बढिराखेको छ । यतिखेर हामीलाई सबैभन्दा ठूलो चुनौती भनेको काठमाडौँ हो । त्यसका लागि पनि अहिले हामी काठमाडौं महानगरपालिका लगायतका आसपासका नगरपालिकासँग चिन्तन मनन गरिरहेका छौँ । हामी यो योजनामा अघि बढिरहेका छौँ ।

    सरकारले गर्नुपर्ने काम तपाईंहरूले गरिरहनुभएको रहेछ । कतिको गाह्रो चुनौती छ यस्तो काम गर्न ?
    पक्कै पनि सडकमा आउने मानव अधिकांश मनोरोगी हुन् । कतिपय मानवहरू अन्तिम अवस्थामा हातगोडा कुहिएर, कान कुहिएर, अनुहारसमेत हेर्न नसकिने मानवहरू सडकमा भेटिनुहुन्छ । अहिले पनि हामीसम्म ६० प्रतिशतभन्दा बढी मनोरोगी बुबाआमा दाइदिदीहरू हुनुहुन्छ । घरमा एकजना मनोरोगीलाई हेरचाह गर्न कति गाह्रो हुन्छ, अपाङ्ग, अशक्तलाई हेरचाह गर्न कति गाह्रो हुन्छ, स्वभाविक रूपले अहिले हामीसँग ५ सय जना हुनुहुन्छ । सम्पूर्ण अप्ठ्याहरूमा पनि यो कामलाई हामीले प्रेमले स्वीकारेको हुनाले सबै कुराहरू हामीलाई सजिलो महसुस हुन्छ ।

    सरकारी निकायहरूबाट कस्तो सहयोग पाउनुभएको छ ?
    सुरुवातका दिनमा हामीले गरेको सेवालाई देखिसकेपछि हेटौँडा उपमहानगरपालिकाले घरभाडासम्म तिरिदिने सङ्कल्प ग¥यो । अहिले हाम्रो १० वटै जिल्लाका आश्रमहरू घर भाडामा लिएर सञ्चालनमा छन् । सबैले त छैन फेरि अहिले हेटौँडा, काठमाडौँ, गोरखा, ललितपुर लगायतका चार पाँचवटा नगरपालिकाले घरभाडासम्मको सहयोग गर्नुभएको छ । अरू भनेको मुठ्ठी मुठ्ठीको सहयोगबाट सञ्चालित छ । यस्तै; हामीले केन्द्रीय सरकारबाट मुठ्ठी मुठ्ठी थोरै सहयोग पाएका छौँ । यो काम भनेको त सरकारले गर्ने काम हो तर हामी केही युवाहरू र एउटा संस्था यसमा लागेको छ । जति सहयोग हुने हो त्यो त छैन, नभएकै भन्ने चाहिँ छैन । अहिले हामीले विशेषगरी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई हामी तपाईंहरूले गर्नुपर्ने काम गरिरहेका छौँ । हामी त एउटा सहयोगी मात्रै बन्न चाहन्छौँ, यसको नेतृत्व त सरकारले गर्नुपर्छ भनेर प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई भनेका छौँ । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्रीलगायत सबैलाई अनुरोध गरेका छौँ । प्रधानमन्त्रीलाई पनि भेट्न समय मागिरहेका छौँ । अबको सात आठ वर्षभित्र २०८२ सालसम्म नेपालका सडकपेटीमा १ छाक खान नपाएर, एक सरो कपडा लाउन नपाएर, बेवारिसे भएर अनाथ भएर कोही पनि बस्न नपर्ने देश घोषणा गर्ने, हाम्रो देशलाई एउटा मानवताको देश भनेर चिनाउने, आज हामी भगवान बुद्धको देश, सीता माता भृकुटी टुकुटुकु हिँडेको देश, वीर गोरखाको सन्तानको देश भनेर चिनिँदै आएका छौँ । अब हामीले गरेको कर्मले पनि त हाम्रो देश एक तह माथि उचाइमा उठ्नुप¥यो भनेर मलगायत हामी ५० जनाभन्दी बढी युवाहरू पूर्णकालीन अभियन्ता भएर लागेका छौँ, जो मानवसेवा आश्रममा २४ घण्टा खट्नुहुन्छ । मानव सेवा आश्रमको सुन्दरता भनेको यो मानवीय सेवामा युवाहरू बढी सक्रिय हुनुहुन्छ र केही अभिभावकहरू पछाडि बसेर हामीले मार्गनिर्देशन गर्ने काममा हुनुहुन्छ ।

    सडकपेटीमा रहेका असाहाय, अशक्तहरूलाई आश्रममा लगेपछि कस्तो सेवा दिनुहुन्छ ?
    विशेषगरी हामीले सडकपेटीबाट उठाएर लगेपछि कतिजना मानसिक विछिप्त अवस्थामा हुनुहुन्छ, कोही भावनात्मक रूपमा कमजोर हुनुहुन्छ, कोही शारीरिक रूपमा कमजोर हुनुहुन्छ, त्यस्ता व्यक्तिलाई सबैभन्दा पहिला त उपचारात्मक सेवा नै हो । जो भावनात्क रूपमा कमजोर हुनुहुन्छ, उहाँहरूलाई माया नै दिने हो । मान्छे खानाको भोको भन्दा पनि प्रेमको भोको हुन्छ । हामी सबैभन्दा पहिला प्रेमको क्याप्सुल खुवाउँछौं उहाँहरूलाई । त्यसपछि उहाँहरूको अवस्था हेरेर मानसिक रूपमा कमजोर रहेकाहरूलाई सोही अनुसारको चिकित्सकीय परामर्श लिन्छौँ, शारीरिक अवस्था कमजोर छ भने अस्पताल लिएर जान्छौँ, उपचार गछौँ । उहाँहरू शारीरिक रूपमा ठीक हुँदै गएपछि परिवार खोजी गर्छौं, परिवार भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गराउँछौँ । आजको मितिसम्म ४ सयजनाको पारिवारिक पुनर्मिलन भइसकेको छ । ३ सय जना आमाबुबाले हाम्रै काखमा जीवन छोड्नुभएको छ । आजको मितिमा हामीसँग ५ सय जना आमाबुबा हुनुहुन्छ ।

    मान्छे किन सडकमा आइपुग्दो रैछ, ६ वर्षको काम गराइका क्रममा तपाईंहरूले यसको कारण के पाउनुभयो ?
    सडकमा आउनुको तीन चारवटा कारण देखिन्छ । पहिलो कारण त हाम्रो देशको चरम गरिबी पनि हो । दोस्रो, आज मानिसहरूले आफ्नो कर्तव्य बिर्संदै गएका छन् । हामी भौतिकवादी हुँदैछौँ । भौतिक रूपमा देश विकसित हुँदै गए पनि नैतिक रूपमा, चारित्रिक रूपमा स्खलन देखिन्छ । आफ्नै परिवारप्रतिको दायित्वबोध बिर्सिंदा आज हाम्रो आश्रममा सरकारी उच्च ओहोदामा बसेका आमाबाबा र परिवारका अन्य सदस्य पनि हुनुहुन्छ । केही मानिसहरू आर्थिक रूपमा अत्यन्तै सम्पन्न छन् तर तिनमा आमाबुबा सडकमा आएर हामीले आश्रममा ल्याएका सेवा गरेका छौँ । आफ्नो कर्तव्य बिर्सनु, चरित्रमा आएको स्खलनका कारण पनि उनीहरूका परिवारका सदस्य सडकमा आइपुगेका छन् । अर्को कुरा अभावले भन्दा पनि मान्छे आफ्नै स्वभावले दुःखी हुन्छ भनिन्छ । घरमा केही कुरा मिल्दैन, तेरो घरमा तैँ बस भन्ने व्यवहारबाट बाहिर निस्कने, बाहिर सडकको जीवन त त्यति सजिलो हुँदैन । फोहोरी हुन्छ, मागेर खान थाल्नुपर्छ । मागेर खान थालेपछि कपाल जगल्टा हुन्छ । सबैले तँ पागल फोहोरी भन्दा भन्दा उसले आफूलाई पागलका रूपमा स्वीर्काछ । त्यसरी पनि मान्छे सडकपेटीमा आइपुगेको हुन्छ ।

    तपाईंहरूको यस्तो कामलाई समाजले कसरी लिइरहेको छ ?
    हामी अत्यन्तै उत्साहित रहेका छौँ । हामी युवाहरू देशलाई सडक–मानव मुक्त बनाउँछौँ भनेर लागेका छौँ । मनोरोगी आमाबुबालाई आश्रममा ल्याएर परिवारले गर्न नसकेको काम आश्रममा ल्याएर कसरी गरिरहेका छौँ भन्ने जमात पनि हुनुहुन्छ । हामी सकारात्मक सोचको विद्यार्थी भएका कारणले आफ्नो कर्ममा निरन्तर लागिरहेका छौँ । सुरुवातका दिनहरूमा निकै गाह्रो भयो, मुठ्ठी उठाएर सहयोग सङ्कलन गरेर काम ग¥र्यौं, सशर्त विदेशी अनुदान नलिने नीति बनाएर काम ग¥र्यौं । अहिले पनि हाम्रो आश्रममा घुम्न आउनेको पहिलो प्रश्न हुन्छ, तिमीहरूको फन्डिङ कसरी हुन्छ ? हाम्रा देशमा यस्ता सङ्घ संस्थाहरू सञ्चालन गर्न विदेशी सङ्घसंस्था नै चाहिन्छ भन्ने मानसिकता छ, यसलाई चिर्नुपर्छ । आज हाम्रो देशको नारा रहेको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । जब हामी नेपालीहरू आफै स्वावलम्बी हुँदैनौँ तबसम्म समृद्ध नेपाल सम्भव हुँदैन जस्तो लाग्छ  मलाई । हामीले पनि यी सडकमा आइपुगेका यी आमाबुबा भाइबहिनी भनेका हाम्रो पनि परिवार हो नि । के आफ्नै बाबुआमा पाल्न पनि विदेशकै डलरको मुख ताकेर बस्नुपर्छ त ? पर्दैन भनेर सुरुवात ग¥यौँ । सुरुवातका दिन एकदमै चुनौतीपूर्ण रह्यो । हामी युवा अभियन्ताहरू मुठ्ठी उठाउन टोल टोलमा जान्थ्यौँ । कति जनाले त कुकुर फुकाएर छोडिदिन्थे । कतिजनाले माथिबाट पानी फ्याँकिदिन्थे । अपशब्द बोल्थे, हामीलाई पागल भन्थे तर अहिले आएर हाम्रो कामलाई हाम्रो समाजले महशुस गर्न थालेको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेसनले जुन सम्मान गरेको छ, त्यसले एउटा उत्साह बढाएको छ । केही समयअघि नेपाल सरकारबाट प्रवल जनसेवाश्री पदकबाट मानवसेवा आश्रमलाई सेवा गर्नुभयो, त्यसले पनि उत्साह बढाएको छ । केही वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले युवा पुरस्कार दिएर सम्मान गरेको थियो । अहिले सबै समाजबाट साथ सहयोग प्रेम पाइरहेको महशुस भइरहेको छ ।

    तपाईंहरूले कुन–कुन जिल्लामा तत्काल यस्ता आश्रमहरू सञ्चालनमा ल्याउँदै हुुनुहुन्छ ?
    मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडा रह्यो, शाखा कार्यालय चितवन । अहिले २ सय जनतालाई सेवा दिन सकिने ५ करोडको लागतमा मानव सेवा आश्रमको आफ्नै भवन बन्दैछ, जसलाई हामीले मानवीय स्मारक भनेका छौँ । काठमाडौंमा सामाखुसी र बूढानीलकण्ठमा २ वटा आश्रम रहेको छन् । यस्तै; ललितपुरको हात्तीबनमा आश्रम रहेको छ  । यस्तै गोरखा, लमजुङ, बाग्लुङ, वीरगञ्ज, पोखरा र बुटवलमा आश्रम छ ।

    यतिखेर हाम्रो पाइपलाइनमा प्रदेश नम्बर ७ को धनगढीमा आश्रमको सेवा विस्तार गर्ने क्रममा रहेका छौँ । यस्तै प्रदेश नम्बर १ को विराटनगर वा इटहरीमा सम्भाव्यता अध्ययन गरिरहेका छौँ । प्रदेश नम्बर ६ को सम्भवत सुर्खेतमा अध्ययन गरिरहेका छौँ र प्रदेश नम्बर २ को जनकपुरमा पनि यसको सेवा बिस्तार गर्नुपर्छ भनेर अध्ययनका क्रममा छौँ । २०७८ सालसम्म ७ वटै प्रदेशमा मानव सेवा आश्रमको प्रदेशस्तरीय आश्रम स्थापना गर्छौं र २०८० वा ८२ सालको बीचमा सडक–मानवविहीन नेपाल घोषणा गर्ने गरी हाम्रा कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    शेयर गर्नुहोस तपाईंको आज बिहीवारको राशिफल

    वि.सं.२०७६ साल चैत २० गते | सन् २०२० अप्रिल ०२ तारीख बिहीवार मेष – चु,...

    कोरोना अपडेट : दूतावास कुवेतले गर्‍यो नेपाली समदायलाई यस्तो अनुरोध (बिज्ञप्ती सहित)

    कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक तथ्यांक सार्वजनिक गर्दै २८ जना नयाँ कोरोना संक्रमित मध्ये १...

    स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बजार दरभन्दा महँगो...

    कुवेतमा एक जना नेपाली कोरोना संक्रमित

    कुवेतमा १ जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कुवेतमा नेपाली नागरिकमा...

    एनआरएन मकाउले २ हजार थान एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने

      मकाउ । गैरआवासीय नेपाली संघ मकाउले उच्च गुणस्तरयुक्त एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।