News Portal

  • प्रदेशको नामकरण “किरात प्रदेश” नै किन? – राजेन्द्र किराती

    हिमालीसंचार संवाददाता
    ७६९ पटक

    अब प्रदेश नामकरण गर्न बाँकी एक नम्वर प्रदेश मात्रै रहेको छ । पछिल्लो समय प्रदेश नं. १ को नामकरणको विषयमा बाक्लो छलफल भइरहेको छ । तर, राजनैतिक दलहरु प्रदेश नामकरणका विषयमा एकमत छैनन् । प्रदेश सभामा रहेका मुख्य दलका सभासदहरु किरातको विरुद्धमा छन् । उनीहरुले कोशी र सप्तकोशी जस्ता भौगोलिक नामहरुमा आफ्ना मत जाहेर गरिरहेका छन् । अन्य दलहरु पहिचानलाई जोडेर वहुपहिचानको पक्षमा छन् ।

    नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु किरातको पक्षमा रहेका छन् । मुख्य दलहरुले यसलाई जातीयता भनेर संकुचित र भड्किलो अपव्याख्या गर्दै भौगोलिक नामाङ्कनको पुरानै जन्मजात एकतारे रटिरहेका छन् । वस्तुतः किरात सभ्यता हो, जातीयता पटक्कै होइन । भूगोलसँग पनि मानव समाजको साइनो त रहन्छ। तर, त्यो भन्दा जीवन्त सम्वन्ध सभ्यतासँग जोडिएको हुन्छ । त्यसैले भूगोल भन्दा सभ्यताको आधारमा नाम राख्नु उत्तम हुन्छ । यद्यपि प्रदेश सभामा विद्यमान दलीय अंकगणित र निरपेक्ष अडानको कारण नामाङ्कनको मुद्धा सजिलै टुंगिने देखिदैन ।

    सभ्यताको उत्पत्ति: वस्तुत मानव समाजले उत्पादनका लागि गरिने सबैखाले सम्वन्धको निरन्तर प्रक्रियाबाट नै सभ्यताको विकास भएको पाइन्छ । ढुंगे वा जङ्गली युगको अन्त्यसँगै पशुपालन र खेतीपातीको युग आरम्भ भयो । समाज विकासको यही लामो प्रक्रिया अन्तरगत मानव समाज एउटा विकसित, संगठित  र स्थायी संरचनामा रुपान्तरित हुँदै गयो । यही विन्दुवाट विश्वमा सभ्यता आरम्भ भएको देखिन्छ । 

    विश्वका विभिन्न स्थानमा मानव सभ्यता देखा परे। त्यस अन्तरगत मेसोपोटामिया, सिन्धु घाटी, नाइल नदी, ह्वाङ्हो नदी, ग्रीक, रोमन, एज्टेक, मायान, इन्कास आदि मुख्य सभ्यता हुन् । किरात यस्तै समकालीन सभ्यताकै एउटा अंग हो । यही प्राचीन सभ्यताकै विकसित, विस्तारित र परिवर्तित रुप नै आधुनिक विश्व मानव समाज हो। अनि पूर्वी र मध्य नेपालको पनि समाज हो । यसकारण सभ्यता मानव जगतको पहिलो एवं सर्वाधिक महत्वपूर्ण आधार हो ।

    सभ्यताको परिभाषा: यो ल्याटिन भाषाको ‘सिभिस’ शव्दवाट व्युत्पति भएको हो । यसको अर्थ नगरमा वस्ने नागरिकलाई जनाउँदछ । शताव्दीयौं लामो मानव विकासको ऐतिहासिक भौतिकवादी प्रक्रियाबाट हासिल गरिने बुद्धि, ज्ञान, सीप र अनुभव प्राप्तिको समग्रता नै सभ्यता हो । मूलतः सभ्यता भनेको मानव समाजको त्यस्तो विकसित अवस्था हो। जहाँ उच्चतम् रुपमा विकसित सरकार, विज्ञान, संस्कार, सँस्कृति, उद्योग, व्यवसाय, साझा मनोविज्ञान, साझा सामाजिक मूल्य र मान्यता अनिवार्य हुन्छ । 

    कतिपय अध्येताहरुले नगरहरुमा गरिने सम्पूर्ण क्रियाकलापको पूर्ण रुपलाई सभ्यता भनेर परिभाषित गरेका छन् । यस अतिरिक्त धर्म वा सामाजिक नियम, सामाजिक संरचना, लेखन, लिपि र कलाहरुको एउटा स्थापित मूल्यमा गरिने सामाजिक गतिविधिको सग्लो पद्यतिलाई नै सभ्यता भनिन्छ । अर्थात् राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक मानव जीवनयापनको तमाम् प्रक्रिया, शैली र सम्बन्ध नै सभ्यता हो ।

    सभ्यताको विशेषता: वास्तवमा सभ्यता बनीबनाउ चाहनाकै भरमा रातारात निर्माण हुँदैन । यसले उत्पादनका कष्टसाध्य लामो ऐतिहासिक प्रक्रिया गुजार्नै पर्दछ । यसको केही मूलभूत विशेषता हुन्छ । यसमा आफ्नै स्वामित्वमा रहेको भूगोल चाहिन्छ । जहाँ साझा रुपमा नै नागरिकहरु वसोवास गर्न सकुन् । यसैगरी एकिकृत मनोविज्ञान हुनुपर्दछ । साझा मनोविज्ञान, साझा भाषा, साझा धर्म र सँस्कृति जरुरी हुन्छ । 

    सभ्यता बन्न निश्चित भूगोल अन्तरगत स्थायी प्रकृतिको राजनीतिक तथा सामाजिक संरचना चाहिन्छ । कृषि, उद्योग, व्यापार वा जीवन निर्वाहको स्थापित वा पद्यतिगत अर्थराजनीतिक सम्वन्ध हुनुपर्दछ । स्थायी चरित्रको राजनैतिक राज्यका साथै सरकार र कर्मचारीतन्त्र जरुरी हुन्छ । श्रम र व्यापारको विशिष्टीकरण गरिएको हुन्छ । सामाजिक वर्ग, सार्वजनिक काम, कला र वास्तुकला अनिवार्य हुन्छ । यसमा आफ्नै सामाजिक संस्था, सँस्कृति र अर्थराजनीतिक सम्वन्ध सहितको खास समाज व्यवस्था विद्यमान हुन्छ। जसले एउटा विशेष ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ । 

    किरात सभ्यता: यसरी सभ्यता सम्वन्धित उपर्युक्त परिभाषा र विशेषतालाई नियाल्दा किरात आफैमा एउटा स्थापित प्राचीन सभ्यता हो । किरात सभ्यता मुन्दुमी दर्शनमा आधारित रहेको  मानिन्छ । मुन्दुम किरातीहरुको जीवनदर्शन वा विज्ञान हो । प्राचीन कालमा हिमालय क्षेत्रलाई किमपुरुष भनिन्थ्यो। जसको अर्थ किरात प्रदेश भनेर दावी गरिएको पाइन्छ । 

    त्यसवेला हिमालय क्षेत्रमा सिंहको टाउको र मान्छेको शरीर गरेको मानव प्रजाति भएको बताइन्छ । यही जाति नै किरात हो भन्ने मत पनि रहेको छ । यो भारतको वैदिक सभ्यताको समकालीन मानिदै आएको छ । साथै हवाङ्हो र सिन्धु उपत्यकाको सभ्यता विकास र विस्तार भएसँगै अस्तित्वमा आएको देखिन्छ । 

    यता यजुरवेदमा समेत किरातः शव्द उल्लेख गरिएको छ । महाभारत युद्धमा किराती राजा यलम्वरको सहभागिता रहेको पनि पौराणिक ग्रन्थहरुमा भेटिन्छ । यसरी उनीहरु झण्डै चार हजार वर्ष अघिदेखि नै हिमाली क्षेत्रमा वसोवास गर्दैआएको अनुमान गरिएको छ ।

    यद्यपि प्रकृतिपूजक किराती राजा यलम्वरले ईशापूर्व लगभग १५ सय वर्ष अघि नेपाल उपत्यकामा पहिलो किराती राज्य स्थापना गरेपछि मात्र यसले मूर्तरुप लिएको देखिन्छ । नेपालको ३२ जना किराती राजाहरुले झण्डै दुइ हजार वर्षसम्म शासन गरेको उल्लेख छ । तथापि यो समयावधिको विषयमा भने एकमत छैन । त्यसवेला पूर्वमा टिष्टादेखि पश्चिममा त्रिशुलीसम्म किरात राज्य रहेको दावी गरिन्छ । 

    किरातकालमा नै किरात सभ्यताको उच्चतम विकास र विस्तार भएको देखिन्छ । किनकि यसै अवधिमा निश्चित भूगोल, सरकार, नीति–नियम, भाषा, सामाजिक अनुशासनको नियम, सँस्कृति, परम्परा, रहनसहन, वास्तुकला, चित्रकला, कृषि, पशुपालन, उद्योग, व्यवसाय, व्यापार र साझा मनोविज्ञानको संस्थागत विकास भएको पाइन्छ । वास्तवमा सभ्यताको मूलभूत तत्व यिनै हुन् । किरात सभ्यताकै विकसित, विस्तारित, केन्द्रीकृत र रुपान्तरित सामाजिक रुप नै वर्तमान पूर्वी नेपालको सिंगो अर्थराजनीतिक पद्यति हो ।

    मार्क्सवादी दृष्टिकोणमा सभ्यता​: मार्क्‍सवादले पनि मानव इतिहासको शास्वत पक्षलाई आत्मसात गर्दछ । सभ्यताको विकास र विस्तारलाई स्वीकार गर्दछ । यो समाज विकासको निरन्तर ऐतिहासिक प्रक्रिया अन्तरगत विकास हुन्छ भन्ने मान्यता राख्दछ । तर, माक्र्सवादले सभ्यतालाई अमूक विकास र विस्तारमा मात्र सीमित गर्दैन । सभ्यताको शासक वर्गीय चरित्र र स्वार्थको वकालत गर्दछ । खास समाजको खास उत्पादन सम्वन्ध अन्तरगतको सम्पूर्ण सामाजिक क्रियाकलापहरुको आधारमा सभ्यताको जन्म हुन्छ भन्ने मान्यता राख्दछ । 

    निश्चित सामाजिक वर्ग, संरचना वा सत्ताको श्रृंखलाद्वारा अथवा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियावाट विकास हुने सार्वभौम प्रक्रियालाई आत्मसात गर्दछ । सभ्यताको न्यायिक र गैरन्यायिक अनि प्रगतिशील र गैर–प्रगतिशील वर्ग चरित्रवारे वकालत गर्दछ । सभ्यताको सार भनेको यही हो । जुन यसको निर्णायक पक्ष हो । 

    मूलतः उत्पादनको निम्ति गरिने सङ्घर्षकै बिचमा सभ्यताको विकास हुँदै आएको छ । सभ्यता पनि शासक र शासित वर्गीय हित वा स्वार्थअनुरुप स्थापित वा विस्थापित हुने गर्दछ । माक्र्सको भाषामा यही अन्तरविरोधपूर्ण सामाजिक सम्वन्धको सग्लो र विकसित पद्यति नै सभ्यता हो । वस्तुतः यो उत्पादनको निम्ति गरिने सङ्घर्ष र वर्गसङ्घर्षको लामो ऐतिहासिक प्रक्रियाद्वारा विकास, विस्तार र स्थापित हुने गर्दछ ।  

    प्रदेश नामकरण: हामी अहिले सङ्घीयता कार्यान्वयनको चरणमा छौं । यसै अन्तरगत प्रदेश नं. १ को नामकरणको विषयमा पेचिलो बहसमा छौं । मूलतः कुनैपनि मुलुकको मूलभूत अर्थराजनीतिले तपसीलका सवै पक्ष निर्धारण गर्दछ । आज हाम्रो अभ्यासमा रहेको सङ्घीयता जनअपेक्षाअनुरुप उत्पीडितमैत्री स्वायत्त राज्यको राजनैतिक हैसियतमा त छैन । अर्थात् अपेक्षित रुपमा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गमैत्री देखिन्न । पहिचान वा अधिकार सुनिश्चितताको दिशातर्फ परिलक्षित छैन । 

    संघीयता जारी गर्दा नै फेरो खुस्की सकेको छ । यद्यपि यो उत्पीडन र विभेदमुखी एकात्मक राज्यरुप विरुद्ध उठान गरिएको समाज सापेक्ष मुद्धा भएको हुँदा भौगोलिक र प्रशासनिक अन्तरवस्तुमा कैद गरिएको भएपनि स्वीकार्न वाध्य छौं । यसकारण नाममा पहिचान खोज्ने प्रयत्न भनेको ‘नहुनु मामा भन्दा कानो मामा निको’ भन्ने उक्ति जस्तै हो । पहिचानको बटमलाइनलाई एक हदसम्म सही र प्रगतिशील कदम मान्नै पर्दछ । तर, नामैबाट विद्यमान सम्पूर्ण समस्या समाधन भइहाल्ने बनीबनाउ चाहना वा आत्मरति लिनु भने राजनैतिक सुझावको दरिद्रता मात्रै हुन्छ । यसमा सचेत हुनैपर्दछ ।

    प्रदेश नं. १ को सवालमा स्वयं किरातीहरुमा समेत एकरुपता देखिदैन । विचारधारात्मक राजनैतिक स्पष्टताको अभाव खट्किएको छ । किरात, लिम्वुवान र खम्वुवान बिचमा मतमतान्तर छ । यसले किरात विरोधीहरुलाई सप्तकोशी र कोशीमा सहमति खोज्नु सजिलो बनाइरहेको छ । सङ्घीयता नै नचाहनेहरुको लागि त झन ताली पड्काएर नाचगानमा रम्ने अवस्था छ । 

    यता उत्पीडित मैत्री संघीयता चाहनेहरु सभ्यता वा पहिचानको आधारमा नामाङ्कन हुनुपर्छ भनिरहेका छन् । यही मेसोमा प्रदेश नं. १ को  नाम किरात राख्नुपर्छ भनिरहेका छन् । संघीयताप्रति पार्टीगत धारणाअनुरुप नै नाममा पनि मतान्तर रहेको छ । 

    सांसदहरुमा देखावटी रुपमा संघीयता पक्षधर, सारमा संघीयता विरोधी अनि रुपमा पहिचान पक्षधर, सारमा पहिचान विरोधी जस्ता दोहोरो चरित्रको कारण पनि मतदाताहरु भ्रमित भए । जनताले अधिकांश पहिचान विरोधी पार्टी र नेताहरुलाई जिताए । परिणामतः समयमा नामाङ्कन हुन सकेन । साथै जनअपेक्षाअनुरुप प्रदेशको न्वारन हुने संभावना न्यून देखिन्छ । 

    “इतिहास र सभ्यतालाई आधार मान्दा किरात नामाङ्कन गर्नु वैज्ञानिक र वस्तुवादी हुन्छ । यसले ऐतिहासिक पृष्ठभूमि र सभ्यतालाई सम्वोधन गर्दछ । समुदायगत वाहुल्यतालाई सम्मान गर्दछ । पूर्वी नेपालको ऐतिहासिक सभ्यतालाई स्वीकार गर्नु नै किरात नामकरण गर्नु हो । यो कुनै जाति, समुदाय र राष्ट्र विशेषको मात्र प्रतिनिधित्व गर्ने टुक्रे भावनात्मक पदावली हुँदा पनि होइन । ऐतिहासिक तथ्यहरुको अध्ययनले यही वस्तुगत यथार्थलाई प्रष्ट गर्दछ ।”

     अर्थात् पूर्वी नेपालको सन्दर्भमा तुलनात्मक रुपमा सिंगो समाजलाई एक सूत्रमा वाँध्ने ऐतिहासिक कडी नै किरात सभ्यता हो । यहाँको इतिहास, सभ्यता, भूगोल, जनसंख्या, धर्म, सँस्कृति, परम्परा र जीवनयापनका समग्र क्रियाकलापहरुको पद्यतिलाई नियाल्दा पनि किरात सभ्यतासँग धेरै आयामहरुमा मिल्दोजुल्दो देखिन्छ । योसँगै वहुसंख्यक जनसमुदायको राजनैतिक आकाङ्क्षा पनि यही रहेको छ । 

    निष्कर्ष: इतिहास समकालीन समाजको ऐना हो । सभ्यता यसको आधारशिला वा जग हो । यसकारण ऐतिहासिक सभ्यताको आधारमा प्रदेश नं. १ को नामकरण गर्नु सही हुन्छ । पूर्वको सन्दर्भमा इतिहास, सभ्यता, भूगोल, जनसंख्या, स्थापित सँस्कृति, परम्परा र साझा मनोविज्ञानलाई समेट्ने माध्यम नै किरात सभ्यता हो । साँचो अर्थमा किरात भएपछि अरुमाथि अन्याय र विभेद लाद्ने भन्ने हुँदैन । 

    किनकि किरातको उठान नै सबैखाले अन्याय, अत्याचार र असमानता विरुद्ध हो । न्याय र समानताको लागि हो । तसर्थ, प्राचीन किरात सभ्यताको जगमा उभिएर उत्पीडित वर्ग तथा राष्ट्रहरुको मर्म र भावनालाई सम्मान गर्नको निम्ति किरात नामकरण गर्नु नै तुलनात्मक रुपमा वस्तुवादी देखिन्छ । 

    यद्यपि प्रदेश सभाको अंकगणितीय अवस्था हेर्दा यसैपाली नाम टुंगो लाग्ने सम्भावना देखिदैन । यही संविधानमा टेकेर नाम जुराउन सदनमा दुइ तिहाइ बहुमत चाहिन्छ । अरु भावनाको कुरा आत्मरति र जनता भ्रमित पार्ने नाटक मात्र हो । यो सच्चाइलाई किरात नाम चाहने मित्रहरुले सचेत ढंगले आत्मसात गर्न जरुरी छ । 

    आगामी प्रदेशसभा निर्वाचनमा फेरि पनि आफ्नै पार्टी र चुनाव चिन्हको नाममा संघीयता र पहिचान विरोधीलाई जिताउने अनि किरात प्रदेश चाहियो भन्दै अर्थहीन डेलीगेशनको नौटंकी तथा कथित आन्दोलनको नाटकको कुनै टुक छैन । 

    वस्तुतः संघीयता र पहिचान विरोधीलाई जिताउने मतदाताहरु स्वयं नै पहिचानको लागि डरलाग्दो भाइरस हुन् । किरात प्रदेश कि त सचेत मतदानबाट। कि त निर्णायक आन्दोलनबाट मात्रै संभव हुन्छ। अहिले मुख्यमन्त्री,  प्रधानमन्त्री अनि पार्टी अध्यक्षहरुलाई भेटेर कदापि किरात प्रदेश स्थापीत  हुँदैन । यति न्यूनतम सचेतना सबैमा हुनु जरुरी छ । 

    राजेन्द्र किराती
    धरान, सुनसरी, कोशी नेपाल

    (वर्गीय धरातल र जातिय सवालका लेखक हुनुहुन्छ। पछिल्लो समय माक्सबादी दर्शन सम्बन्धि पुस्तक लेख्दै हुनुहुन्छ। नेकपा माओवादीले संचालन गरेका भूमिगत रेडियो जनगणतन्त्र एफएमका अंग्रेजी समाचार सम्पादक, अनुबादक हुनुहुन्छ। यो आलेख राटोपाटीबाट साभार गरिएको हो।)

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal