News Portal

  • देशैभर कांग्रेसको शक्ति प्रदर्शन, दम्भ नदेखाउन सरकारलाई आग्रह !

    सरकारले लोकतन्त्र खोस्न लागेको छ : केन्द्रिय सदस्य थानी

    समाचार डेस्क
    ११६६ पटक

    काठमाडौं – विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् ।

    पार्टीका वरिष्ठ नेताहरु विभिन्न जिल्लाका विरोध कार्यक्रममा सहभागी भए । उनीहरुले सरकारविरुद्ध निकै आक्रामकरुपमा आफूलाई प्रस्तुत गरे । राजधानीलगायतका ठूला शहरमा कार्यकर्ताहरुको उल्लेख्य सहभागितासहित कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

    डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्न पूर्वनिर्धारित कार्यक्रम भएता पनि कांग्रेसले अनसन स्थगित भइसकेको अवस्थामा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएको हो । सरकारले संविधान उल्लंघन गरेको र महंगी बढाएको भन्दै विरोध कार्यक्रमलाई निरन्तरता दिइएको नेताहरुले बताएका छन् ।

    विरोधसभामा कांग्रेस नेताहरुले सरकारले कर वृद्धि गरेको, जनभावना अनुसार काम नगरेको, सिण्डिकेट अन्त्य गर्न नसकेको, सभामुख र उपसभामुख एकै पार्टीबाट चयन गरेर संविधान उलंघन गरेको जस्ता विषय उठाएका थिए । उनीहरुले आफ्नै गतिविधिका कारण दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार कमजोर हुने टिप्पणी गरेका थिए ।

    विरोधसभामा कांग्रेसका कतिपय नेताले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन हुनुपर्ने धारणासमेत राखेका छन् ।

    गृहजिल्ला तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीलाई संवैधानिक परिषद्ले सिफारिस गरिसकेकाले संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताए ।

    जोशीको शैक्षिक प्रमाणपत्रको विषय उठाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न गरे, ‘यसमा उनको के दोष, संवैधानिक परिषद्ले सिफारिस गर्ने बेलामा यो सबै कुरा हेर्न पर्थेन ?, सरकारी सेवामा प्रवेश गर्ने बेलामा लोक सेवा आयोगले यो विषय देखेन ?’

    उनले नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइ बहुमत गलत प्रवृत्तिमा प्रयोग गरेको आरोप लगाए ।

    गृहजिल्ला झापा पुगेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारलाई दुईतिहाइको मात लागेको आरोप लगाए ।

    चन्द्रगढीमा आयोजित विरोधसभामा उनले सरकारले जनताको अधिकारमाथि दमन गर्न खोजेको बताए । झापा नै पुगेका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको दावी गरे ।

    प्रधानमन्त्रीको राजीनामा माग

    पोखरामा आयोजित विरोधसभामा केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै माग गरे । बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने नेपाली छात्राबारे टिप्पणी गरेकोमा कानून मन्त्री शेरबहादुर तामाङमात्र नभई प्रधानमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

    रुपन्देहीमा भएको विरोधसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बोलीमा नियन्त्रण गर्न सुझाव दिए । उनले जथाभावी नबोल्न र शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न सचेत गराए ।

    काभ्रेको विरोधसभालाई संबोधन गर्दै नेता दिलेन्द्रप्रसाद बडुले सरकार यसरी नै अघि बढेमा नेपालमा कम्युनिस्ट सकिने टिप्पणी गरे ।

    वीरगञ्जमा कांग्रेसले घण्टाघरबाट निकालेको विरोध र्‍याली माइस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा पछि पुन घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो ।

    र्‍यालीमा सहभागीहरुले केपी ओली पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए । र्‍यालीपछिको सभालाई कांग्रेस नेताहरु रमेश रिजाल, सुरेन्द्र चौधरीलगायतले संबोधन गरे ।

    काठमाडौंमा कसले के भने ?

    काठमाडौंमा कांग्रेसले गरेको विरोध र्‍याली भोटाहिटी, असन, विशालबजार, न्यूरोडको परिक्रमा गर्दै पुनः शान्तिबाटिकामै आएर कोणसभामा परिणत भयो ।

    सरकार सर्वसत्तावादउन्मुख भएको, संवैधानिक निकायमा राजनीतिकरण गर्न खोजेको, प्रेसमाथि हस्तक्षेप गरेको, न्यायलयलाई कार्यर्पालिका मातहत राख्न खोजेको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो ।

    कोणसभालाई कांग्रेस नेता प्रकाशमान सिंह, सह-महामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, सांसद राजेन्द्र केसीलगायतले संबोधन गरे । नेता सिंहले आफ्नो पार्टीलाई हात्ती र कम्युनिस्टलाई बोकासँग तुलना गरे ।

    ‘नेपाली कांग्रेस त हात्ती हो । हात्ती दुब्लाउनु र कम्युनिस्ट बोकाहरु मोटाउनु के बराबर हो ?’ उनले भने, ‘सरकारले यो बुझ्नुपर्‍यो ।’

    सह-महामन्त्री प्रकाशशरण महतले कांग्रेस नेतृत्वको सरकारले गरेका महत्वपुर्ण र जनताको जीवनयापनसँग जोडिएको विषय कार्यान्वयन हुनुपर्ने माग गरे । ६५ वर्षमा नै वृद्धभत्ता दिने, भूकम्प पीडितलाई थप एक लाख दिने जस्ता निर्णयलाई निरन्तरता दिनुको सट्टा सरकार जनताको ढाड सेक्नेगरि कर वृद्धिमा लागेको आरोप लगाए ।

    सरकारले लोकतन्त्र खोस्न लागेको छ : केन्द्रिय सदस्य थानी

    नेपाली कांग्रेस सुर्खेतले मंगलवार सुर्खेतमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । स्थानीय मंगलगढी चोकबाट र्‍यालीसहित बजार परिक्रमम गरी पिपलचौतारामा पुगेर सभामा परिणत भएको थियो ।

    सभामा बोल्ने वक्ताहरुले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध कडा आक्रोश र विरोध प्रकट गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले वर्तमान सरकारले लोकतन्त्र खोस्न लागेको भन्दै यसरी लोकतन्त्र चल्न नसक्ने हुँदा सरकारलाई सचेत गराएका थिए । उनले विमानस्थलबाट विश्वविद्यालय का उपकूलपतिलाई पक्राउ गरी फिर्ता गराउनु, सरकारविरुद्ध सुन्न नसकेर सार्वजनिक स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गर्नु, जनताविरुद्ध विभिन्न कर र महँगी थोपर्नुले यसरी लोकतन्त्र नचल्ने दावी गरे । उनले भने, यदि यस्तै गर्ने होभने प्रमज्यू, लोकतन्त्र यसरी चल्दैन ।

    उनले वर्तमान सरकार जनताको पक्षमा नभएको आरोपपनि लगाए । साथै जनताको लागि सवैभन्दा धेरै लडेको कांग्रेसलाई अपमान गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै नेता थानीले कांग्रेसका विरुद्ध धेरै खिसीट्युरी नगर्न चेतावनी दिए । उनले जसले कांग्रेसलाई खिसीट्युरी गर्छ, तिनीहरु नै सक्किएको भन्दै राणा, राजा, पंचायतले यही कांग्रेसलाई खिसीट्युरी गर्दा कांग्रेसले सकेको र केपी ओलीले पनि धेरै खिसीट्युरी गरे उनीपनि सकिने जिकिर गरे । साथै बारम्बार कांग्रेससंग निहुँ नखोज्न पनि उनले चेतावनी दिए ।

    नेता थानीले चुनावमा कांग्रेसको थोरै सिट आयो भनेर नहेप्न र चिन्ता नलिन समेत केपी ओली र प्रचण्डलाई सुझाव दिए । कांग्रेस कोहीसंग पनि नडराउने भन्दै जो जोले कांग्रेससंग निहुँ खोज्छ, तिनीहरु नै सक्किने उनको भनाइ छ ।

    यसैगरी नेता थानीले तत्कालीन माओवादी केन्द्र र त्यस पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै यदि कांग्रेसले जंगलबाट उनीहरुलाई सिंहदरवार नल्याएको भए आजसम्म कहाँ छन् भनेर खोज्नुपर्ने थियो भने । जुन पार्टीले जंगलबाट लोकतन्त्रमा ल्यायो, आज उसैले कांग्रेसलाई हेप्ने भन्दै थानीले अझैपनि चेतिन आग्रह गरे । साथै उनले वर्तमान सरकारले तानाशाही प्रवृति फिर्ता गर्न समेत जोड दिए ।

    कार्यक्रममा पूर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टले जनताको लोकतान्त्रिक अधिकारमाथि वर्तमान कम्युनिष्ट सरकारले धावा बोलेको आरोप लगाए । उनले सरकार अधिनायकवादतर्फ अघि वढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए । महंगी, भ्रष्टाचार र कालोबजारी बढ्दै गएकोमा उनले त्यसप्रति सरकार मुकदर्शक भएर बसेको आरोप लगाए ।

    कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सचिव भूपेन्द्र खत्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख एवं कांग्रेस नगर सभापति देवकुमार सुबेदीले, महिला संघका अध्यक्ष पार्वती गिरीलगायतले सरकारले दुई तिहाइको आडमा निरंकुश ढंगले अघि बढेको बताएका थिए । कार्यक्रम अघि मंगलगढी चोकबाट सरकार विरुद्ध विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो ।
    अनलाइनखबर/देउतीखबरबाट

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal