News Portal

  • जब बीपीले इन्दिरा गान्धीलाई भने : बरु म मेरै देशमा फाँसीमा झुण्डिन्छु तर तिमीहरुसंग झुक्दिन

    हिमाली संचार संवाददाता
    ५१२ पटक

    जगत नेपाल
    काठमाडौं : भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी एकातिर विश्वेश्वरप्रसाद कोइरालालाई आस र त्रास देखाएर नेपाल नफर्काउने कार्ड चलिरहेकी थिइन्। अर्कातर्फ, उनले राजा वीरेन्द्रसँगको रणनीतिअन्तर्गत बिपीलाई नेपाल फर्काउन दूत पनि खटाइरहेकी थिइन्।

    बिपीलाई देखाएर राजासँग र राजालाई देखाएर बिपीसँग बार्गेन गर्ने उनको रणनीतिक चाल थियो। संसारकै ठूलो लोकतन्त्र भारतमा संकटकाल लागू गरी तानाशाही अभ्यास गरिरहेकी थिइन्, उनी। बिपीका भारतीय शुभचिन्तक नेताहरू जयप्रकाश नारायण, चन्द्रशेखर लगायत गान्धीका विरोधीजति सबै जेलमा थिए।

    त्यही मौकामा प्रधानमन्त्री गान्धीले ‘नेपालको वैदेशिक नीति र सुरक्षा अधिकार भारतलाई दिने भए बिपीलाई नेपाली राजनीतिमा पुनर्स्थापना गराइदिने’ प्रस्ताव ल्याइन्। बिपीले राष्ट्रियतासँग सम्झौता गर्न मानेनन्। त्यसपछि बिपीप्रतिको भारतीय नीति झन् झन् कडा हुँदै गयो।

    फर्किनुअघि बिपीले कार्यकर्तामाझ भनेको स्मरण गर्दै कांग्रेस नेता चक्र बाँस्तोलाले भनेका थिए, ‘बिपी भन्नुहुन्थ्यो– राजा र हाम्रो स्वार्थ एउटै छ। उनलाई राज्य गर्न देश चाहिन्छ, हामीलाई लोकतन्त्र ल्याउन। देश नै हाम्रो साझा स्वार्थ हो। त्यसैले, इन्दिरालाई रानी मानेर भारतमा बस्नुभन्दा जोखिम उठाएर भए पनि स्वदेश फर्किने निर्णयमा म पुगेको हुँ।’ भारत बिपीलाई गोटी बनाएर नेपालको सार्वभौतिकतामाथि हस्तक्षेप गर्न चाहन्थ्यो। राजालाई बिपी र बिपीलाई राजाको भूत देखाएर फाइदा लिन चाहन्थ्यो।

    बिपी फर्किनुअघि २०३३ साल पुस पहिलो साता भारतीय रक्षामन्त्री जगजीवन रामले ‘नेपाल पुग्नेबित्तिकै तपाईंलाई फाँसीमा झुन्ड्याउन सक्छन्, नजानुस्’ भन्ने प्रधानमन्त्री इन्दिरा गान्धीको सन्देश टेलिफोनबाट सुनाए। इन्दिराको छलछाम र जालझेलबाट अपमानित महशुस गरिरहेका बिपीले आफ्नो निर्णयमा पुनर्विचार त के, रक्षामन्त्री रामलाई भेट्नसमेत मानेनन्।

    आफूसँग भेट्ने समय मागेका रामलाई बिपीले फोनबाटै भने, ‘महारानीले पठाएको भए भेट्ने कष्ट नगर्नुस्। साथीको नाताले आउनुहुन्छ भने आउनु होला।’ जगजीवनले कुरा बुझे। बिपीलाई भेट्न गएनन्।

    बिपीले मन्त्री जगजीवनलाई दिएको जवाफबारे गणेशमानले भनेका छन्, ‘होइन, अब मैले जाने निर्णय गरी नै सकेँ, मेरो भन्नु पनि केही छैन।’
    बिपीले यसो भनेपछि जगजीवनले भनेका थिए, ‘होइन, तपाईं मलाई भेटेर मात्र जानुस्।’
    बिपीले जवाफ फर्काए, ‘पछि फेरि दिल्ली आएँ भने भेट्नेछु। अहिले त म जाने तयारी गरिरहेको छु।’

    ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’ भन्ने नारा लगाएर उनका समर्थकले पनि बिपीलाई फकाउन धेरैपटक प्रयास गरे। त्यसरी आफूलाई सम्झाउन आउने भारतीय नेताहरूलाई बिपी भन्थे, ‘संकटकालपछि भारत पनि जेल भइसक्यो। नेपालको जेल सानो छ। त्यसैले, म त स्वदेशै फर्किन्छु।’

    भारत सरकारले कांग्रेस गतिविधिमाथि नियन्त्रण गर्न सशस्त्र क्रान्तिका लागि जम्मा पारेका हतियार जफत गरेको थियो। एउटा मिनीबसको तल गोप्य बाक्सा बनाएर माथिबाट प्लेटले ढाकी सिट फिट गरेको अवस्थामा बिपीका साथीले अत्याधुनिक १२ सय थान हतियार लोड गरी जर्मन यात्रीसहित पठाइदिएको गाडीसमेत भारत सरकारले जफत गरेको थियो।

    त्यसैगरी, जर्मन समाजवादीहरूले पठाएका हतियार भारत–पाकिस्तान सीमानामा पर्ने बाघा क्षेत्रमा रहेका भारतीय सुरक्षा फौजद्वारा नियन्त्रणमा लिई गाडीसमेत जफत गरियो। अर्को एक ट्रक हतियार दिल्लीमा बुझी सोझै जयनगर पठाउने क्रममा पक्राउ गरिएको थियो।

    बिपीसँगै स्वदेश फर्केका नेता रामबाबु प्रसाईं ती दिन यसरी सम्झन्छन्, ‘सिक्किम भारतमा विलय हुनुभन्दा पाँच–छ महिनाअघिको कुरा हो। सिक्किमका पाँच–सात नेता बिपीलाई भेट्न सारनाथ आएका थिए। उनीहरूले भने– हामी भोटे राजा फाल्न चाहन्छौं। त्यही पनि तपाईंसँग सल्लाह माग्न आएको। उनीहरूलाई बिपीले भने– प्रजातन्त्रको हत्या त नेपालमा पनि भएको छ, तर हामी राजा हटाउन चाहँदैनौं। किनभने, राजा हटाउँदा हामी नेपाललाई स्वतन्त्र राखिरहन सक्दैनौं। राजा चाहिन्छ। तपाईंहरू पनि राजा फाल्न लाग्नुहुन्छ भने सिक्किम स्वतन्त्र रहनै सक्दैन नि। त्यसपछि उनीहरू फर्किए।’

    ‘त्यो बेला भएको के थियो भने, सिक्किमका प्रजातन्त्रवादीहरू पनि भारतलाई राजाले दुःख दिए केही गर्दिनुपर्यो भन्दा रहेछन्। र, राजा पनि जनताका नेता भनौंदाहरूले साह्रै दुःख दिए भन्दा रहेछन्। हुँदा हुँदा जनमत संग्रह नै भयो। राजा चाहिन्न भन्ने पक्षमा भारी मतदान भयो। राजा उडेपछि सिक्किमको स्वतन्त्रता पनि उड्यो।’ इन्दिरा गान्धीको दबाबमा भएको देखावटी जनमत संग्रहले सिक्किमलाई भारतमा गाभ्ने निर्णय गर्यो। त्यही आधारमा १६ मे, १९७५ (२०३२ जेठ २ गते) सिक्किम विधिवत् रूपमा भारतको अंग भयो।

    ठिक त्यही ताका प्रधानमन्त्री गान्धीको राजीनामा मागेर जयप्रकाश नारायणको नेतृत्वमा सबै विपक्षीले बिहारमा ठूलो आन्दोलन गरिरहेका थिए। त्यसैबाट मुक्ति पाउन इन्दिराले २५ जुन, १९७५ (२०३२ असार ११) मा संकटकाल घोषणा गरिन्।

    एक्काइस महिने लामो संकटकालमा आफ्ना विरोधी सबैलाई जेल हालिन्। दिल्लीमा रहेको बिपीको निवास खानतलासी गराइन्। यही पृष्ठभूमिमा बिपीले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गरेका थिए।

    नेपाल फर्केपछि आफ्ना पति बिपीलाई मृत्युदण्ड हुने वा जेलमै सडाएर मार्न सक्ने त्रासका कारण सुशीला तनावमा थिइन्। बिपीकै भनाइ छ, ‘शैलजाले त अनौठो व्यवहार नै देखाइन्। उनी भित्रभित्रै चिन्तित र आवेगमा थिइन्।’ परिवाका अरू सदस्य र शुभचिन्तक पनि व्याकुल र आफैंमा हराएजस्ता थिए।

    सशांक कोइराला ती दिन सम्झन्छन्, ‘बिपी बाबा नेपाल जाने कुराले आमा धेरै चिन्तित हुनुहुन्थ्यो। आठ वर्ष सुन्दरीजल जेलमा बिताइसक्नुभएको थियो। फेरि यति खतरनाक मुद्दा छन्। जेल हाले भने त त्यहीँ मारिदिन्छन् भन्ने त्रासमा थियो पूरै परिवार। झुन्ड्याउँछन् भनेर रुवाबासी नै चलेको थियो। बाबाले सबैलाई सम्झाउनुभयो।’ यता, काठमाडौंमा गणेशमान पत्नी मंगलादेवी पनि ‘बुवालाई जस्तोसुकै सजाय हुनसक्छ, विकल्प छैन’ भन्दै छोराछोरीलाई सम्झाउँदै थिइन्।

    गणेशमान पुत्र कांग्रेस नेता प्रकाशमान सिंहले भनेका छन्, ‘आमा सम्झाइरहनुभएको थियो, राजनीतिमा लाग्ने मान्छेले जस्तोसुकै परिस्थिति सामना गर्नुको विकल्प छैन। तिम्रो बुवालाई मार्न पनि सक्छन्। अहिलेदेखि मन बलियो बनाएर बस।’

    भारतीय प्रधानमन्त्री इन्दिरा भन्ने गर्थिन्, ‘नेपालका शासकहरूलाई विश्वास गर्न सकिँदैन। उनीहरू एउटा कुरा गर्छन्, काम त्यसको ठिक विपरित गर्छन्। मलाई त्यो मन पर्दैन। उनीहरू हाम्रा मित्र होइनन्।’

    महाराज रसगोत्रालाई नेपालका राजदूतका रूपमा पठाउँदा इन्दिराले भनेकी थिइन्, ‘म तपाईंलाई त्यहाँ पठाउँदैछु, किनभने तपाईंलाई उनीहरूबारे थाहा छ। तपाईं सम्बन्ध सुधारका लागि के गर्न सक्नुहुन्छ, विचार गर्नुस्। तर, उनीहरूसँगको डिलिङमा भने दह्रोसँग उभिने गर्नुस्।’

    (पत्रकार नेपालद्वारा लिखित ‘बिपीको विद्रोह’ किताबको केही अंश बाह्रखरीबाट साभार।)

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal