News Portal

  • छोरालाई सेनाले मार्यो, बाबुलाई माओवादीले मारे, सरकार- माओवादी दुबै देख्दा मन दुख्छ !

    हिमाली संचार संवाददाता
    १६४ पटक

    रोल्पा : ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्ने समेत जानकारी छैन। स्थानीय शान्ति समिति मार्फत तीन वर्षअगाडि आफन्तको खोजीका लागि आयोगमा उजुरी दिएकाहरूको आजसम्म कुनै सुनुवाइ नहुँदा उनीहरूमा निराशा छाएको हो।

    २०५८ असारमा पत्रकार समेत रहेका आफ्ना बुवा धनबहादुर रोका बेपत्ता पारिँदा ३ वर्षकी पवित्रा अहिले १२ कक्षामा पढ्ने भएकी छन्। रोल्पा सदरमुकामबाट २६ कोष टाढा थवाङ गाउँपालिका मिरुलकी उनी पत्रकार महासंघको पहलमा विज्ञान संकाय लिएर पढ्दैछिन्।

    रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा समाचारवाचक तथा समाचार उत्पादक रहेका धनबहादुरलाई तत्कालीन विद्रोही माओवादीले प्यूठानको भिंग्री जलुकेबाट अपहरण गरी लगेको थियो। त्यसपछि आजसम्म उनको अवस्था अज्ञात छ।

    हिजोआज माओवादी देख्दा नि मन दुख्छ, सरकार भन्दा नि मन दुख्छ। एउटाले पति मा-यो, अर्काले छोरा बेपत्ता बनायो। ‘अब त आयोगसँगको भरोसा पनि टुटिसक्यो। बेपत्ता आयोगमा उजुरी दिएको धेरै भइसक्यो तर अहिलेसम्म कुनै सोधखोज गरिएको छैन,’ पवित्रा भन्छिन्, ‘गाउँमा आमा एक्लै हुनुहुन्छ। भएको सम्पत्ति पनि आधा जति बेचिसकियो। धेरै पीडा बेहोरियो। बाबाको अवस्था के हो ? उहाँलाई कहाँ लगियो ? मारिनुभएकै हो भने उहाँलाई कसरी, कहाँ र किन मारियो भन्ने थाहा पाउन पाए पनि हुन्थ्यो।’ आमा दिलकुमारीलाई गाउँमा एक्लै छोडेर पढ्न भन्दै दाङ झरेकी १८ वर्षीया पवित्रा यस्तै विषयले सधैं अन्योलमा हुन्छिन्।

    आमाको चिन्ताले निकै सताउने गरेको पवित्रा बताउँछिन्। रोल्पा सदरमुकाममा बसेर पढ्दै गरेका आफ्ना दुई भाइ के गर्दै होलान् भनेर पनि उनी बारम्बार पिरोलिन्छिन्। पवित्रासँगै हजुरआमा कुस्ती रोका पनि छिन्, जसका पति मनबहादुर द्वन्द्वमा मारिएका थिए। कक्षा ११/१२ पूरा गरेपछि वन विज्ञान संकायतिर जाने सोचमा रहेकी पवित्राको परिवार अहिले तीनतिर छ, आमा गाउँमा, भाइ रोल्पा सदरमुकाममा र आफू दाङमा छन्।

    ‘छोरा आउला भन्ने आस छैन। सुरुसुरुमा त आस लाग्थ्यो, अब त मर्‍यो। विचरा गोठाला जान्थे, घरगाउँ गर्थे। केही नबिराएकालाई पनि मारे। त्यस्ता सोझाले पनि सिआइडी गर्छन् र ! रोल्पा नगरपालिका कोटगाउँकी ६१ वर्षीया मेघमाली बुढाले गुनासो गरिन्, ‘मरेको लाश वरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छाडेका थिए।’ त्यसो गर्ने को–को हुन् भन्ने थाहा भए पनि आगामी पुस्ताका लागि विगत भुल्न बाध्य रहेको उनी बताउँछिन्।

    ‘उनीहरूले जस्तै गर्न पनि त भएन,’ उनले भनिन्, ‘हिजोआज माओवादी देख्दा नि मन दुख्छ, सरकार भन्दा नि मन दुख्छ। एउटाले पति मार्‍यो, अर्काले छोरा बेपत्ता बनायो।’ मेघमाली तत्कालीन १० वर्षे माओवादी सशस्त्र द्वन्द्वपीडित हुन्। २०५८ चैत १५ गते घरबाट लगेर छेवैको गाउँमा गोली हानेर पति मारिएपछि उनका दुःखका दिन सुरु भए। उनले पीडा हुँदाहुँदै पनि मन थामेर एक छोरी र दुई छोरा हुर्काउन–पढाउन विचलित नभई लागिपरिन्।

    तर दुर्भाग्य ! २०५९ सालमा दाङमा पढिरहेका भाइ भेट्न रोल्पाबाट झरेका जेठा छोरा हीराबहादुर बुढालाई उतै कतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो। पतिलाई माओवादीले गाउँमै ढलाए। पतिवियोगमा सहनुपरेकी उनी सेनाले छोरा बेपत्ता बनाएपछि विक्षीप्त बनिन्। मेघमालीलाई बेपत्ता आयोगले के गर्छ भन्ने पनि राम्रोसँग थाहा छैन। ‘खै कसैले केही गर्नेवाला छैनन्। अब कसैको आस छैन।

    लिवाङ–४ की प्रतिमा थापाका पति ढाटे थापा बेपत्ता पारिँदा गभर्वती थिइन्। बाबुको अनुहारसमेत नदेखेका छोरा अहिले कक्षा ९ मा पढ्छन्। अहिले प्रतिमा बुढी सासू र नजन्मिएको छोराको मुख हेरेर बाँकी जीवन कटाउँदै छिन। २०/२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिँडेका पति होलेरीबाट बेपत्ता बनाइएपछि उनी आउने आसैआसमा बसेकी उनको पीडा अहिले झन् बढ्दैछ।

    यी द्वन्द्वपीडितको परिवारले जस्तै रोल्पामा १ सय १६ जनाले बेपत्ता आयोगमा आफन्त खोजीका लागि उजुरी दिए पनि अहिले उनीहरूको आयोगसँग कुनै भरोसा छैन। तीन वर्ष अगाडि उजुरी दिए पनि आजसम्म कुनै सोधखोजसमेत नगरिँदा बेपत्ता परिवार निराश बनेका हुन्। १० वर्षे सशस्त्र द्वन्द्वका बेला पीडित भएका रोल्पाका ३ हजार ३८ पीडितले दर्ता गराएका उजुरी यतिबेला अन्योलमा छन्। स्थानीय शान्ति समिति रोल्पाका अनुसार बेपत्ता व्यक्तिका परिवार १ सय १६ ले उजुरी दिएका थिए। उनीहरूले बेपत्ता आफन्त खोजबिनका लागि भन्दै उजुरी दिएका हुन्।

    उता सबैले आशा गरेको बेपत्ता छानबिन आयोग आफैं अलमलमा छ। ‘बेपत्ताको परिवारको हामीप्रति भरोसा नहुनुमा हाम्रो कमजोरी होइन। सरकारले कर्मचारी दिँदैन, साधन र समय पनि दिँदैन। ७५ जिल्लामा कसरी दौडनु ? ५६ जिल्लामा काम सकेका छौं,’ बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले भने, ‘अब समय सकिन थाल्यो।

    रोल्पाको पालो कहिले आउने हो ? त्यतिन्जेल आयोग रहने हो कि होइन, सरकारलाई नै सोध्नुपर्छ। छानबिनका लागि रोल्पाको पालो नआउन पनि सक्छ।’ उनी थप्छन्, ‘कम्तीमा अब आठ महिना समय पाइए सबै काम सकाउँछौं। सरकारले समय बढाएन भने हाम्रो कमजोरी रहँदैन।’

    बेपत्ता पत्रकार धनबहादुरकी छोरी पवित्रा र उनकी हजुरआमा कुस्ती रोका। छोरा धनबहादुर बेपत्ता पारिएकी कुस्तीका पति मनबहादुरलाई पनि तत्कालीन माओवादीले मारेका थिए। हामीले यो समाचार नागरिकन्यूजबाट लिएका हौ।

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिक्रिया दिन तल जानुहोला !

    प्रतिकृया दिनुहोस्

    पुष्पन प्रधानको पंन्छिमा प्रेम जिमिको जिवन्त अभिनय !

    कुवेत : नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि...

    आर्य-क्षेत्री समाज मकाउले २९६ औं पृथ्वी जन्म जयन्ति मनाउने  

    कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशित क्षेत्र मकाउमा केही महिना पहिला स्थापना भएको आर्य-क्षेत्रीहरूको समाज मकाउले...

    विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल डेढ लाखमा बिक्री

    सिड्नी : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर २९ गते शनिबार, इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख नेपाल संवत् ११३९

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कुवेतमा लोकपप गायक दुर्गेश थापाले मच्चाए धमाका !

    कुवेत : लोक पप गायक दुर्गेश थापा र बिबि मल्लले कुवेत तताएका छन् । कुवेतको...