News Portal

  • निर्मला हत्या प्रकरण: जति टोली आए पनि परिणाम शून्य

    भवानी भट्ट
    ६३१ पटक

    कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार ७० दिन पूरा भएको छ । यो अवधिमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी अधिकारी अनुसन्धानका लागि यहाँ आए । अनुसन्धानका लागि दबाब दिन नियमित आन्दोलन पनि चलिरहेकै छ ।

    तर अहिलेसम्म पनि प्रहरीले वास्तविकता नजिकमा पुगेर अपराधी फेला पार्न सकेको छैन । निर्मला घटनाको अनुसन्धानका लागि हालसम्म आधा दर्जनभन्दा बढी टोली यहांँ पुगिसकेका छन् । टोली र नेतृत्व फेरिने क्रम अझै जारी छ । तर अनुसन्धानको परिणाम अझै फेरिन सकेको छैन ।

    साउन ११ गते भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा निर्मलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोक्यो । त्यसपछि कञ्चनपुरका मात्रै नभई सुदूपश्चिमभरिका सबै जिल्लाबाट अनुसन्धानका लागि जवानदेखि प्रहरी निरीक्षकसम्मलाई यहाँ बोलाइयो । स्रोतका अनुसार अनुसन्धानका नाममा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले आफू अनुकूलका व्यक्तिलाई यहाँ बोलाएका हुन् ।

    शव भेटिएको दोस्रो दिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली खटियो । यही टोलीले घटनाका मुख्य दोषीका रूपमा भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गर्‍यो । उनी पछि डीएनए नमिलेर हिरासत मुक्त भए । भदौ ७ मा गृह मन्त्रालयले तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकीन्द्र खड्कालाई काठमाडौं तान्यो । घटनाको अनुसन्धानका लागि एसपी कुवेर कडायत र डीएसपी कृष्णराज ओझालाई यहाँ पठाइयो ।

    अनुसन्धानका क्रममा भएको लापरबाही र आन्दोलनमा भएको बल प्रयोग तथा सरकारी सम्पत्तिको क्षतिको विवरण संकलनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्‍यो । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डीआईजीसँगै प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य थिए । ‘अनुसन्धानमा लापरबाही भएको छ, केही न केही भएरै जनता आन्दोलनमा होमिएका हुन्’ भदौ २२ गते छानबिन टोली काठमाडौं फर्किनुअघि महेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक मैनालीले भनेका थिए, ‘आन्दोलनमा बल प्रयोग गर्नुपर्ने अवस्था पनि थिएन, गोली पनि आदेशबिना नै चलाइएको छ ।’

    उनले छानबिनका क्रममा अनुसन्धानलाई सहयोग पुग्ने तथ्य प्रहरीलाई उपलब्ध गराइएको बताए । सीआईबीका डीएसपी अंगुर जीसीको टोली फिर्ता भएपछि भदौ दोस्रो साता सीआईबीकै एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा अर्काे टोली महेन्द्रनगर आइपुग्यो । उक्त टोली अहिले पनि अनुसन्धानमै छ । ‘हामीले धेरै काम गरेका छौं,’ एसएसपी ठाकुरप्रसाद ज्ञवालीले भने, ‘तर अहिले नै भन्न सकिने अवस्था भने छैन ।’

    भदौ २२ गते राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागी हुन यहाँ पुगेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत अनुसन्धानमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए । भदौ अन्तिम साता तत्कालीन डीआईजी धीरु बस्न्यातको नेतृत्वमा गठन भएको अनुसन्धान टोलीले पहिलो चरणमा घटनाको अनुसन्धानमा खटिएका प्रहरीहरूसँग बयान लिने, पोलियोग्राफी लिने लगायतका काम काठमाडौंमै गरिरहेको छ । टोलीले त्यतिबेला अनुसन्धानमा खटिएका जवानदेखि अधिकृतसम्मका सबैलाई काठमाडौं झिकाएर छानबिन तथा अनुसन्धान गरिरहेको हो ।

    घटनाकै अनुसन्धानका लागि भदौ अन्तिम साता महिला एसपी दुर्गासिंह चन्दको टोली पनि यहाँ पुगेको छ । उक्त टोलीले पनि घटनास्थल अध्ययन, पीडित परिवार, यातना पाएका व्यक्ति र अन्य सरोकारवाला सबै पक्षसँग भेटघाट गरेको छ । एसपी चन्दको टोली अहिले पनि यहीं छ ।

    ‘अहिले जिल्लाको टोलीसँगै सीआईबी र एसपी चन्दको टोली अनुसन्धानमा छौं,’ घटनाको अनुसन्धान अधिकृतसमेत तोकिएका कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले भने, ‘तीनै टोलीले संयुक्त र अलग अलग रूपमा अनुसन्धान गरिरहेका छौं ।’ उनले सीआईबीको टोली अन्य अनुसन्धानसँगै प्राविधिक रूपमा पनि सघाउने काम गरिरहेको बताए । तर अहिलेसम्म पनि प्रहरी अनुसन्धान घटना नजिक पुग्न सकेको छैन । उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक र अपराधी पत्ता लगाउन माग गर्दै गत शनिबारदेखि नागरिक संघर्ष समितिले सुरु गरेको धर्ना बुधबार पनि जारी रह्यो । महेन्द्रनगरको मदन चोकमा महिलाहरूले बिहान ९ देखि ५ बजेसम्म नियमित रूपमा धर्ना दिंदै आएका छन् ।

    मुख्यमन्त्रीलाई ज्ञापनपत्र
    धनगढी– निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिनाभन्दा बढी समय बित्दासमेत अपराधी पक्राउ गर्न नसकेको भन्दै महिला अधिकारकर्मीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । महेन्द्रनगर र काठमाडौंबाट आएका महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै ज्ञापनपत्र बुझाएको कञ्चनपुरबाट आएकी अधिकारकर्मी हेलेन श्रेष्ठले बताइन् । काठमाडौंबाट सावित्री सुवेदीसहितका अधिकारकर्मी पनि ज्ञापनपत्र बुझाउन धनगढी पुगेका थिए ।

    उनीहरूले निर्मलाको न्यायका लागि प्रदेश सरकारलाईसमेत दबाब दिने उद्देश्यले मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिइएको बताए । ज्ञापनपत्र बुझाउनुअघि चौराहाबाट प्रदर्शन गरेका थिए । त्यसपछि मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका थिए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मलाको घटनाले प्रदेश सरकारलाई निरन्तर प्रताडित गरेको बताए । ‘निर्मला बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा प्रदेश सरकार दृढ छ,’ मुख्यमन्त्री भट्टले भने ।

    निर्मलाका हत्यारालाई सरकारले सार्वजनिक नगरेको भन्दै बालिकाहरूले कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सरकारले हत्यारालाई सार्वजनिक नगरेको भन्दै उनीहरूले बुधबार डेढ घण्टा सडक जाम गरेका हुन् । लम्की चुहा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयबाट भेला भएका बालिकाले निर्मला हत्यामा संलग्नलाई पक्राउ नगरिएकाले जताततै बालिका असुरक्षित महसुस गरिरहेको बताएका थिए । कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal