News Portal

  • निर्मला पन्तले न्याय नपाएको यो तीज !

    ५६३ पटक

    शिव मुखिया
    काठमाडौं – सर्वत्र तीजको रमझम । काठमाडौंका चोक र गल्लीमा गीत घन्किइरहेको थियो । अरुका छोरीचेली सडकमा निस्केर छमछम नाचिरहेका थिए । तर, अनामनगरमा निर्मला पन्तका बुबा र आमा रुमालले आँशु पुछ्दै थिए ।

    आज तीजको दिन । छोरी निर्मला पन्त काखबाट लुटिएको डेढ महिना बित्यो । तर, खोई अपराधी ? खोई कारबाही ? अहिलेसम्म अत्तोपत्तो छैन । पन्त परिवारलाई यस वर्ष तीज आएको, नआएको केही पत्तै भएन ।

    एकातिर छोरी गुमाउनुको पीडा, अर्कोतिर टाँढिदै गएको न्याय । ‘न्याय नपाए गोर्खा जानु’ भन्थे । अब त न्याय खोज्ने ठाउँ पनि छैन । जहाँ पुग्यो, त्यही संशयले घेरा हाल्छ । पन्त दम्पतीलाई कम्ता सास्ती छैन । तैपनि छोरीको खातिर लड्नुपरेको छ । जिउँदै पटक-पटक मर्नुपरेको छ ।

    छोरी निर्मला पन्तको निर्जीव शरीर देखेको क्षणदेखि नै उनीहरु बेचैनीले घेरिएका छन् । खाने, सुत्नेको कुनै टुंगो छैन । छोरीको हत्यारा पत्ता लगाएर सजाय नदिलाएसम्म यी आमाबुबाको मनको जलन कसरी शान्त होस् ?

    जति-जति दिनहरु लम्बिँदै जान्छन्, उनीहरुको छटपटी बढ्दै जान्छ । त्यही छटपटी, पीडा र वेदनाले थिलथिलो भएको ज्यान लिएर काठमाडौं आएका उनीहरु भन्छन्, ‘छोरीले न्याय नपाएसम्म घर फर्कदैनौं ।’

    पन्त दम्पतीका दुई जोर फिका आँखा यही रंगीन महानगरमा मृतक छोरीका निम्ति न्याय खोजिरहेका छन् । त्यसैका निम्ति त हो, कञ्चनपुरबाट उनीहरु काठमाडौं हिँडेका । ठाउँ-ठाउँको पहिरो र जाम छिचोल्दै तीन दिनमा महानगर टेकेका छन्यी दम्पतीले ।

    बुधबार अनामनगरको एउटा सभाहलमा निर्मलाका बुबा र आमा सन्तापले जलेको शरीर लिएर पत्रकारसामु उपस्थित भए ।

    आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त थपक्क कुर्सीमा बसेका थिए । अघिल्तिरबाट सञ्चारकर्मीले घेरा हाले । पछिल्तिर उनीहरुकै साथमा आएका अधिकारकर्मी उभिएका थिए ।

    उनीहरुका भासिएका गहिरा आँखाहरु ओसिला देखिन्थे । अनुहार थकित थियो । हप्तौदेखि ती अनुहारबाट खुसीको रंग लुटिएको प्रष्टै बुझ्न सकिन्थ्यो । कति उदास, कति विक्षिप्त !

    त्यतिका दिनसम्म कति लडे होलान् न्यायको लडाइँ । कति कराए होलान्, कति उफ्रिए होलान् । कराउँदा कराउँदै आवाज भासियो ।

    उफ्रिदा उफ्रिदै ताकत निख्रियो  रुँदा-रुँदै आँखा भासिए । तर, यी निरीह दम्पतीले अहिलेसम्म न्याय पाएनन् । न्यायका निम्ति कहाँ-कहाँ भौंतारिए उनीहरु ? कति चोटपटक सहे । कति आरोप-प्रत्यारोप झेले । तर, न्याय साह्रै महंगो !

    ठेलामा चटपटे बेचेर गुजारा चलाउने पन्त दम्पतीले घाँटी सुक्नेगरी कराए पनि कसैले ठाडो कान गरेनन् । भीमदत्त नगरपालिकाका स्थानीयवासीले भने उनीहरुसँग दहि्रलो हातेमालो गरे । हत्यारा पत्ता लगाउन दवाब दिँदै सडकमा उत्रिए । तर, उल्टै उनीहरुमाथि दमन गरियो । लाठी, गोली बर्साइयो । त्यसै क्रममा अर्को एक दम्पतीले छोरो गुमाउनुपर्‍यो । कतिका छोराछोरी अस्पतालका शैयामा छटपटाइरहेका छन् अझै पनि ।

    निर्मलाका परिवारलाई सञ्चार माध्यमले साथ दिएका छन् । सारा समाज उर्लिएको छ निर्मलाको पक्षमा । देश-विदेशबाट दबाव आइरहेका छन् । तर, न्यायदाताले टेरपुच्छर लगाएका छैनन् । अनेकन नाटक मञ्चन भइरहेको छ सिंहदरबारमा ।

    ‘यति धेरै साथ पाउँदा त न्याय पाइँदैन’ निर्मलाकी आमा दुर्गादेवीले सञ्चारकर्मीमाझ गुनासो पोखिन्, ‘साथ नपाउनेहरुको अवस्था कस्तो होला ?’
    छोरी त्यसदिन आफूसँगै थिई । विद्यालय विदा थियो । छोरीलाई चटपटे दोकानमा छाडेर उनी किनमेलका लागि बाहिर गइन् । र्फकदाँ छोरी घरमा थिइनन् । साँझ पर्‍यो, छोरी फर्किइनन् । त्यसअघि निर्मला त्यसरी हराएकै थिइनन् ।

    मनमा चिसो पस्यो । कान्छी छोरीले भनिन्, ‘रोशनी दिदीले बोलाएर त्यतै गएकी छिन् । चटपटेको पैसा लिन बाँकी छ, नोटबुक पनि ल्याउनु छ ।’

    आमा दुर्गादेवी साँझमा रोशनी बम बस्ने घरको गेट अघिल्तिर पुगिन् । ‘निर्मला खोइ’ भनिन् । निर्मला दिउँसै घर फर्किएको जवाफ आयो । तर, छोरी त्यहाँबाट काहाँ जान्छे ? जाने ठाउँ थिएन । दुर्गादेवीले उनै रोशनीलाई केरकार गरिन् । रोशनीकी दिदी बबिता झर्किँदै आइन् र हप्काइन्, ‘तिम्री छोरी पोइल गइन् होला, त्यतै खोज । यहाँ आउने होइन ।’

    दुर्गादेवी घर फर्किइन् । छोरीको अत्तोपत्तो थिएन । प्रहरीलाई फोन गरिन् । प्रहरीले भन्यो, ‘आज राति भयो, भोलि खोजौंला ।’

    यसरी न्यायको आशा गरिएकाबाटै निराशा हात लाग्यो । र, त्यो उपक्रम आजसम्म जारी छ । न्याय कहिले पाउने ? थाहा छैन । तर, जबसम्म न्याय पाइँदैन, तबसम्म उनीहरु थाक्ने छैनन् । ‘न्याय नपाएसम्म हामी र्फकंदैनौं’ यसो भनिरहँदा निर्मलाका बुबा यज्ञराज रुमालले आँशु पुछिरहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal