News Portal

  • विशेष समाचार – ओबिराज आचार्य

    हिमाली संचार संवाददाता
    १९८६ पटक

    कुशें औशी

    भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व, आईतबार वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राएर मनाईएको छ ।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

    यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

    बाबु परलोक भइसकेकाले मन्दिर अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    कुशें औशीका अबसरमा नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो ।  वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न बागेश्वरी मन्दिरमा पुगेका हुन् ।

    शमशानघाट

    नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ स्थित शमसानघाट व्यवस्थित एवं सुन्दर बनाइदैछ ।

    हिन्दुहरुको शव जलाउने र गाडने ठाउँका रुपमा रहेको शमसान क्षेत्रमा थुपै्र संरचना निर्माण गरिनुका साथै शान्त र सफा बातावरण सिर्जना गरिदैछ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ र एकिकृत शहरी विकास आयोजना परियोजना कार्यान्वयनको संयुक्त पहलमा पीसीसी सडक निर्माण गर्नुका साथै अनावश्यक झारपात उखेलेर सरसफाई गरिएको छ ।

    शव जलाउने स्थानसम्म दाउरासहितका साधन लैजान असहज हुँदै आएकोमा अब सो समस्या दुर हुने भएको छ । परियोजनाको सात लाख ९५ हजार र वडा कार्यालयको दुई लाख लागतमा दुई सय १० मीटर पीसीसी बाटो निर्माण गरिएको वडा अध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिएका छन ।

    शमसानघाट सडक निर्माण उपभोक्ता समितीमार्फत कार्य अन्तिम चरणमा छ । वडा अध्यक्ष गुप्ताका अनुसार दाहसंसकारमा कुनै प्रकारको कष्ट व्यहोर्न नपरोस भन्ने उद्देश्यले बाटो निर्माण गरिएको हो । फूलका विरुवा रोपेर सौन्दर्यकरण गरिनुका साथै बत्ति जडान गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

    शव जलाउने ठाउँ वरिपारि झारपात बढेर सर्प, विषालु किराहरुको डर भएपछि डोजर लगाएर झारपात उखेर सफा गरिएको छ । गुप्तासहितको टोलीले शमसानघाट सडक निर्माणको अनुगमन समेत गरेको छ ।

    प्रेसमीट

    चर्चित कलाकर्मी बिपुल क्षेत्री आगामी असोज १३ गते नेपालगन्ज आउने भएका छन ।

    नेपालगन्जको सांगितीक क्षेत्रमा सक्रिय समसाईन स्टेरीयोले आयोजना गर्न लागेको सांगितिक कन्सर्टका लागी क्षेत्री नेपालगन्ज आउन लागेका हुन । आईतबार आयोजकले पत्रकार सम्मेलन गरि सो जानकारी दिएको छ ।

    कन्सर्टमा नेपालगन्जमा रहेका स्थानिय ब्यान्ड आवाज ब्याण्ड र प्याराडाइज ब्याण्डको समेत प्रस्तुती रहने आयोजक संस्थाका ब्यवस्थापक पुष्कर हमालले जानकारी दिएका छन ।

    क्षेत्री नेपाली संगीतका समसामयिक पप तथा लोक/पप गायक, रचनाकार एवम् संगीतकार हुन् । क्षेत्री दार्जलिङ्गमा रहेर नेपाली पप गितहरु गाउने गर्दछन । उनको पहिलो एल्वम सन् २०१४ को स्केचेस अफ दार्जी्लिङ हो ।

    सांगितिक कन्सर्टको तयारी तिब्र रुपमा अघि बढिरहेको मिडिया कोअर्डिनेटेर प्रज्जवल श्रेष्ठले जानकारी दिएका छन ।

    पुस्तकालय दिवश

    नेपालगनजमा आईतबार बहुभाषिक काब्य गोष्ठीको आयोजना गरिएको छ । ११ औं राष्ट्रिय पुस्तकालय दिवश तथा मोती जयन्ती समारोहको अवसरमा नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले सो गोष्ठीको आयोजना गरेको हो ।

    प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्तको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा  साहित्यकार एवँ प्राध्यापक गोपाल प्रसाद अधिकारी  रहेका थिए । बेचनलाल गुप्ताले संचालन गरेको कार्यक्रममा यस क्षेत्रका बरिष्ठ साहित्यकारहरु सच्चितानन्द चौबे, अब्दुल लतिफ शेष, डा. छत्रपाल अग्रवाल, श्यामानन्द सिंह, बिष्णु कुमाल, पवन श्रेष्ठले आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा उर्दु, नेपाली, अवधी साहित्य प्रस्तुत गरिएको थियो । त्यसै गरि गोष्ठीमा सहभागीहरुले पुस्तकालयको औचित्य र महत्वका बारेमा धारणा राखेका थिए ।

    प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमण फलदायी भएको बताउनुभएको छ ।

    भारत भ्रमणबाट फर्केलगतै आईतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भारतमा भएको उच्चस्तरीय भेटघाट तथा छलफलबाट आफ्नो भ्रमण समग्रमा फलदायी भएको बताउनुभएको हो । उहाले आफ्नो भारत भ्रमणका बेला नेपालमा विकास र समृद्धि होस भन्ने चाहना भारतीय नेताहरुको देखिएको जानकारी दिनुभयो ।

    दाहालले भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेट गरेको भन्दै दुईपक्षिय हित र समझादारीका बिषयमा नै छलफल केन्द्रित भएको जिकिर गर्नुभयो ।

    उहाले फेरि एसियामा मिलेर अर्थतन्त्र र सभ्यतालाई स्थापित गर्नुपर्छ भन्ने रणनीतिक कुरा चीनका राष्ट्रपतिसँग भएको मोदीले आफूसँग राखेको बताउनुभयो । त्यस्तै तराईमा डुबान, विराटनगरको अफिस हटाउने लगायतका विषय समाधान भइरहेको भन्दै अन्य समस्यालाई पनि तत्काल समाधान गर्दै जाने कुराकानी भएको उहाले जानकारी दिनुभयो ।

    फरक प्रसंगमा अध्यक्ष दाहालले मन्त्री फेरबदलबारे प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नै आधिकारीक भएको बताउनुभयो।

    आफुले गल्ती गर्नेलाई कारबाही हुन्छ भन्ने सन्दर्भमा त्यो कुरा भनेको उहाले स्पष्ट पार्नुभयो । अध्यक्ष दाहाललाई बिमास्थलमा नेकपाका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत नेताहरुले स्वागत गरेका थिए ।

    बिपी जयन्ती

    नेपाल काग्रेसका नेताहरुले सरकार एकात्मक राज्यप्रणालीको बाटोमा अघि बढेको भन्दै काग्रेस त्यस विरुद्ध एक भएर उभिनुपर्ने बताएका छन् ।

    १०५ औ वीपी जयन्तीका अबसरमा नेपाली काग्रेसले पार्टी कार्यालय सानेपामा आईतबार आयोजना गरेको कार्यक्रममा उनीहरुले उनीहरुले सरकार दुईतिहाइको दुरुपयोग गर्दे अघि बढ्न खोजेको भन्दै काग्रेस एक भएर त्यसको विरोध गर्नुपर्ने बताएका हुने ।

    लोकतन्त्र संकटमा पर्नेगरी सत्तारुढ दलले काम गरेको आरोप लगाउँदै उनीहरुले कम्युनिष्ट सरकार अधिनायकवाद लाद्न उद्दत भएको आरोप लगाए । कार्यक्रममा काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको चूनौतिको सामापना गर्न कांग्रेस एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    बिपीले सामन्ती युगलाई परिर्वतन गर्दे आधुनिक युगमा ल्याउन भूमिका खेल्नुभएको स्मरण गर्दे समाज रुपान्तरणको मुद्धामा काग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै काग्रेस उपसभापति बिमलेन्द्र निधीले मुलुकमा आएको संघियता र लोकतन्त्र सरकार कै कारण खतरामा परेको आरोप लगाउनुभयो ।

    संघियतालाई बलियो बनाउन काग्रेसले कडा रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा काग्रेस नेता प्रदीप गीरिले बिपीको मार्गनिर्देशनलाई आत्मसाथ गर्दे मुलुकमा आउने चूनौतिलाई सामना गर्नुपर्ने जिकिर गर्नुभयो।

    त्यस्तै अन्य नेताहरुले बिपीको बाटोलाई काग्रेसले भुल्न खोजे जनताले माफ नगर्ने बताएका थिए ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

    भारत निर्वासनकै क्रममा जहानिया राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

    विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

    क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्नुभएको छ ।

    हेलिकप्टर दुर्घटना शव काठमाडौंमा

    नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाको शव आईतबार काठमाडौँ ल्याइएको छ । ज्यान गुमाएका ६ जनाको शव अल्टिच्युड एयर, हेली एभरेष्ट र सिम्रिक एयरका तीन हेलिकप्टरले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याएका हुन् ।

    हेलिकप्टरमा पाइलटसहित सातजना रहेकोमा ६ जनाको ज्यान गएको हो । एकजना यात्रु भने बाँच्न सफल भएकी छन् । दुर्घटनामा बाँच्न सफल आनी डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया छिरी शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् । मृतकको त्रिविमै पोस्टमार्टम हुनेछ ।

    गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार  नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त भएको थियो ।

    अर्थ समिति           

    राष्ट्रिय योजना आयोगले आगामी ३ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दुई अंक नजिक पुग्ने प्रक्षेपण गरेको छ ।

    सिंहदरबारमा आईतबार बसेको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव लक्ष्मण अर्यालले आर्थिक वर्ष ०७७–०७८ सम्म आर्थिक वृद्धि ९.५ प्रतिशत हुने अनुमान गरेको बताउनुभयो । त्यस्तै आगामी आर्थिक वर्ष ०७६–०७७ मा ९.१ प्रतिशत हुने अनुमान गरिएको उहाको भनाई छ ।

    आयोगको भूमिका, बिगतका प्रयास र भावि कार्यदिशाका बारेमा समितिलाई जानकारी गराउदै अर्यालले ३ वर्षमा कृषि क्षेत्रको ६.६ र गैरकृषिको १०.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

    सो अवधिमा गैरकृषि मध्ये उद्योगको १४.९ र सेवा क्षेत्र ९.४ प्रतिशतले विस्तार हुने पनि उहाले बताउनुभयो ।

    यस्तै सन् २०२२ सम्म ७५३ स्थानीय तहमा ऊर्जा र स्वास्थ्य सेवा पुर्याउने र सोही वर्ष विकाशशील मुलुकमा स्तरोन्नोती हुने, सन २०३० सम्म मध्यम आय भएको मुलुकको स्तरमा नेपाललाई पुर्याउने सरकारको लक्ष्य पुरा गर्नका लागी २ खर्ब १६ खर्ब चाहिने बताउनुभयो ।

    उहाले राजनीतिक स्थायीत्वपछि मुुलुकको आर्थिक बृद्धि दर बढ्ने पनि बताउनुभयो ।

    लक्ष्मण अर्याल – सदस्य सचिव राष्ट्रिय योजना आयोग

    बैठकमा समिति सदस्यहरुले गरिवीको रेखामुनी रहेकाको संख्यालाई कम गर्न योजना आयोजले गरेको तयारीका बारेमा प्रश्न गरेका थिए । उनीहरुले कृषकलाई सुविधा दिनेतर्फ सोच्न पनि योजना आयोगको ध्यानाकर्षण गराएका छन् ।

    रामकुमारी झाँक्री, सासंद

    व्यापार घाटा कम गर्न र लक्ष्य अनुसार  आर्थिक वृद्धिदर पछ्याउन राष्ट्रिय योजना आयोगले गरेका योजनाका बिषयमा पनि बैठकमा सांसदहरुले प्रश्न उठाएका थिए ।

    भूमिसुधार मन्त्रालय पत्रकार सम्मेलन

    सरकारले नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै निकायलाई निर्देशन दिएको छ ।

    आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे मन्त्रालयले गलत नक्सा र निसान छाप प्रयोग नगर्न आग्रह गर्दे आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो ।

    पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्नका लागी सबै सरकारी निकायलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

    उहाले नक्सा र निसान छापमा देखिएको त्रुटीका बिषयमा छानबिन गर्न र आधिकारिक नक्सा स्थापित गर्न अनुमगन समिति बनाईएको बताउनुभयो ।

    मन्त्री अर्यालले निःशुल्क वा केहि कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने तयारी सरकारले गरेको भन्दै सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा हटाईने बताउनुभयो ।

    त्यस्तै उहाले बजारमा बिक्रि बितरणमा राखिएको नक्सामा निकै त्रुटि रहेको भन्दै ती नक्साहरु पनि हटाईने जानकारी दिनुभयो ।

    गाँउपालीका महासंघ

    सरोकारवालाहरुले स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि भएको दाबी गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको करको प्रणालीका तत्कालीन सवालहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिले करको दायरा बढेकाले अहिले सञ्चार माध्यममा करका विषयमा आएजस्तो समस्या नभएको बताएका हुन् ।

    कार्यक्रममा  प्रदेश नंं ३ का आर्थिक तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कर र सेवा दुवैलाई सन्तुलन गर्ने खालले कर स्थानीय तहले लगाएको प्रष्ट पार्नुभयो । पहिले कर लिने गरेपनि अहिले स्थानीय तहले लिने करको दायरा बढेकाले बढी कर लिएको जनतालाई आभास भएको उहाँको भनाइ थियो ।

    त्यस्तैराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव गोपीकृष्ण खनालले जनताको प्रत्यक्ष फाइदा पुग्ने कुरामा मात्र कर लगाउनुपर्ने बताउनुभयो ।

    त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले स्थानीय तहलाई दिइएको अधिकारअनुसार नै कर लिएको भन्दै स्थानीय तहले पहिलो पटक करको अभ्यास गरेकाले केही प्राविधिक समस्या मात्र देखिएको बताउनुभयो ।

    कार्यक्रममा महासङ्घका महासचिव वंशलाल तामाङले कानूनमा रहेर कर लिएको तथा नयाँ नगरपालिकाले उठाएको करलाई सञ्चार माध्यममा अनावश्यक प्रचार गरिएको गर्नुभयो ।

    बीमा सम्मेलन पत्रकार सम्मेलन

    प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहन गर्ने क्षमता खोज्न बिभिन्न २० देशका बीमा कम्पनीको सम्मेलन नेपालमा हुने भएको छ ।

    बिमा समिति र नेपाल बीमक संघले आईतबार पत्रकार सम्मेलन गर्दे असोज ९ र १० गते २० देशका बीमा कम्पनी र नियामक निकायबिचको सम्मेलन काठमाडौंमा हुन लागेको जनाएको हो ।

    विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिजको २१ औं सम्मेलन मा प्राकृतिक विपत्ती र साइबर क्राईमको जोखिम बहनबारे छलफल हुने आयोजकले जनाएको छ ।

    सम्मेलनमा २० देशका १५० भन्दा बढि इन्स्योरेन्स कम्पनी तथा नियामक निकायका प्रतिनिधीहरुको सहभागीता रहनेछ । सम्मेलनले विकासोन्मुख मुलुकहरुमा अत्याधिक जोखिमका रुपमा देखिएको प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहनबारे व्यापक छलफल हुने नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले जानकारी दिनुभयो।

    पाण्डेले सम्मेलन मार्फत अन्य विकासोन्मुख मुलुकका बीमा कम्पनीले अवलम्बन गरेका अभ्यास ग्रहण गर्ने र आफ्ना अनुभव सुनाउने बताउनुभयो ।

    एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ भने यस पटकको सम्मेलन नेपालले आयोजना गर्न लागेको हो ।

    राखेप ऐन परिवर्तन

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नयाँ संघीय संरचनाअनुसार खेलकूदलाई पनि अगाडि बढाउनुपर्ने भएकाले ऐन परिवर्तन गर्न लागिएको बताएका छन् ।

    मन्त्रालयले तयार पारेको खेलकूद ऐन–२०७५ को मस्यौदामाथि शनिवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित अर्किड होटलमा आयोजना गरेको छलफल कार्यक्रममा उनले खेलकूदलाई के गर्दा राम्रो हुन्छ, त्यसैअनुसारको नीति नियम बनाउने बताए ।

    मन्त्री विश्वकर्माले सरोकारवाला सबैको धारणा बुझेर उत्कृष्ट ऐन निर्माण गर्न छलफल महत्वपूर्ण सावित हुने बताउदै छुटेका सुझावलाई लिखित रुपमा पनि पेश गर्न सकिने बताए ।

    मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नयाँ ऐन ल्याएर राखेपमा मन्त्रालय हाबी हुन नखोजेको बताउँदै सङ्घीय ढाँचाअनुसार जानैपर्ने आवश्यकताले नयाँ ऐन आवश्यक भएको स्पष्ट पारे ।

    राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सरोकारवालासँग मस्यौदामा छलफल गरी प्राप्त राय र सुझावलाई ऐनमा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

    कार्यक्रममा सहभागीहरुले विद्यालय तहदेखि नै खेलकुदको आधार खडा गर्नु पर्ने, खेलाडी जीवन पछि खेलाडीको भविष्य सुनिश्चित गर्ने विषयमा ध्यान दिनु पर्ने, राखेपलाई स्वायत्त संस्थाका रुपमा स्थापित गर्नु पर्ने, एकै प्रकृतिको दुई खेल संघ दर्ता हुन नहुने, खेलकुदमा निजी क्षेत्रको लगानीमा कर छुट हुनुपर्ने, एक व्यक्ति एक पदाधिकारीको अवधारणा लागू गर्नु पर्ने, संविधानमा खेलकुद बाल वालिकाको मौलिक हकका रुपमा स्थापित गरिएकोले उनीहरुलाई लक्षित गरी खेलकुदका कार्यक्रम र भौतिक पूर्वाधारको विकास गर्नु पर्ने, गल्ती गर्नेलाई दण्डको कडा व्यवस्था गर्नु पर्नेलगायतका धारणा राखेका थिए ।

    कार्यक्रममा राखेपका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी सङ्घ, नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, राखेप कर्मचारी सङ्घ, नेपाल ओलम्पियन संघलगायतका प्रतिनिधिले ऐनको मस्यौदामाथि सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal