News Portal

  • गुलाबी शहरको पुष्प सम्मेलन

    खगेन्द्र गिरि ‘कोपिला’
    ३३८ पटक

    पारिलो घामले निधार चुम्नै लाग्दा छोडेका हौं हामीले नेपालगंज। कृष्णप्रसाद आचार्य र प्रकाश सङ्गमले गणेशमान चोकनिर गरेका थिए हाँसेर हाम्रो बिदाई। सररर अटोरिक्साले एकैछिनमा पुर्‍याएको थियो जमुनाहा भन्सार। रिक्साबाला र नोट साँट्नेहरुको कोकोहोलो छिचोलेर हामीले लखरक्लखरक हिडेरै पार गर्‍यौ नेपाल भारत सीमाना। सिमाना पारगर्दा कस्तोकस्तो अनौंठो छाल उर्लिएको थियो मनभित्र। अघि नेपाली भूमिमा रहँदाको न्यानोपन पग्लिन लागेको हो सिमानानिरको नेपालद्वार पार गर्दैगर्दा। भारतीय भूमि छोएपछि त पग्लिन थालिहाल्यो मनको आद्र्धता सुस्तसुस्त।

    भारतीय भूमिमा पाइला टेक्ने बित्तिकै पहिलो काम भयो भारतीय सिमलाई एक्टिभ गर्नु। दीर्घराज गिरिको सिम त तुरुन्तै एक्टिभ भै हाल्यो, मैले बोकेको सिम भने एक्टिभ हुन भएन। कसैले प्याकेज हाल्नु कसैले मुल ब्यालेन्स हाल्नु भनेर सल्लाह दिए तर केही गरे पनि फोन नजाने भयो। ट्याक्सी चढेर लाग्यौं हामी लखनौतर्फ। मोबाइलको सिमले काम नगर्ने भएपछि मनै न्यास्रो भएर आयो। तीब्र गतिमा गुडिरहेको ट्याक्सीमा हल्लिदैहल्लिदै अघि बढिरहेका छौं हामी। बाटो वरपरका दृश्यहरुले खासै तान्न सकेनन् हामीलाई। बाटोमा विशाल कर्णाली नदी आयो। यसलाई भारतमा घाघरा भन्दछन्। ‘फेरि तरियो कर्णाली फुपा’ अघिदेखि उङिरहेका मेरा सहयात्री दीर्घराज प्रियसी बोले यसपटक।

    लखनौ पुग्नै लाग्दा एकठाउँमा जिओको सर्भिस सेन्टर देखेपछि ट्याक्सी रोक्यौं। मैले जिओको सिम बोकेको थिएँ। भारत आउँदा काम लाग्छ भनेर मलाई दिनु भएको स्वामी निर्मल चैतन्य स्वामीज्यूले। कार्तिकदेखि मैले नचलाएको हुनाले निस्क्रिय भैसकेको रहेछ त्यो। पसलवालाले फेसबुक चल्ने र भ्वाइसमेलबाट कल जाने बनाइदियो। भारतमा रहुन्जेल डाटा भने अन नै गरिराख्नु पर्ने भो। ‘नहुनु मामा भन्दा कानो मामा जाती’ भन्ने उखान सम्भिंmदै बुझाइयो चित्त।

    घामले ओरालो लाग्ने तरखर गरिरहँदा हामी मिसिन पुग्यौं लखनऊको भीडभाडमा। हुन त धेरै पटक आइयो नेपालगंजदेखि १९५ किलोमिटरको दुरीमा रहेको यस शहरमा। जति घुमे पनि सकिन्न घुमेर यो शहरका साँगुरा गल्लीहरु। हेर्नु र घुम्नु अझै कति बाँकी छ कति? कहाँबाट शुरु गयौँ

    बाँकी रहेका दृश्यहरु बटुल्न ? भीडभाडको उकुसमुकस पन्छाएर निस्फिक्री डुल्न पनि त सजिलो छैन यहाँ। फुपा जता लागिस्यो म त नयाँ नै हुँ केरे यो ठाउँको लागि?’ मलाई सुम्पिए गाइडको अभिभारा दीर्घराज प्रियसीले। झोलाझाम्टा पोका पन्तराहरु गौतम बुद्ध मार्गस्थित होटल शिवमा थन्क्याएर हामी चारबाग रेल्वे स्टेशन पुग्यौं र चढ्यौ लखनऊको मेट्रो रेल। यस विशाल शहरको परिभ्रमण आज उत्तरप्रदेशको सत्ताको केन्द्रबाट गरौं न भनेर ओर्लियौं सचिवालयमा। अग्लाअग्ला ढुङ्गे भवनहरु छरिए आँखाअगाडि।

    मुख्यमन्त्रीको कार्यालयको प्राङ्गणमा उभिएको अटल विहारी वाजपेयीको विशाल प्रस्तर प्रतिमाले तान्यो हामीलाई। गयौं र चढायौं श्रद्धासुमनहरु नेपाललाई माया गर्ने ती महान व्यक्तित्वलाई। प्रखर वक्ता वाजपेयी मलाई खुबै मन पर्नुमा उनी हिन्दुबादी चिन्तक हुनुमात्र नभएर उनी कवि हुनु पनि हो।

    सडकको पारिपट्टि मुस्कुराइरहेको छ विधानसभाको विशाल भवन, अनि अलि पल्तीर ठडिएको छ त्यस्तै अर्को भवन। परपर त्यस्तै आकृतिका अग्लाअग्ला थुप्रै भवनहरु छन्। यो उत्तर प्रदेशको सत्ताको केन्द्र विन्दु हो। त्यहाँ भेटिए सूर्यभान सिंह नाम गरेका एकजना पुलिस इन्स्पेक्टर। सचिवालयको सुरक्षामा खटिएका प्रहरी रहेछन् उनी। हामी नेपालबाट आएको भनेपछि स्नेह प्रकट गरी हाले उनले। सचिवालय परिसर घुमाइदिए र धेरै जानकारी पनि दिए हामीलाई। प्रायः हरेक जसो भारतीयले पोख्ने चिन्ता उनले पनि पोखिहाले — ‘नेपाल मे राजतन्त्र को नहीं हटाना चाहिए था, नेपाल को हिन्दु राष्ट्र ही रहने देना चाहिए था, वह तो देवभूमि है’, यस्तैयस्तै।

    ‘क्या करें समय उल्टा चल रहा है?’ भन्नु बाहेक अरु केही उत्तर थिएन हामीसंग। २२ करोड जनसङ्ख्या भएको उत्तरप्रदेश विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त हो। विश्वका चार वटा देश बाहेक अरु सबै देशको जनसङ्ख्या भन्दा बढी जनसङ्ख्या छ यस प्रदेशमा। यति ठूलो प्रदेशको राजधानी लखनऊ पुरानो कला र नयाँ चेतनाको संगम हो। हिन्दु र मुस्लिम संस्कृतिको समागम पनि हो। आधुनिक विकास र पुरातन शैलीको टकराव भैरहने शहर पनि हो यो। लखनऊका भित्री टोलहरुमा निकै फोहोर र अस्तव्यस्तता देखिए पनि नयाँ बस्तीहरु भने सफा र सम्पन्न देखिन्छन्। सचिवालय क्षेत्र लखनऊको भीडभाड र फोहोरबाट मुक्त देखियो।

    हामी सडक वरपर भवनहरुसंग आँखा साटेर लाग्यौं राजभवनतर्फ। विधान सभा भवनको पछाडिपट्टि अग्लाअग्ला रुख, वृक्षहरुको बीचमा लुकेको छ राजभवन। आज त्यहाँ पुष्प प्रदर्शनी चलेको रहेछ। दस रुपियाँको टिकटमा प्रवेश गर्न पाइयो। भित्र फूलहरुका अनेक स्टलहरु सजाइएका छन्। सिंगो लखनऊका सम्भ्रान्तहरु उर्लिएका छन् त्यहाँ। हजारौं प्रजाति र सयौं रङका फूलहरुको साम्राज्य छरिएको छ राजभवनको प्राङ्गणमा। नामै नसुनेका र थाहै नपाएका अनेक थरी फूलहरु देख्दा हृदय प्रफुल्लित भएर आयो।

    मलाई त फूल भन्दा पनि लखनऊका सम्भ्रान्तहरुको सुन्दरता र शालीनताले लोभ्यायो। यति राम्रा मान्छेहरु पनि छन् भारतमा ? प्रश्न गरेँ सहयात्री दीर्घराजसंग। अझ मुम्बईमा झन् कति राम्रा मान्छे हेरिस्सेला फुपा !’ उनको उत्तरले म रुपैडिया, नानपारातिर भेटिने मान्छेहरुको कोकोहोलो र टर्रो व्यवहार सम्झिन पुगेँ। कहाँ हामीले भेटिरहने भारतीयहरुको त्यो झगडालु रुप? कहाँ आज भेटिएका लखनऊका सम्भ्रान्तहरुको शालिनता? कति व्यापक अन्तर छ एउटै देशका नागरिकहरुको स्वभावमा पनि।

    सेतो रङ्ग पोतिएको राजभवन खासै ठुलो होइन तर यसको फराकिलो परिसर, सजाइएको प्राङ्गण र बगैंचा भने निकै सुन्दर लाग्यो । राजभवनका भित्री कक्षहरु पनि आज खुला नै रहेछन् । राज्यपालको कार्यकक्ष, अतिथिहरुसंग भेटघाट गर्ने कक्ष, सरकारी समारोह गरिने कक्ष र भोज हुने कक्षहरुको सजावट आकर्षक र झकिझकाउ छ। धीत नमरुन्जेल डुल्यौं, हे¥यौं र चित्र लियौं। राजभवनबाट बाहिर निस्किदा झमक्क साँझ पर्न लागिसकेको थियो। हाम्रा खुट्टा थाकिसकेका थिए तर चञ्चल आँखाको कुतुहलता भने उस्तै थियो।

    लखनऊको पहिलो रात राजभवनका राजसी दृश्यहरुको रिमरिम सम्झना केलाउँदै बित्यो। यो दुई हजार छहत्तर साल फाल्गुण एघार गतेको कुरा हो। भोलिपल्ट बिहानको हाम्रो गन्तव्य बन्यो अम्बेडकर पार्क। यसलाई भीमराव अम्बेडकर सामाजिक परिवर्तन प्रतीकस्थल भनिंदोरहेछ। गोमती नदीको किनारामा रहेको यो पार्क फूल र मुर्तीहरुको अनुपम संकलन हो। रातो संखमरमरले बनेका अनगिन्ती मुर्ती, साना ठूला देवालयहरु र हात्तीका आकृतिहरु छरिएका छन् गोमतीको किनारामा।

    परपरसम्म छरिएको यस पार्कको विहङ्गम दृश्यले मानव शिल्पका अनुपम नमुनाहरु पस्किरहेको छ। उत्तरप्रदेशमा मायावती हुँदा सन् २००८ मा बनाएर सकिएको हो यो पार्क। यसलाई सामाजिक आन्दोलनको प्रतीकको रुपमा चित्रण गर्न खोजिएको भए पनि यो एउटा निश्चित समुदायप्रति सङ्कुचित पूर्वाग्रह तथा अर्को समुदायप्रति पक्षपाती आग्रह राखेर बनाइएको पार्क मानिंदो रहेछ। मायावतीले आफ्नो पार्टीको चुनाब चिन्ह ‘हात्ती’को प्रचारको लागि बनाइएको भनेर यसको विरोध पनि गरिएको थियो। राजनीतिका कारणहरुलाई बिर्सेर हेर्ने हो भने यस पार्कको कला र सजावटको भने प्रशंसा नगरी रहन सकिन्न।

    लखनऊका अन्य भागमा निकै फोहोर देखिने गोमती नदी यो पार्कको बीचैबाट बगेर पुर्वतिर लाग्छ। यहाँबाट देखिने गोमति भने सफा देखियो। सरसफाईको व्यवस्थापन गर्न चाहाने हो भने नसकिने होइन रहेछ। नदीमाथि बनेको पुलको छेऊछाउमा गुलाबी रङका मुर्तीहरु राखिएका छन्। भीमराव अम्बेडकर, ज्योतिराव फुले र काशीराम जस्ता सामाजिक न्यायको लागि आजन्म संघर्षरहत अनेकौं भारतीय राजनीतीज्ञ र समाज सुधारकहरुका मुर्ती उभिएका छन् यस पार्कमा।

    कुनै गुलाबी रङ्का त कुनै सेतो रङका छन् । सबैजसो आकृतिहरु संखमरमरबाट नै बनेका छन्। कहाँबाट ल्याइयो होला यति धेरै संखमरमर? मनमा उठिरहे थुप्रै जिज्ञासा। यो पार्क एक सय आठ एकड भूभागमा फैलिएको छ रे। ‘यो पार्क करिब—करिब भेटिकन सिटी भन्ने देश जत्रै छ’ भन्नु भएको थियो लखनऊका मित्र नन्द किशोर वर्माले।

    सबै मुर्तीहरु एकएक गरी हेर्दै ती व्यक्तिहरुको महिमा पनि बुझ्न थाल्ने हो भने त महिनौं लाग्ला। पार्कका बाटोहरु, पेटी, फूल र हात्तीका भीमकाय आकृतिहरु जति हेरे पनि सकिन्नन्। तेरह वर्ष लागेको गियो रे यस पार्कको निर्माण सम्पन्न गर्नमा । गरिब देशमा अरबौं रुपियाँ खर्च गरेर यत्रो पार्क बनाउनुको केही औचित्य छैन भनेर जनस्तरमा विरोध पनि नभएको होइन तर आज आएर लखनौंको प्रमुख आकर्षणकेन्द्र भएको छ यही पार्क। फूल र कलाको सुन्दर सजावटको अनुपम नमूनाको रुपमा चिनिन्छ यो अहिले।

    गुलाबी रङका महलहरुको शहर लखनऊलाई पुरानो जमानामा नबाबहरुको शहर भनेर चिनिन्थ्यो। नबाबहरुको शान शौकत, रबाफ र भड्किलो जीवनशैलीको त अङंरेजहरु पनि ईष्र्या गर्थे रे। लखनऊका नबाबहरु गीत, संगीत, कला, साहित्य र सुन्दरताका पनि पारखी थिए रे। सन् १८५७ को गदर

    विद्रोहमा लखनऊका नबाबले अङ्रेजको विरोध गरेपछि सोको दमन गर्न अङ्रेज सरकारले नेपालका शाशक जंगबहादुर राणालाई सहयोग मागेका थिए। जंगबहादुर राणाको नेतृत्वमा गएको नेपाली सेनाले नबाबको सेनालाई परास्त गरेको थियो। जङ्गबहादुर राणाको सहयोगबाट खुसी भएको अङ्रेज सरकारले बाँकेदेखि कञ्चनपुर सम्मको करिब १० हजार वर्ग किलोमिटर भूभाग नेपाललाई उपहार दिएको थियो।

    लखनऊको गुलाबी शहरसंग हाम्रो साइनो त्यो बेलादेखिको हो। लखनऊ पुगेका नेपाली सैनिकहरुको सोझोपन र अबोधताको एउटा कथा प्रायःजसो अनेक प्रसङ्गमा अझैं सुन्न पाइन्छ। नेपाली सैनिकलाई नबाबको सम्पत्ती लुटेर अङ्रेज प्रशासकलाई बुझाउने आदेश दिइएको थियो रे। हीरा, जवाहरात, सुन चाँदीहरु फुटालेर त्यसभित्रको जनैजस्तो डोरीलाई बहुमूल्य ठानेर त्यो मात्रै लगेर गएका थिए रे नेपाली सैनिकहरुले। जसलाई इतिहासका पानामा लखनऊ लुटको नामले चिनिन्छ। लखनऊको पुरानो रौनक त्यही बेला अस्त भएको हो। नयाँ रौनक थपिन भने वषौं कु¥यो यो शहरले।

    हुन त ३० लाख जनसङ्ख्या भएको लखनऊ शहरमा इतिहासका चिनारी र आधुनिकताको प्रतीकको रुपमा चिनाउने थुप्रै कुराहरु छन्। बडा इमामबाडा, छोटा इमामबाडा, छत्तर मञ्जिल, रुमि दरबाजा, भूलभुलैया र नबाबहरुले बनाएका अनेकौं पुराना दरबारहरुले यो शहरको पुरानो रौनकलाई सम्झाइरहेका छन् अझै। हाम्रा आँखा भने त्यतातिर कतै अडिएनन्। मेट्रो रेल, मेट्रो स्टेशनहरु, ज्युलोजीकल गार्डेन र ठूलाठूला सिनेमाहल, मलहरुले लखनऊको आधुनिक विकासको गतिलाई उजागर गरिरहेका छन्।

    हाम्रो मन डुलिरह्यो तीनै फूलका गुलाबी रङहरुमा। कुनै भौतिक बस्तुले पनि तानेन हाम्रो मनलाई। यी देखिदै आएका, हेरिदै आएका बस्तुहरु भन्दा निकै भिन्न फूलहरुको पृथक संसार देखियो यस पटक। गुलाबी शहरका यी फूलहरुले लखनऊको नौलौ गाथा कोर्न लागे जस्तो आभास भै रह्यो। ताजा फूलहरुलाई आँखामा राखेर फूलको सम्झना नओइलाउँदै दीर्घराज प्रियसीले त एउटा शेर सुनाई हाले :
    ‘कोही आएर नजर उतार्नुहोस् मेरो
    म उनलाई भेटेर भर्खर आएको छु।’

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal