News Portal

  • नेपाल सबैको पहुँचमा कहिले पुग्ने?

    उत्तरा घिमिरे
    ३३ पटक

    यतिबेला ‘भिजिट नेपाल २०२०’ धुमधामले मनाउने तयारी हुँदैछ। केही समयअिघ सरकारले पर्यटन वर्षसम्बन्धी जारी गरेको लोगोको निकै आलोचना भयो। कतिले पर्यटन मन्त्रीको छाता मोहमा व्यंग गरे कतिले नेपाल नेवारी संस्कृति र हिमालको मात्र देश होइन भन्ने तर्क गरे। फेसबुक /ट्विटरमा यस्तै तर्कहरु पढ्दै थिएँ त्यहिबेला सम्झेँ, मैले काम गर्ने फोटो स्टिुडियोकी एक ग्राहकलाई।

    क्रिसमसको समय थियो। मैले काम गर्ने स्टुडियोमा उनीहरु चार जनाको परिवार फोटो खिच्न आएका थिए। त्यही क्रममा मलाई ती महिलाले सोधिन्, ‘तिमी कुन देशबाट?”नेपालबाट,’ मैले भनेँ।

    ती महिला एकाएक उत्साहित भइन्। ‘हामी सपरिवार नेपाल जाने कि अरु कुनै देश घुम्न जाने भनेर सल्लाह गर्दै थियौँ।’मैले मौकामा भन्न किन बिर्सन्थेँ, ‘अरु देश किन जानु, नेपाल जानुपर्छ।’ मेरा शब्द भुइँमा झर्न पाएकै थिएनन्, ह्विलचियरमा बसेको आफ्नो १२ वर्षीय छोरा देखाउँदै उनले भनिन्, ‘नेपालको पहाडमा म कसरी यसलाई लिएर जाउँला?’

    उनको सवालले म बोल्नै सकिन। बरू रत्न राज्यलक्ष्मी कलेजमा एमए पढ्दा ह्विलचियरमा आउने साथीलाई सम्झेँ। उसले भोग्नुपरेको सकस मेरो आँखैअघि झल्झली आइरह्यो।

    कलेज आउन बाटोमा उसले झेलेका दु:ख कति थिए होलान्! हामीले त कलेज आइसकेपछि उ भर्‍याङको सबैभन्दा तल्लो खुट्किलामा कसले माथि पुर्‍याइदेला भन्दै कुरेर बसेको देख्थ्यौँ। अल्लि बल भएका साथीहरुले उचालेर कक्षासम्म लैजान्थे। बल्ल उसले पढ्न पाउँथी। उसले आफ्नो आत्मबलका कारण विश्वविद्यालयसम्म पढ्न सकेकी हो! राज्यले त उनीहरूका लागि कागजमा सुविस्ता दिएर व्यवहारमा बाँच्न मुश्किल बनाएको छ।

    यो सब कुरा म ती ग्राहकलाई भन्न सक्दिनथेँ। तै मुसुक्क हाँसेर भनेँ- नेपाल पहाडै पहाडको देश मात्र हैन नि। त्यहाँ समथर भूमि पनि छ, बच्चाहरुका लागि आधुनिक पार्कहरु छन्, ऐतिहासिक म्युजियमहरु छन्! तर, मैले भन्न सकिन – नेपाल शारीरिक रुपमा अपागंता भएका मानिसको पहुँचमा पनि पर्छ। अहिले संसारभर ‘एक्सिसबल टुरिजम’ अर्थात सबैको पहुँचयुक्त पर्यटन बहसको विषय बनेको छ ।

    राष्ट्रसंघको एक प्रतिवेदनअनुसार संसारभर शारीरिक अपांगता भएका मानिस एक अर्ब छन्। करिब दुई अर्ब मानिस ती अपागंता भएकासँग कुनै न कुनै तरिकाले सम्बन्धित छन् । यति ठूलो संख्यामा रहेका सम्भावित पर्यटक आकर्षण गर्नुपर्छ भन्ने हाम्रो देशका नीति निर्माताले सोचेजस्तो लाग्दैन।

    युरोप लगायत अधिकांश विकसित राष्ट्रहरुमा अपांगता भएका व्यक्तिहरुका लागि सडक, सार्वजनिक बस, शौचालय तथा पार्कहरुमा सुविधा दिइएको देखिन्छ। अरु देशमा के छ र छैनको तुलना भन्दा नेपालका कम्तिमा सहरमै भए पनि किन यस्तो व्यवस्था हुन सकेको छैन भन्ने विषय धेरैबेर मेरो मनमा आइरह्यो।

    नेपाल १ करोड ५० लाख पर्यटक भित्र्याउने द्देश्य लिएर अघि बढेको छ। आर्थिक वृद्धिका लागि पर्यटन नेपालको एक सशक्त र सफल माध्यम हो भनिन्छ। हुन पनि यसले राष्ट्रिय ढुकुटी मात्र होइन, जनस्तर पनि सुध्रिँदै गएको छ। नेपाल चिनाउने धेरै फोटो र भिडियो बनेका छन्, जसमा सरकारको लगानी ठूलै होला। तर, ती प्रचार सामग्री हेर्दा नेपाल सबैको निम्ति पहुँचयोग्य स्थल हो भन्ने झल्किँदैन।

    हामी हिमालको सुन्दरता बढ्ता देखाउँछौं। शारीरिक अपांगता भएकाहरु त्यहाँ कसरी पुग्छन्? के हिमालजत्तिकै नेपालको तराई राम्रो छैन र? तराईका ठाउँ शारीरिक अपांगता भएका निम्ति बढी पहुँचयोग्य हुन सक्छन्। तर, हाम्रो ध्यान त्यसतर्फ जाँदैन।

    वर्षौंदेखि हामी एउटै अलाप जप्दै आएका छौं, ‘साहसिक पर्यटन’ ले नेपालको परिचय फेरिन्छ। त्यो सत्य होला, तर साहसीहरुका लागि मात्र? के नेपालको पर्यटन साहसी, उफ्रन सक्ने, दौडन सक्ने र हिमाल चढ्न सक्नेका लागि मात्र हो? के शारीरिक अपांगता भएकाहरुले नेपाललाई आफ्नो घुम्ने देशको सूचीमै राख्न नपाउनु?

    भिजिट नेपाल २०२० को तयारी सामाजिक सञ्जालमा मात्र देखाएर हुन्न। पर्यटन विकासका लागि देशले भौतिक पूर्वाधारमा ध्यान पुर्याउनैपर्छ। भौतिक पूर्वाधारको परिभाषा फेरिइसकेको छ।

    कंक्रिटका सडक र महल मात्र विकास होइन। विकास त्यो हो, जसको उपभोग र अनुभव सबैले गर्न सक्छन्। हातहातमा स्मार्ट फोन बोक्ने पर्यटक धेरै स्मार्ट छन्। आजको भोलि कसैले त्यसै अर्को देशमा घुम्न जाने योजना बनाउँदैन। उनीहरु कुन देशको संस्कृति कस्तो छ, त्यहाँको मुख्य आकर्षण के हो, कति पैसा खर्च हुन्छ र परिवारमा शारीरिक अशक्तता भएका व्यक्ति छन् भने सम्बन्धित देशमा के कस्तो अप्ठ्यारो तथा सहजता छ भनेर हेर्छन्।

    गुगल सर्चले भने नेपालमा ‘एक्सिसिबल टुरिजम’ पनि छ भन्ने कुनै जानकारी दिँदैन। एकपटक सोच्नुस् त, आफ्नो देशमा सबै सुविधा भोगेको अपांगता भएका व्यक्तिले अर्काको देशमा दु:ख भोग्नुपर्‍यो भने त्यसले त्यो देशबारे के सोच्छ? पछिल्ला समय काठमाडौंमा मात्र कति महल, सिनेमा हल, पार्क तथा सडक विकास भए, के त्यहाँ अपागंता भएकाहरुको पहुँच छ? आखिर केले रोकेको छ विकासमा अपागंताको पहुँच पुर्याउन?

    भिजिट नेपाल हुने वर्ष २०२० आउन समय छ। यही तयारीको एउटा महत्वपूर्ण हिस्साका रुपमा ‘एक्सिसिबल टुरिजम’ लाई लिएर अगाडि बढ्न र प्रचार गर्न सके हामी लक्ष्यमा पुग्न सक्छौं। भलै टुरिजमकै बहानामा भए पनि नेपालका अपागंता भएकाहरुले सहज जीवन बाँच्न पाउँथे कि! सेतेपाटिबाट

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिक्रिया दिन तल जानुहोला !

    प्रतिकृया दिनुहोस्

    कस्तो छ ग्रेट हिमालयन माउन्टेन एक्स्पो ? (फोटो फिचर)

    हरिहरसिंह राठौर पोखरा : नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन)...

    पत्रकारको सम्मानजनक पहिचानका लागि अध्यक्षमा दाबी : महासचिव सिवाकोटी

    नेपाली कांग्रेस निटक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आउन लागेको केन्द्रीय महाधिवेशन, वर्तमान अवस्था र...

    निदुली बाहुन उर्फ केपी ओली !

    हाम्रोतिर निदुली बाहुनबारे रमाइलो लोककथा प्रचलित छ । एकजना निदुली नाम गरेका बाहुन ससुराल गएछन्...

    कविता ~ नहिडेका डोब !

    प्रिय जिन्दगी ! जीवनका गोरेटोमा नहिडेका डोबका चिन्हमा यो सुनौलो दिनमा तिमीले स्वर्णिम अक्षरले सुन्दर...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर २७ गते बिहीबार, तदअनुसार १३ डिसेम्बर २०१८

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...