News Portal

  • पेटीकोट लगाउने के नाङ्गो ? सरकार पो नाङ्गो !

    हिमाली संचार संवाददाता
    ९०० पटक

    काठमाडौं – सामाजिक सञ्जालमा शावित्री सुवेदीले स्टाटस लेखिन्- ‘बलात्कारीका लिंगमाथि कानुनको टोपी । हत्या र अपराध रोक्न पनि दिनुपर्छ फाँसी ।’

    स्टाटस लेखेको ८ घण्टापछि उनी कालो पेटीकोट लगाएर काठमाडौंको माइतीघर मण्डलामा देखा परिन् । र, जोड-जोडले चिच्याइन्- ‘बलात्कारीलाई फाँसी दे !’

    शावित्रीको आवाजमा लय मिलाउँदै पृष्ठभूमिमा ‘फाँसी दे’ आवाज चर्कियो । साथमा थिए, उनीजस्तै पेटीकोटधारी तेस्रोलिंगी र पुरुष पनि ।

    पेटीकोट अर्थात भित्री बस्त्र लगाएर ‘टपलेस ज्यान’मा सार्वजनिक भएपछि प्रहरीले हस्तक्षेप भयो । लछार-पछार गर्दै उनीहरुलाई भ्यानमा कोचियो । भ्यान अनामनगरतर्फ बत्तियो । महानगरीय प्रहरी वृत्त अनामनगरमा पुर्‍याएर केही क्षण केरकार गरियो । र, तीन घण्टापछि एक-एक गिलास जुस पिलाएर छाडियो ।

    यतिबेलासम्म ‘पेटीकोट कान्ड’ले सामाजिक सञ्जालमा आगो लगाइसकेको थियो । बितेको २४ घण्टायता भाइरल बनेको त्यही प्रंसग र पात्र खोज्दै आइतबार हामी पुग्यौं, अनामनगरमा । घटनाका मुख्य पात्र शावित्री सुवेदी ठूलो ब्याग भिरेर मण्डला नाटकघरमा आइपुगिन् ।

    ‘पुरै जिउ दुखिरहेको छ’ भन्दै ब्याग बिसाएपछि उनले घटनाको बेलिबिस्तार लगाइन्-

    माइतीघरमा पेटीकोट धारण गर्नुअघि शावित्री झापामा थिइन् । त्यहाँ ७० बर्षीय वृद्धद्वारा ९ बर्षीया बालिका बलात्कृत भएपछि उनी दोषीलाई कारबाही र पीडितलाई उचित राहत दिलाउन त्यहाँ पुगेकी रहिछन् ।

    झापाबाट अघिल्लो रात उनी काठमाडौं आइन् । काठमाडौंमा आएर माइतीघरमा विरोध प्रदर्शन गरेपछि सिंहदरबारले सुन्छ, यस्तै ठानिन् उनले । फरक किसिमको विरोध प्रदर्शन गर्नेबारे साथीहरुसँग छलफल भयो । सोही मुताविक माइतीघर मण्डलामा उत्रिइन् उनी कालो पेटीकोट लगाएर । आफूहरुले गर्ने प्रदर्शनमाथि हस्तक्षेप हुन्छ भन्ने कुरामा उनीहरु बेखबर थिएनन् । प्रहरी अधिकारीले नै सोबारे जानकारी गराएका थिए ।

    आन्दोलमा एकजना तेस्रो लिंगी पनि सहभागी रहेछन् । उनले दुईजना प्रहरीलाई मुक्का हानेछन् । त्यसपछि प्रहरी थप उग्र भएछन् । उग्र प्रहरीले जथाभावी र जबरजस्ती पक्राउ गरेछ । यसक्रममा उनको ब्रा च्यातियो । तेस्रोलिंगी साथी झोक्किए- ‘ब्रा नै खोलिदिउँ ?’

    ती तेस्रोलिंगीमाथि ‘बढी नै ज्यादती’ भएको भन्दै सावित्रीले सुनाइन्, ‘उसको त ब्रा नै च्यातिदियो, घाउ पनि भयो ।’

    अघिल्लो दिनको मुक्कामुक्कीले सावित्रीको ज्यान निकै दुख्यो । तर, उनलाई विश्राम लिने फुर्सद कहाँ मिल्नु ? मिडियाबाट फोन आयो । अन्तरवार्ताका लागि केही टेलिभिजनको कार्यालयमै पुग्नुपर्ने भयो । हामीसँग भेट्दा उनी हतारमै थिइन् ।

    ‘रातारात सेलिब्रेटी जस्तै भइयो ?’ यो प्रश्न सोध्नुअघि नै उनले आफ्नो बचाउ गरिन् । ‘खासमा यसरी चर्चामा आउनका लागि, सेलिब्रेटी हुनका लागि, डलर पचाउनका लागि मैले बिरोध प्रदर्शन गरेकी होइन ।’ उनी जगिंइन्, ‘मेरो उद्देश्य सिर्फ बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्छ भन्ने हो ।’

    जब-जब बलात्कारीको प्रसंग आउँथ्यो, उनको अनुहारमा आवेग पैदा हुन्थ्यो । आवेगमै उनका मुखबाट ‘अराजक शब्द’ ओकलिन्थ्यो ।

    शावित्रीको बुझाइमा पेटीकोट एक सांकेतिक स्वरुप हो, जसलाई भित्री बस्त्रको रुपमा लिइन्छ । पेटीकोट लगाएर प्रदर्शन गरेपछि धेरैले उनलाई गाली गरेछन्, ‘किन यत्ति उत्ताउली भएको ? किन नागिंएकी ?’

    सावित्रीसँग यसको पनि जवाफ छ- ‘पेटीकोट लगाए पनि हामी नाङ्गो थिएनौं, हाम्रा यौनाङ्गहरु छोपिएका थिए । शहरका युवतीहरु छोटा कट्टु लगाएर हिँड्दा हामीभन्दा बढी नग्न देखिन्छन् । हामी कसरी उत्ताउलो भयौं ?’

    हामी के नाङ्गो ? सरकार पो नाङ्गो !

    सावित्रीलाई हामीले सामाजिक सञ्जालमा आएका कतिपय टिप्पणीबारे पनि प्रश्न गर्‍यौं । सावित्रीहरु कालो पेटीकोट धारण गरेर सडकमा उत्रिइरहँदा यता सामाजिक सञ्जालमा नानाथरी टिप्पणीहरु आइरहेका थिए ।

    कतिले भने, ‘डलर पचाउने खेल ।’ कतिले भने, ‘नाङ्गै भएर अरुको उक्साहटमा जात्रा देखाएको ।’ कतिले भनेका छन्, ‘पेटीकोट लगाएर सडकमा तमासा ।’

    आफ्नै फेसबुकमा आएको कति गाली र कति स्याबासी उनले नदेखेकी होइनन् । तर, न उनलाई गालीले गलाउँछ, न स्याबासीले उक्साउँछ । ‘हिजोको विरोध प्रदर्शनमा हामी आफैंले खर्च जुटाएका हौं । जम्माजम्मी १० हजार खर्च भयो । हाम्रो कुनै संगठन छैन, संस्था छैन । सबैजना स्वतस्फूर्त जुटेका हौं ।’

    यस्तै व्यहोराको स्पष्टीकरणपछि सावित्रीले थपिन्, ‘खासमा हाम्रो सरकार नै नग्न छ, निर्वस्त्र छ । दिनदिनै बलात्कार हुने र त्यसमाथि कुनै नियन्त्रण नहुने अवस्थामा लाज हामीले होइन, सरकारले मान्नुपर्ने हो । खै त सरकारले लाज मानेको ?’

    डलरका भिखारी होइनौं

    गाउँकै एक बालिका बलात्कृत भइन् । उनको यौनाङ्गमा काठ ठोसियो । राजनीति र पढाईलाई साथसाथै अगाडि बढाइरहेकी सावित्रीलाई यो पीडा सह्य भएन । उनी उक्त बालिकाको उपचार, संरक्षण र पीडकका लागि सजायको माग गर्दै खुला रुपमा उत्रिइन् । त्यही मेसोमा उनीसँग संयोगले मेनुका थापा भेटिइन्, जो रक्षा नेपालकी सञ्चालिका हुन् ।

    सावित्रीको भनाइअनुसार उनी विभिन्न ठाउँमा बलात्कृत बच्चाको उद्वार एवं सरंक्षणमा खटिइन् । उद्वार गरिएको बच्चालाई रक्षा नेपालको जिम्मा लगाइन् । ‘तर, रक्षा नेपालको धन्दा बेग्लै रहेछ’ उनले भनिन्, ‘बच्चाको उद्वार गर्ने वा बलात्कार न्यूनीकरण गर्ने भन्दा पनि त्यस्ता घटना देखाएर विदेशी डलरको भिख माग्ने गरियो ।’

    विभिन्न ठाउँमा हुने बलात्कारको घटनालाई सौदाबाजी गर्ने, पाँच हजार खर्चिएर बिरोध प्रदर्शन गराउने, त्यसैको भिडियो बनाएर विदेशी दातृ संस्थामा बुझाउने आकांक्षाले नभई स्वतस्फूर्तरुपमा बलात्कारविरुद्ध आवाज उठाइरहेको सावित्रीको भनाइ छ ।

    काठमाडौंमा कति संघसंस्था र व्यक्ति महिला हिंसाको नारा बोकेर डलरको खेती गरिरहेको उनको बुझाइ छ ।

    बलात्कारीलाई उन्मुक्ति, बलात्कृतलाई पीडा

    सावित्रीको भनाइमा उनले बलात्कृत बालिका, किशोरी, महिलाको आर्तनाद सुनेकी छिन् । उनीहरुको पीडाको साक्षी बनेकी छिन् । बलात्कृतको उद्वार र बलात्कारीको विरुद्ध गाउँ-गाउँ चाहारेकी छिन् । यसका लागि उनलाई साथीभाइले खर्च पठाइदिने गरेका रहेछन् ।

    अहिले नेपालमा औसत दिनुहँ तीनवटा बलात्कारका घटनाबारे प्रहरीमा उजुरी पर्छ । खासगरी दलित, बालिका, आर्थिक रुपले कमजोरहरु बलात्कारको शिकार हुन्छन् । उनीहरु प्रहरीमा उजुरी गर्न समेत सक्दैनन् । सदारमुकाम जाने, मेडिकल जाँच गर्ने र प्रहरीमा उजुरी दिनेसम्मको जागरण उनीहरुमा छैन । त्यसमाथि अपराधीहरु स्थानीय नेता, प्रहरी प्रसाशनसँग मिलेर यस्ता उजुरीहरु दर्ता गर्नै नदिने अवस्था छ ।

    कतिसम्म भने, पैसा र पहुँचको भरमा मेडिकल रिपोर्ट समेत नक्कली बनाइदिने गरिन्छ । यस्तै विकृतिका साक्षी बनेकी सावित्री जीवनभर लडिरहने प्रण लिएर हिँडेकी बताउँछिन् । उनी भन्छिन्, ‘मैले धेरै घटना देखेकी छु, व्यहोरेकी छु, बलात्कार गर्नेहरु राजनीतिक पहुँच, पैसाको भरमा उम्कने र बलात्कृतहरु सधै पीडामा हुने । त्यही कारण म यो विकृतिको विरुद्ध घरबार छाडेर सडकामा आएकी हुँ ।’

    केही समयअघि झापामा एक ४ बषर्ीय बालिकामाथि बलात्कार भयो । बलात्कारीलाई उम्काउनका लागि अनेक जालझेल रचियो । स्थानीय राजनीतिक दलले अपराधीलाई संरक्षण गर्ने भएपछि शावित्रीले त्यहाँ पुगेर विरोध गरेको बताइन् ।

    आफ्नो यो अभियानमा थुप्रै साथीहरुले सहयोग गरेको उनले उल्लेख गरिन् । खासगरी केटासाथीहरुले नै आफ्नो मर्म बुझेको उनको भनाइ छ । सावित्री भन्छिन्, ‘हामीले यहाँ प्रदर्शन गरेको, प्रहरीले पक्राउ गरेको अरुका लागि त मनोरञ्जन भएको होला । तर, जो दिनदिनै बलात्कृत भइरहेका छन्, जसलाई समाजले उपेक्षा गरिरहेका छन्, जसको योनीद्वार च्यातिएको छ, जो पुरुषको अनुहार देख्नसाथ तर्सन्छ, उनीहरुको पीडालाई मैलें बुझेकी छु । उनीहरुको पीडा नबुझेसम्म यो सबै नौटंकी लाग्न सक्छ ।’

    आन्दोलनको ह्याङओभरमा बहकिइरहेकी उनलाई हामीले केही अफबिट प्रश्न राख्यौं ।

    पेटीकोट लगाएर सडकमा उत्रन त गाह्रै भयो होला हैन ?

    पटक्कै भएन । यसअघि झापामा मैले यस्तै अभियान चलाएको भिडियो भाइरल भयो । त्यसपछि आँट आयो । अलि फरक किसिमको विरोध प्रदर्शन गरेर सरकारको ध्यान आकर्षण गराउन मन थियो ।

    यसो गर्दा घर-परिवार र आफन्तले केही भन्दैनन् ?

    भन्छन् नि । मेरो घर परिवारमा कसैले पनि मलाई सपोर्ट गर्दैनन् । बुबा त झन इन्डियन आर्मीको मान्छे । गाली गरिरहनुहुन्छ । हिजो पनि त्यसरी उत्ताउलो भएको भनेर गाली खाइयो । तर, मलाई डर छैन । म त घरमा पनि बिद्रोह गरेर निस्किएकी मान्छे ।

    घरबार छाडेर अभियानमै लाग्नुभएको हो ?

    हो त । जबसम्म बलात्कारीलाई फाँसीको सजाय हुँदैन, तबसम्म म यसमै निरन्तर लागिरहन्छु ।

    पछि बिहे गरेर घरजाम गरेपछि यसरी हिँड्ने मौका नमिल्ला नि ?

    बिहे नै गर्दिनँ । लेखेर राख्नुहोस्, बलात्कारीलाई फाँसीको सजायँ नभएसम्म बिहे गर्दिनँ ।

    भनेपछि, जीवन यही अभियानमा सर्मपण गर्ने हो ?

    जीवनभर यसमै लाग्ने हो । बलात्कारीलाई फाँसीको सजाय दिलाएरै छाड्ने हो । अहिले पनि म विभिन्न गाउँ, समाजमा पुगेर बलात्कारविरुद्ध काम गरिरहेकी छु ।

    खर्च कसरी जुटाउनुहुन्छ ?

    अर्को कुरा पनि लेखेर राख्नुहोस्, म कुनै संस्था दर्ता गरेर लाग्ने छैन । संगठन बनाएर मागीखाने भाँडो बनाउने छैन । डलर लिएर बिरोध गर्दै हिँड्ने छैन । आइएनजीओको काम गर्ने छैन । हाम्रा दिदीबहिनीहरुको रक्षाका लागि विदेशी डलरको भिख मागिरहनु आवश्यक छैन । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal