News Portal

  • प्रधानमन्त्रीलाई पत्रु बनाउने बालुवाटारका दुई घेरा

    नवराज थपलिया
    ६४८ पटक

    प्रधानमन्त्री र मन्त्रीहरुका गफमा बाहेक यो सरकारले जनता र नेकपाका कार्यकर्तालाई उत्साही बनाउने कुनै काम अघि बढाउन सकेन । विपक्षीको कुरा छाडौं, आफ्नै पार्टी पंक्तिले प्रतिरक्षाका लागि उभिने ग्राउण्ड भेटेको छैन । सरकार गठनका शुरुवातमा यातायातमा सिण्डीकेट र विकास निर्माणमा लापरवाही गर्ने ठेकेदारमाथि कारवाही थालेर सरकारले उत्साहपूर्ण शुरुआत गरेकै हो ।

    यी दुवै कामको बिरोध गर्दा प्रमुख विपक्षी नेपाली कांग्रेस जनतामा झन् नांग्एिको थियो । तर सरकारका काम कारवाही बिस्तारै सुस्ताए वा बाटो बिराए । अहिले सिण्डिकेट पनि पूर्ण रुपमा अन्त गर्न सकेन । ठेकेदारमाथिको कारवाही पनि रोकियो । तत्काल गर्ने भनिएका कुनै काम भएनन् । ठूला विकास निर्माणको परिणाम त केही समयमा मात्र आउछ तर तत्कालीन काम पनि भएनन् ।

    जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने काम केही गर्न सकेन । मूल्यबृद्धिले सरकारलाई चुनौति दियो । ठूलो अपेक्षा गरेको सरकारबाट सानो काम पनि नहुँदा जनता र कार्यकर्तामा निराशा छाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कार्यकर्तालाई अरिंगाल बन भने पनि बारुला बन भने पनि सरकारको कामै यस्तो छ भने कार्यकर्ता कोमाथि जाइलाग्न जाने ?

    हुन त नेकपाका अर्का अध्यक्ष प्रचण्डले चाँडै पार्टी एकीकरणको काम टुंगो लगाएर सरकार र पार्टीको विरुद्ध चलाइएका दुस्प्रचारलाई एकै अभियानबाट धूलोपिठो बनाउने भनेका छन् । तर जबसम्म सरकारले केही काम गर्दैन तबसम्म यस्तो अभियान आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ ।

    त्यसैले पार्टीले पहिले सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको योजना बनाउओस । नत्र प्रचण्डको अभियान ओलीविरुद्ध लागेको आरोपलाई अन्यत्र मोड्ने अस्त्रमात्र मानिने छ । किनकि ओलीको राजनीतिक चरित्र नै त्यस्तै छ । आफ्ना कठोर आलोचकलाई समर्थक बनाउने कला उनमा छ । तर, जनताले चाहेको त्यसो होइन ।

    अन्यथा नलिने हो भने प्रधानमन्त्री केपी ओलीका पछिल्ला अवधिका राजनैतिक घटनाक्रम अनपेक्षित देखिन्छन् । चरम विरोधीलाई आफ्नो समर्थक वा आफ्नो नजिक बनाउन सक्नु उनको विशेषता नै हो । ०५५ सालमा तात्कालीन एमालेको विभाजनमा प्रमुख कारणमध्ये केपी ओली र वामदेव गौतमबीचको शत्रुतापूर्ण लडाइँ पनि थियो ।

    पछि गएर त्यो शत्रुतापूर्ण सम्बन्ध ओलीले आफ्नो राजनीतिको फड्को मार्ने विन्दुमा नजिकको मित्रतामा परिणत गरे । छैठौं महाधिवेशनमा माधव नेपालको रक्षाकवच बनेका ओली सातौं महाधिवेशनमा बामदेवको समर्थन लिएर नेपाल विरुद्ध जनकपुरमा उभिए ।

    माओवादीले प्रमुख दुश्मनमात्र होइन, पागलसमेत समेतर ३१ दलको बैठकमा निर्णय गराउन तात्कालीन प्रचण्डको निर्णय ने.क.पा. निर्माण गर्ने ठाउँमा पु¥याएर एक अर्काका परिपूरक हुने ठाउँमा पु¥याए ।

    शक्तिशाली सरकारको नेतृत्व गरेर शक्तिशाली बनेका ओलीको उदयसँगै लामो समयदेखिको राजनैतिक खिचातानिले नकारात्मक सोचको विकास भएको नेपाली समाज र नेपालप्रतिको विश्व समुदायको दृष्टिकोण सकारात्मकता तर्फ अगाडि बढिरहेको अवस्थामा सिङ्गो सरकार र प्रधानमन्त्री ओलीप्रति नै नकरात्मक सोच विस्तारै विकास हुन थालेको छ ।

    हिजो पहिलो प्रधानमन्त्रीकालमा ओलीले जगाएको विश्वास र देखाएको सपनाले दोस्रो पटक शक्तिशाली सरकार निर्माण गर्न मद्दत पुगेकोमा उनको सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाबाट प्रस्तुत बजेट भाषणले निराश बनाएको थियो । तर, त्यो केवल राजनीतिक वृत्तमा मात्र थियो । त्यसपछिको उनको काम गराइ, उनका मन्त्रिपरिषदका सदस्यका प्रस्तुति तथा सरकारको डेलिभरीले जनतामा निराशा जगाएको छ ।

    सत्ता र शक्ति भन्ने चिज नै यस्तो हो । उसलाई आफूले जे गरे पनि धेरै राम्रो गरें भन्ने भान हुन्छ । जसरी संयुक्त राष्ट्र संघको महासभामा विश्वका शक्तिशाली राष्ट्र अमेरिकाका शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वका सबै शक्तिशाली सरकारका प्रमुखका अगाडि हाँसोका पात्र बनें, नेपाली जनता र बौद्धिक समुदायसामु प्रधानमन्त्री ओली आज त्यही स्थितिका सामुन्ने पुग्न थालेका छन् ।

    नेपोलियन बोनापार्ट रोम विजय गरेर पेरिस फर्कंदा १० औं लाख मानिस उनको स्वागतमा जम्मा भएका थिए । त्यतिबेला उनका अंगरक्षकले “हजुर त कति महान, यत्रा मानिस हजुरको स्वागतमा जम्मा भएका छन्” भन्दा नेपोलियनले “मूर्ख, भोलि यहाँ मलाई फाँसी दिइयो भने योभन्दा धेरै मानिस जम्मा हुन्छन्” भनेर जवाफ फर्काएका थिए । सत्ता र शक्तिको वरिपरि रहने र रहन पल्केकाहरुको काम भनेको त्यो सत्ता र शक्तिलाई अनेकांै भए नभएका फूलबुट्टा भरेर मख्ख पार्ने हो ।

    आज प्रधानमन्त्री ओली दुईवटा आत्मकेन्द्रित समूहको घेरामा छन् । एउटा घेरा नेपालको सत्ता शक्तिको स्थायी घेरा हो । जसलाई माफियाभन्दा पनि केही फरक पर्दैन । उनीहरुको काम भनेको शक्तिलाई आफ्नो स्वार्थको घेरामा राख्ने र आफ्नो अनुकुलको निर्णय गराउने । अर्को घेरा भनेको आफ्नो आसेपासेको घेरा हो । जुन घेराको काम भनेको प्रधानमन्त्रीलाई तपाई महान् हुनुहुन्छ, पृथ्वीनारायण शाह र महेन्द्रपछि नेपालको इतिहासमा तपाई हो, अब तपाईभन्दा माथि यो नेपालमा कोही छैनन् भनेर चाकरीको भाषाले घेराबन्दी गरिरहेका छन् ।

    यहाँ यो कुराले अवश्य पनि ती उल्लेखित पात्र र प्रवृत्तिलाई रीस उठ्ला वा शक्तिशाली सरकारका पात्रहरुलाई जवाफ आउला, तर नेपोलियन बोनापार्टको भनाईलाई मनन गर्नु उपयुक्त होला ।

    राज्यका तीनमध्ये दुई अंगमा नेकपाको बलियो नेतृत्व छ । न्यायपालिका आफैंमा स्वतन्त्र हुने भएकलो त्यसको कुरा भएन । प्रत्यक्ष नेतृत्व रहेको दुईवटा संस्थाको सम्बन्धमा खुलेआम प्रत्यक्ष विरोध गर्न पाइन्छ भने न्यायपालिकाका सम्बन्धमा अप्रत्यक्ष विरोध भए पनि त्यसको पनि औकात सतहमा देखिएको छ ।

    बिहानीले दिउँसोको भविष्यवाणी गर्छ भनेझैं प्रधानमन्त्री र उनको सरकारको गतिविधिले त्यही संकेत गरेको छ । उनको सरकारका मन्त्रीहरु र उनका सहयोगीहरु सरकारलाई घेराबन्दीमा पारियो, काम गर्न दिइएन भनिरहेका छन् । संसदमा एक चौथाई पनि उपस्थिति नभएको प्रतिपक्षको आवाजलाई घेराबन्दी गरियो भन्ने भनाइ माध्यामिक तहको नेपाली विषयमा “कालु र बाघ” भन्ने शीर्षकको कथा पढे जस्तै हो । यो दुई तिहाईसहितका शक्तिशाली प्रधानमन्त्री र त्यो सरकारका मन्त्री तथा समर्थकलाई त्यो भन्ने छुट छैन ।

    उनीहरुले यो विगत सरकारको जस्तो निरन्तरता होइन भन्ने ज्ञान हुनु जरुरी छ । विगतमा जिम्मेवारी पाइसकेकालाई जिम्मेवारी दिँदा उसले त्यो संस्था वा जिम्मेवारी पूरा गर्दा संस्था वा त्यो जिम्मेवारीले त्यो संस्थाको गति के भयो भनेर मूल्यांकन गर्न जरुरी थियो वा थिएन ? अथवा गर्नुपर्छ, पर्दैन ? त्यस्ता व्यक्तिलाई नजिकबाट चिन्ने जान्नेलाई दिने उत्तर के हो ? नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झा लाई नियुक्ति दिदाँ उठ्ने प्रश्न पदमा बसेर सोच्ने फुर्सद थियो वा थिएन ?

    “सुखी नेपाली र समृद्ध नेपाल” भन्ने सपना देखाउँदा सपनालाई विपनामा बदल्ने अनुसारको काम र पात्र आवश्यक पर्छ कि पर्दैन ? तात्कालीन नेकपाएमाले र त्यसको संगठन, जुन संगठनको आधार र नेता कार्यकर्ताको बलमा शक्तिशाली पद प्राप्त गर्दा तिनले उठाएका आवाजलाई दबाउन मिल्छ ? जनताको आवाज सुनाउन नेता कार्यकर्ताले प्रधानमन्त्रीलाई भेट्न पाउँदैन ? भेट्न जाँदा घन्टौं कुर्नुपर्ने अवस्था छ ।

    अर्कोतिर पार्टी निर्माणमा कुनै योगदान नभएका राज्यशक्तिलाई माफियाकरण गर्ने व्यक्ति र तिनका समूहको सहज पहुँच र घेरा प्रधामन्त्रीलाई देखिन्छ । सोही घेरावन्दिको स्वार्थ अनुसार राज्यका नीतिगत निर्णय र नियुक्ति हुँदा त्यस्तो निर्णय र त्यसका आधारमा हुने काम कार्यको विरोध गर्न पाइने कि नपाइने ? अहिले उठेको प्रश्न यत्ति नै हो ।
    हाल प्रधानमन्त्री केपी ओलीका वरिपरि रहने किचेन क्याबिनेटका व्यक्तिहरुले सरकार र प्रमलाई घेराबन्दीमा पारियो, सरकारलाई असफल पार्न खोजियो, काम गर्न दिइएन भन्दैछन् । यी सबै काम तिनै व्यक्तिहरुले गरिरहेका छन्, जसले नाँच्न नजानेपछि आँगन टेढो देख्छ रे । सरकार चलाउन नजान्ने वा प्रधामनन्त्रीको स्पिरीटमा चल्न नजान्नेले सरकारलाई अप्ठेरोमा पारियो भन्नु त्यही हो । वास्तवमा प्रधानमन्त्रीलाई पत्रु बनाउने दुई घेरा बालुवाटारभित्रै छ ।

    सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री भएदेखि हालसम्मको तपाईका किचेन क्याबिनेटमा रहनेहरु र तपाईले प्रयोग गर्ने फोनको रेकर्ड मगाएर समीक्षा गर्नुस । उनीहरुले कति समय, कति व्यक्तिलाई भेट्न र कुरा गर्न खर्चिएछन् ? समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा सफल पार्न कति छलफल गरियो ? तपाईको पार्टीका नेता तथा कार्यकर्ता, सांसदलाई कति समय दिनु भो ? यहीँबाट समीक्षा गर्नोस् ।

    जब प्रधानमन्त्रीको मुख्य सचिवालय नै गलत ढंगले चल्छ भने त्यसले सरकारलाई सफल बनाउन सक्दैन । आज देशका नाम चलेका बिचौलिया र माफियाहरुको लागि प्रधानमन्त्री निवासको ढोका चौबिसै घण्टा खुला छ । किनकि प्रधानमन्त्री मध्यराति पनि काम गर्नुहुन्छ । तर, प्रधानमन्त्रीलाई साँच्चिकै सफल बनाउन चाहने नेता कार्यकर्ता र पार्टीका शुभेच्छुकका लागि बालुवाटारमा अघोषित प्रतिबन्ध छ ।

    ओली असफल भए पनि बिचौलिया माफिया र दलाल पुँजीवादका रक्षकहरुलाई कुनै असर गर्नेवाला छैन । किनकि उनीहरु त जो सत्तामा आयो, उसकै हुने हुन् । तर, ओली र अहिलेको सरकार असफल हुँदा त्यसको सजायँ सिंगो मुलुक, नेपाल कम्युनिस्ट पार्टी र जनता कार्यकर्ताले भोग्नुपर्नेछ । त्यसैले पनि ओलीले फराकिलो भएर सोच्नुहोस् । कहीँ न कहीँ तपाईलाई जनता र कार्यकर्ताबाट अलग गरिँदैछ ।

    प्रधानमन्त्रीलाई प्रभावित पार्ने र पत्रु बनाउने दुई घेरा तोड्न आवश्यक छ । ठूला ठूला निर्णयमा प्रभावित पार्ने बिचौलियाको घेरामा को को छन् सबैले सहज अञ्दाज गर्न सक्छन् । ठूला–ठूला नियुक्तिदेखि ठूला ठेक्कापट्टाहरुमा कसको प्रभाव चल्छ ? केही सीमित पात्र औंला गन्ने हो भने चार पाँच जनाले सिंगो देशको अर्थतन्त्रलाई प्रभावित पार्ने गरी सरकारलाई प्रयोग गरेका छन् ।

    नेकपा उपनेता सुवास नेम्वाङले प्रयोग गर्ने शब्द जस्तै उनीहरुको नाममात्रै यहाँ उल्लेख नगरौं, तर अनुहार झल्झली आइरहेकै छ ।

    किचन क्याबिनेटमा रहने केही पात्रहरु, जो पार्टी र जनतामा अलोकप्रिय छन्, तर प्रधानमन्त्रीका प्रिय छन् । उनीहरु नै हुन् प्रधानमन्त्रीलाई जनता र कार्यकर्तासँग टाढा बनाउने र नेपोलियन बोनापार्टलाई उनका अंगरक्षकले भने जस्तै हजुर महान भनेर घेरेर राख्ने ।

    ओलीले यी दुवै प्रवृत्तिलाई चिनेर पनि बाहिरिन नसकेको हो भने उनका लागिमात्र होइन, देशकै लागिसमेत र्दुभाग्य हो ।

    (नेकपासँग आवद्ध अधिबक्ता थपलियाले अनलाइनखबरमा लेखेको लेख हामीले लिएका हौ।)

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal