News Portal

  • तपाईलाई कसले भन्यो खड्गप्रसाद कम्युनिस्ट हुन् ?

    अश्विनी कोइराला
    ९४७ पटक

    ९ चैत, काठमाडौं । नेपालका सबैजसो लेखक कुनै न कुनै समूहको फेरो समाएका कारण कुनै ‘व्यवस्था’ प्रति तीखो कलम चलाउन सक्दैनन् । तर, साहित्यकार खग्रेन्द्र संग्रौला नेपाली समाजका यस्ता मिथक हुन्, जसले सधैं अन्याय र विभेदविरुद्ध कलम चलाए ।

    व्यक्तिको हिसाब गर्ने हो भने सम्भवतः कलम चलाएर सत्ताधारी र उनीहरुका आसेपासेको धेरै गाली खाने र कलम चलाएरै निमुखाहरुको धेरै स्वावासी पाउने संग्रौला एक्ला लेखक हुन् भन्दा पनि फरक नपर्ला ।

    ०३६ सालमा मात्र होइन, ०४८ साल पनि संग्रौला सत्ताका विरोधी थिए । उनी प्रजातान्त्रिक कालमा पनि सत्ताको विरोधी नै रहे । ०५८ सालको दरबार हत्याकाण्डविरुद्ध कसैले बोल्न नसक्ने समयमा पनि उनले कलम चलाए ।

    संकटकाल लगाएर माओवादीविरुद्ध युद्धमा होमिएको सरकारविरुद्ध उनले ‘कुन्सान काका’ को नामबाट कलम चलाए । जब त्यही माओवादी पार्टी सत्तामा आयो, शहरी परिवेशमा भिज्न र त्यसका नेताहरु आलिसान बंगालामा बस्न थालेसँगै संग्रौलाको निशानामा माओवादी पार्टी र त्यसका नेताहरु पनि पर्न थाले ।

    तर, आजभोलि संग्रौलाका तीखा लेखहरु उति पढ्न पाइँदैनन् । अबको तीन महिनापछि ७३ वर्षमा टेक्न लागेका संग्रौलालाई उमेरले पो गलाएको हो कि ? वा देशमा कम्युनिस्टहरुको दुई तिहाइवाला सत्ता आएका कारण संग्रौलाको बोली नरम भएको हो ? यसको कारण खोज्दै चावहिलस्थित निवासमा पुग्दा संग्रौलाले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डप्रति विगतमै पारामा आगो ओकले ।

    साहित्यकार संग्रौलासित हामीले उनको उमेर र उनीभित्र  उम्लिने गरेको जोसबाट कुराकानी सुरु गर्‍यौं-

    १० वर्षका बीचमा अन्तरवार्ताकै लागि तीनपटक तपाईंलाई भेट्दैछौं, अझै पनि उस्तै जोसिलो कुरा गर्नुहुन्छ, उमेरले गलाएको छैन ?

    उमेरका हिसाबले ७२ वर्ष पूरा गर्न लागेँ । स्मरणशक्तिको कुरा गर्नु हुन्छ भने पहिलोपटक यही बरन्डामा हामीले बसेर कुरा गरेको याद छ । तपाईंले १० वर्ष भन्नुभयो, त्यसो हो भने यो सानो समय होइन । तैपनि एउटा बहर जस्तो जोश, युवाजस्तो स्मरण र किशोरजस्तो आवेग सधैं कहाँ रहन्छ र ?

    अब नेपाली पाठकहरुले खगेन्द्र संग्रौलाका तीखा र प्रतिपक्षी स्वभावका लेख रचना कहिलेदेखि पढ्न पाउने ?

    मैले कलमका माध्यमले भन्नुपर्ने जति भनिसकेँ । अब लेख्दा त्यही कुराको पुनरावृत्ति हुन्छ । अलिकति राम्रो कलम हुनेले कुनै नयाँ सन्दर्भ बनाएर पाठकलाई झुक्याउन सक्ला, तर एउटा समयपछि लेखकले नयाँ कुरा दिन सक्दैन । बस्, यति कारणले लेख भन्नुहोस्, पुस्तक भन्नुहोस्, अब हिन्दुधर्मको वानप्रस्थको जस्तै योजना बुन्दैछु ।

    मानिसहरु त के भन्न थालेका छन् भने ‘देशमा कम्युनिस्टहरुको दुई तिहाइ सरकार आएको छ । त्यसैले खगेन्द्र संग्रौलाको कलम अब पहिले जस्तो बिरोधमा चल्दैन ।’ यो भनाइमा सत्यको अंश कति छ ?

    जुन बाटोमा खड्गप्रसाद हिँडिरहेका छन्, त्यो बाटोबाट त केही पनि पाउँदैनन् । मैले यो के भनेँ भन्नुहोला, पछि यो रेकर्ड सुन्नुहोला र हो रहेछ भन्नुहोला

    सबैभन्दा पहिले त तपाईंलाई कसले भन्यो, खड्गप्रसाद ओली र उनका आसेपासे कम्युनिस्ट हुन् भनेर ? ‘गोरुगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने खड्गप्रसाद होइनन् ? जब देशमा गणतन्त्रको नारा लाग्दै थियो, त्योबेला उनले आन्दोलनलाई निस्तेज बनाउन यस्ता पश्चगामी अन्तरवार्ता दिएर आन्दोलनकारीको अपमान गरेका थिए ।

    जसले संघीयता रुचाउँदैनथ्यो, जसले पहिचानलाई धारे हात लगाउँदथ्यो, जसलाई एकथरीको आन्दोलनले टाउको दुखाउँथ्यो, एकथरीको अनुहार देख्यो कि भाउन्न हुन्थ्यो, त्यस्ता व्यक्तिहरुको सत्तालाई कसरी कम्युनिस्ट भन्ने ? यो नाम मात्रको कम्युनिस्ट हो ।

    जुन दलको तपाईं महिमागान गाउनुहुन्थ्यो, त्यो माओवादी नै देशको पालनहार भन्नुहुन्थ्यो, त्यो दल पनि एकीकरण भएर बनेको दल सत्तामा छ नि ?

    कहाँको एकीकरण नि ? विलय भन्नुस् । केहीलाई अझै पनि एमाले र माओवादी एकीकरण भएको भ्रम छ । माओवादीले लिएको आदर्श, बनाएको कार्ययोजना र सपनामा एमाले आएको हो र ? पुष्पकमल दाहाल आफ्नो दरबार जोगाउन सरक्क ओलीमा रुपान्तरण भएका हुन् ।

    हो, हिजो पूर्व मेचीदेखि महाकालीसम्म माओवादीले असमानताका विरुद्ध आँधीबेहेरी उठाएको हो । निमुखा र सीमान्तकृत जनताका छोराछोरीलाई सिंहदरबारको सपना देखाएकै हो । एउटा बामपन्थी भएको नाताले त्यो परिवर्तनका मुद्दामा म सहमत भएकै हो ।

    तर, कस्तो अनौठो भने, हिजो जो व्यक्ति यी सबैको बिरोधमा थियो, त्यही व्यक्तिलाई सत्ता सुम्पेर उसैलाई त्वंशरणम गरेर पुष्पकमल र उनका आसेपासेहरु मह चाटिरहेका छन् । कस्तो अनौठो दृश्य ? हेर्नुस् त । रमाइलो छैन त ?

    लुगा लगाएर विरोध गर्दा नसुनेपछि लुगा नफुकालेर के गर्नु ? विरोधमा अलिकति अराजकता त हुन्छ नि । कांग्रेसजस्तो लम्फू प्रतिपक्षी भएपछि यस्तो हुनु स्वाभाविकै हो

    झण्डै दुई तिहाई मत पाएको यो सरकारबाट पनि देशले केही पाउँदैन भन्ने तपाईंको निष्कर्ष हो ?

    जुन बाटोमा खड्गप्रसाद हिँडिरहेका छन्, त्यो बाटोबाट त केही पनि पाउँदैनन् । मैले यो के भनेँ भन्नुहोला, पछि यो रेकर्ड सुन्नुहोला र हो रहेछ भन्नुहोला ।

    यसको एउटा सानो उदाहरण- खड्गप्रसाद ओलीले अहिले पानीजहाज र रेलको कुरा गरेर चटके सपना देखाइरहेका छन् । हाम्रो प्राथामिकता पानीजहाज र रेल हो कि कृषिमा उत्पादकता बढाउने हो ? केरुङबाट काठमाडौं रेल ल्याउन कति बजेट लाग्छ, थाहा छ ? मलाई पनि थाहा छैन । तर, सुन्दैछु, नेपालको एक वर्षको बजेटले पनि भ्याउँदैन ।

    म ३७ वर्षदेखि मेलम्ची पानीको कथा सुनिरहेको छु । आजको दिनसम्म ए बाबै, मेलम्चीको पानी त कसो खान नपाउँला भन्दै बाँच्दैछु । पानीजस्तो महत्वपूर्ण कुरा त हाम्रा कार्यशैली, आम्दानी र प्रविधिले समयमा ल्याउन सकिरहेको छैनौं भने ९७ प्रतिशत भूभागमा पुल र सुरुङ बनाएर ल्याउने भनिएको रेलमा हामी किन मख्ख परेका हौं ? ओलीले धर्मान्ध पुरेतको थेगोतुल्य गगनमार्गी सपना देखाउँदैछन्, हामी धरातलमा बसेर खड्गप्रसादका सपना लाटाले पापा हेरेझैँ हेर्दैछौं ।

    भनेपछि, सपना देख्ने अधिकार पनि हामीलाई छैन भन्ने बुझ्नुपर्‍यो ?

    सपना देखौं न । कर्णाली जस्ता दुर्गममा पनि गतिलो रोड बनेको सपना देखौं । कृषिमा क्रान्तिको सपना देखौंँ । गरिबको उब्जनी सहरसम्म आएको र त्यसले गतिलो मूल्य पाएको सपना देखौं । यस्तो सपना कहाँ देख्छन् र राजाहरुले ।

    हेर्नुस्, दुईवटा बुलेटप्रुफ गाडीले नपुगेर सरकारले मर्सिडिजबेञ्च ब्राण्डका अरु दुईवटा बुलेटप्रुफ गाडी किन्दैछ । हिजो राजाले चढ्ने त्यो ब्राण्ड आज खड्गप्रसादले किन चढ्नुपर्‍यो ? किनभने, उनमा पनि अचेतन, अर्धचेतनमा कतै राजा बन्ने मोह छ । उनी र पुष्पकमल दुईतिहाईको शक्तिले मैमत्ता भएका छन् । कांग्रेसजस्तो भित्रभित्र मक्किएको, आफैं आफैं झगडा र षडयन्त्रले सिद्धिएको प्रतिपक्षी देखेपछि यस्तो हुनु स्वाभाविक पनि हो । यो मैमत्ताको अर्को पनि कारण छ ।

    हिजो पञ्चायतकालमा एउटा मात्र गोरखापत्र थियो । आज हेर्नोस्, सरकारको समर्थन गर्ने धेरैवटा गोरखापत्र र गोरखापत्रका अनलाइन संस्करण छन् । ठूला र जनताले विश्वास गर्ने सञ्चारमाध्यमहरु घरिघरि बौराएर हामी गोरखापत्र होइनौंं, स्वतन्त्र अखबार हौं भनेजस्तो गर्छन्, फेरि बेहोसीमा गैहाल्छन् ।

    नागरिक समाज कहिल्यै संगठित संस्था नै होइन । त्यसमाथि सबैको कतै न कतै लभ परेकै छ । त्यही भएर बालुवाटारमा महिनाको डेढ लाख रुपैयाँ गाडी धोएको मात्र बिल आउन थालेको छ । बालुवाटारमा पञ्चायती व्यवस्थामा जस्तै आसेपासेलाई नगद दिएर जदौ गर्न लगाइन्छ । नत्र डा. केसीजस्तो समाजवादी मुद्दा बोक्ने चिकित्सकलाई स्वास्थ शिक्षाको योजनाकार बनाउन छाडेर अपराधी करार गर्दथ्यो ? यो सरकारलाई अपराधी, बिचौलिया, डनहरुले गाँजिसकेका छन् ।

    अब त दुई अध्यक्षले जनताका पक्षमा केही गर्न चाहेछन् भने पनि गर्न दिँदैनन् । यस्तोमा यो कम्युनिस्ट सरकार हुनु त धेरै परको कुरा, बामपन्थी सरकार पनि रहेन ।

    तपाईंले धेरैपटक कम्युनिस्ट र बामपन्थीबीच फरक छुट्याइरहनु हुन्छ । यी दुईबीच के फरक छ ?

    कम्युनिस्ट त्यो व्यक्ति वा संस्था हो, जसले द्वन्द्वात्मक भौतिकतामा विश्वास गर्छ । लेनिनवादी शास्त्रले देखाएको बाटो हिँड्छ । सर्वहाराले सत्ता खोसेको र उनीहरुको पक्षमा त्यो सत्ता चलेको कल्पना गर्छ । बामपन्थीले त्यति ठूलो कल्पना गरिहाल्दैन । तर, उ सधैं परिवर्तनको पक्षमा हुन्छ । परिवर्तनको पक्षमा गर्नुपर्ने काममा उ आफूले सक्ने जति नथाकी अघि बढिरहन्छ ।

    नेपाली कांग्रेसभित्र मैले धेरैपटक गगन र नरहरिहरुलाई वामपन्थी भन्ने गरेको छु । जब कि नामले कम्युनिस्ट भन्ने दलका सामन्तहरुको कुरा अब कति गरौं ?

    तपाई कम्युनिस्ट कि बामपन्थी ?

    मेरा आफ्नै संस्कार, त्याग गर्न नसक्ने आँट र कमजोरीका कारण कम्युनिस्ट हुन सकिनँ । जब कि गोर्कीको ‘आमा’ भित्रको पावेल र आस्त्रोभ्स्कीको ‘अग्निदीक्षा’ भित्रको पावेललाई पढेर मलाई पनि कम्युनिस्ट हुने रहर पलाएको थियो । यी दुई पुस्तकका पावेलहरुले मलाई धेरै वर्षसम्म कम्युनिस्ट बनाउने प्रयत्न गरिरहे । सायद यही कारण कम्युनिस्टहरु मेरा आदर्श रहे ।

    आजको एमाले कुनैबेला कम्युनिस्ट हुँदा मैले निशर्त सघाएँ । यही कारण हिजोको माओवादी कम्युनिस्ट हुँदा मैले ज्यानको जोखिम राखेर उनीहरुको पक्षमा बोलेँ, कलम चलाएँ । बेला-बेलामा गगन र नरहरिहरुको निर्वाचनमा सघाउन गएँ । कम्युनिस्ट हुन नसके पनि बामपन्थी चाहिँ रहनुपर्छ भन्ने यही आदर्शका कारण ।

    अहिले सिंहदरबार र माइतीघर मण्डलातिर नांगाहरुको जुलुस देखिन थालेका छन्, यसमा तपाईंको प्रतिक्रिया के छ ?

    लुगा लगाएर विरोध गर्दा नसुनेपछि लुगा नफुकालेर के गर्नु ? विरोधको लक्ष्य नै अरुको आँखामा पर्नु हो । अरुलाई आफ्ना कुरा सुनाउने प्रयत्न गर्नु हो । विरोधमा अलिकति अराजकता त हुन्छ नि । नेपाली कांग्रेसजस्तो लम्फू प्रतिपक्षी भएपछि यस्तो हुनु स्वाभाविक नै हो ।

    भर्खरै साहित्यिक कार्यक्रममा बेलायत पुगेर आउनुभयो । कस्तो रह्यो यात्रा ?

    राम्रो भयो । बेलायतको क्यान्टवरी विश्वविद्यालयको सभाहलमा विश्व नेपाली साहित्यको दोस्रो सम्मेलन भयो । भारी भरकम कार्यपत्रहरु प्ा्रस्तुत भए । नेपालबाट कवि तुलसी दिवस, समालोचक गोविन्दराज भट्टराई पुग्नुभएको रहेछ । म तालुमा आलु फलेर संयोगले पुगेको थिएँ । तर, त्यहाँ पुगेपछि थाहा भयो, यसले मेरो जीवनमा केही सार्थक अनुभव बटुल्न पायो ।

    कस्तो अनुभव ?

    बेलायतबाट मात्रै वर्षको करिब सयभन्दा बढी पुस्तक प्रकाशित हुँदा रहेछन् । त्यहाँका नेपालीहरुमा लेखनको छटपटी बढेको देखियो । तर, सँगै त्यहाँका नेपालीहरुले भोगेका मानसिक द्वन्द्व र समस्या भने साहित्यमा आउन सकेका छैनन् ।

    वाषिर्क सय पुस्तक प्रकाशित हुँदा भोलिका दिनमा एक-दुई गुणस्तरीय पुस्तक पनि आउन सक्ने सम्भावना देखियो । अब त्यहाँको साहित्यबाट बुढा, पेन्सनपट्टा पाकेका पूर्वबेलायती सैनिक, अंग्रेजी बोल्न नजान्ने हजुरबा र नेपाली बोल्न नजान्ने नातिनीका कथा एकसाथ आउनुपर्छ । बेलायतमा रमाउन नसकेका, तर भोलिका पुस्ताका लागि बाध्यताले त्यहाँ बसेका पुस्ताको कथा पनि आउनुपर्छ । अनलाइनखबर 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal