News Portal

  • बन्द कोठाभित्र कसले हान्यो पूर्वराजदूतलाई छुरी ?

    हिमाली संचार संवाददाता
    ५४८ पटक

    गौरव पोखरेल/काठमाडौं – झण्डै एक वर्षपछि राजधानीमा फेरि एकपटक सर्वसाधारणलाई त्रसित बनाउने गरी ‘हाइप्रोफाइल मर्डर’ भएको छ ।

    २३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी भएको हत्यापछि काठमाडौंको बबरमहलमा ‘हाइप्रोफाइल’ पूर्वराजदूत केशव झाको आइतबार राति हत्या भएको हो ।

    घटनाको वस्तुस्थिति हेर्दा यो गौचन हत्याकाण्डजस्तो ‘प्लान्ड मर्डर’ नदेखिए पनि घटना रहस्यमय छ । अनुसन्धानमा संलग्न अधिकारीहरु स्वयम् घटना रहस्यमय भएको स्वीकार्छन् ।

    ‘घटना र शवको प्रकृति हेर्दा शंका गर्नुपर्ने ठाउँ धेरै देखिएका छन्’, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’

    राति सुतेकै ठाउँमा छुरी हानेर हत्या

    परराष्ट्र सेवामा ३४ वर्ष व्यतीत गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपालका राजदूत थिए । उमेरले ८० पुगिसकेका भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए ।

    झाका छिमेकी कुमार श्रेष्ठका अनुसार झाले आइतबार मात्रै पनि एक कार्यक्रममा सहभागी भएर मन्तव्य दिएका थिए । पछिल्लो समय उनी विभिन्न संघसंस्थाहरुमा सल्लाहकारको भूमिका थिए ।

    छिमेकी श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै शनिबार मात्रै झा आयरल्याण्ड जान लागेका चिकित्सक छोरा किरणराज र बुहारीलाई विदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलसम्म पुगेका थिए । तर, छोराबुहारीलाई विदाइ गरेको भोलिपल्टै घरमा श्रीमती र भान्छे सानु तामाङ मात्रै भएका बेला झाको रहस्यमय रुपमा हत्या भयो ।

    आइतबार साँझ ७ बजे समाचार हेरेर भुइँतलामा सुत्न झरेका झालाई बोलाउन सोमबार बिहानै उनकी पत्नी कोठामा । तर, झा बोलेनन् । उनी अनन्त निद्रामा लीन भइसकेका थिए ।

    धेरैबेरसम्म बोलाउँदा पनि श्रीमान नबोलेपछि श्रीमतीको मनमा चिसो पस्यो । र, उनले घरमा सेफ काम गर्ने तामाङलाई बोलाइन् ।

    झा र उनकी पत्नी बेग्लावेग्लै सुत्दै आएको प्रहरीको भनाइ छ ।

    ‘भित्रबाट कोठा बन्द गरिएको थियो । पछाडिमा गएर हेर्दा रगत देखिएपछि प्रहरीलाई खबर गरेका हौं’, सेफ तामाङको प्रारम्भिक वयानलाई उदृत गर्दै प्रहरी स्रोतले अनलाइनखबरलाई भन्यो ।

    लगत्तै, अनुसन्धानका लागि सोमबार बिहान महानगरीय प्रहरी आयुक्तका कार्यालय प्रमुख डीआईजी मनोज नेउपाने, अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी वसन्त लामा लगायत घटनास्थलमा पुगे ।

    घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि प्रहरी टोलीले निष्कर्ष निकाल्यो– झाको चक्कु प्रहार गरेर हत्या भयो ।

    ‘आफ्नै भान्सामा रहेको चक्कु प्रहार गरेर उहाँको हत्या भएको हाम्रो प्रारम्भिक आशंका छ’, महाशाखा प्रमुख सिंह भन्छन्, ‘सोधपुछका लागि सेफ र दुईजना मालीलाई ल्याएका छौं । चाँडै घटनाको तथ्य सार्वजनिक गर्छौं ।’

    छोरी राजश्रीसमेत नेपाल बाहिर हुनु र छोराबुहारीलाई बिदाइ गरेको २४ घण्टा बित्न नपाउँदै झाको हत्या हुनु संयोग हो या नियोजित हो भन्ने विषयलाई जोडेर प्रहरीले अनुसन्धान थालेको छ । किनभने, यो विषयले पनि शंका गर्ने ठाउँ उब्जाएको प्रहरी स्रोत बताउँछ ।

    के हुन सक्छ झा हत्याको कारण ?

    घरमा सुतिरहेको अवस्थामा आफ्नै भान्साको छुरा प्रहार गरी हत्या गरिएको देखिएकाले अनुसन्धान अधिकारी उनको हत्याको रहस्य झाकै ‘कम्पाउण्डभित्र’ लुकेको हुन सक्ने आशंका गर्छन् ।

    प्रारम्भिक अनुसन्धानका क्रममा झा सुतेको कोठाको पछाडि रहेको झ्यालमा जाली काटेको भेटिएको छ । जाली काट्नसमेत एउटै हतियार प्रयोग भएको हुन सक्ने अनुसन्धान अधिकारीहरुले शंका गरेका छन् ।

    आखिर ८० वर्षीय झाको हत्या कसले, किन गर्‍यो त ? उनको हत्याकापछि के–के कारण हुन सक्छन् ? प्रहरीको अनुसन्धानको कोणबाट हेर्दा झाको हत्याका पछाडि चारवटा कारण हुन सक्छन् :-

    पहिलो, सम्पत्ति– प्रहरीले झाको हत्या र त्यसको प्रकृतिलाई आधार मानेर घटनाको अनुसन्धान गर्दा केलाउने ‘कज अफ मर्डर’ मध्ये पहिलो हा– सम्पत्ति । यद्यपि, यो घटनामा हालसम्म सम्पत्तिको कारण हत्या भएको हुनसक्ने आधार भेटिएको छैन ।

    ‘छोराछोरी दुवै डाक्टर हुन् । उनीहरु दुबै नेपाल बाहिर छन्’, एक अनुसन्धान अधिकारी भन्छन्, ‘त्यसैले सम्पत्तिको मनसायले हत्या भएको आशंका गर्ने आधार खासै देखिँदैन ।’

    दोस्रो, रिसईबीः पूर्वराजदुत झा तिरहुतिया हुन् । केही दशक पहिले आएको भए पनि उनी काठमाडौंका रैथाने झैँ थिए ।

    तीन दशक बढी कुटनीतिक जीवन बिताएका झाको जागिरे जीवनमा हुन सक्ने दुस्मनी पनि उनको हत्याको कारण हुन सक्छ । जसको फेहरिस्त प्रहरीले अहिले खोतलिरहेको छ ।

    झा निकटस्थ स्रोतका अनुसार उनी मधेसमा सक्रिय सशस्त्र समूहहरुको विरुद्धमा थिए ।

    ‘मधेसमा रहेका सीके राउत लगायतका समूहको विपक्षमा उनको मत थियो । राउतको फ्री मधेस अभियानको झाले विरोध गर्दै आएका थिए’, स्रोत भन्छ, ‘जसका कारण झा ती समूहको पनि तारो बनेका थिए ।’

    यद्यपि, प्रहरीले हालसम्म यस विषयलाई झाको हत्यासँग जोडेर हेरेको छैन ।

    तेस्रो, आवेगः प्रहरीको नजरमा झाको हत्यापछि हुन सक्ने तेस्रो कारण चाहिँ आवेग हुन सक्छ । उनकै वरिपरि रहेका व्यक्तिले झासँग विवाद हुँदा क्षणिक आवेगमा आएर हत्या गरेको पनि हुन सक्छ ।

    प्रहरी अनुसन्धान यसतर्फ अलि बढी तेर्सिएको देखिन्छ ।

    चौथो, चोरी/लुटपाटः चोरी र लुटपाटमा संलग्न व्यक्तिले आफ्नो पोल खुल्न लागेपछि कतिपय अवस्थामा घरमा रहेका व्यक्तिको हत्या गर्ने गरेको पाइन्छ ।

    ‘वृद्ध व्यक्तिको निन्द्रा कमजोर भएका बेला चोरी वा लुटपाटमा संलग्न व्यक्तिले चल्मलाएको वा कराएको देख्दा पोल खुल्ने डरले हत्या गरेका घटनाहरु पनि छन्’, एक अनुसन्धान अधिकारी भन्छन् । तर, यो घटनामा झाको घरमा राखिएका कुनै पनि सामान तलमाथि भएका छैनन् ।

    ‘घरमा बहुमुल्य सामान वा नगद राखिएको अवस्था छैन’, परिसरका प्रमुख लामाले भनिसकेका छन् । यदि चोरी वा लुटपाटमा संलग्न व्यक्तिले झाको हत्या गरेको भए अनुसन्धान केही जटिल हुने थियो । तर, घटनास्थलको वस्तुस्थितिले त्यसतर्फ संकेत नगरेको एसएसपी लामा बताउँछन् ।

    आत्महत्या ?

    वृद्धवृद्धादेखि विभिन्न व्यक्तिहरुले आफ्नै टाउकोमा बञ्चरो हानेकोदेखि आफ्नै पेटमा छुरा हानेको जस्तो कल्पनै गर्न नसक्ने किसिमले आत्महत्या गरेको घटना पनि सार्वजनिक नभएका होइनन् ।

    झाको घटनामा पनि प्रारम्भिक अवस्थामा कतिपयले उनले आत्महत्या गरेको हो कि भन्ने आशंका गरेका थिए । यद्यपि, उनले आत्महत्या नगरेको निष्कर्षमा अनुसन्धान पुगिसकेको छ ।

    झा सुतेको कोठामा रहेको झ्यालको जाली काटेको अवस्थामा भेटिनुले पनि उनको हत्या नै भएको पुष्टि गर्छ ।

    झाको टाउकोमा ३ पटक र घाँटीमा दुईपटक छुरा प्रहार भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । अनुसन्धानमा संलग्न विज्ञहरुका अनुसार एउटा मानिसले आफैंले आफैंलाई ५ पटकसम्म छुरा प्रहार गर्न सक्दैनन् ।

    ‘आफैंले ५ पटकसम्म छुरा प्रहार गर्नु सहज छैन । तैपनि झाको शरीरमा चोट गहिरो छ’, एक अधिकारी भन्छन्, ‘त्यसैले पनि यो सुसाइड हुन सक्दैन ।’

    अर्को कुरा, झा सुतेको कोठामा रहेको झ्यालको जाली काटेको अवस्थामा भेटिनुले पनि उनको हत्या नै भएको पुष्टि गर्छ ।

    लासको प्रकृतिले पनि झाको मृत्युमा शंका गर्ने थुप्रै ठाउँहरु देखाएको छ । यद्यपि, आइतबार रातिको यो पछिल्लो ‘हाइप्रोफाइल मर्डर’ केसका पछाडि कसको र के मनसाय भयो भन्ने विषय प्रहरी अनुसन्धानपछि नै खुल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal