News Portal

गाडी ‘ब्याक’ गरेर मान्छे मार्नेले उन्मुक्ति पाउने, बचाउन प्रयास गर्ने डाक्टरले चाहिँ जन्मकैद भोग्नुपर्ने ?

१९० पटक

यही भदौ १ गतेदेखि लागु हुने मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले ‘चिकित्सकले गल्ती गरेर बिरामीको ज्यान गए फौजदारी मुद्दा लगाउने’ विषय अहिले चर्चाको विषय बनेको छ। चिकित्सकहरूले यसको विरोध गरिरहेका छन्। यही सन्दर्भमा हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले वरिष्ठ न्यूरो सर्जन डा.बसन्त पन्तसँग गरेको कुराकानी :

अहिलेको ऐनलाई कसरी हेर्नुहुन्छ ?

गल्ती हुँदा छानबिन हुनुपर्छ। दोषीले सजाय पाउनुपर्छ। तर डाक्टरलाई अपराधीको रूपमा लिई आउन लागेको ऐन कुनै पनि दृष्टिबाट हाम्रो पक्षमा छैन। ऐनले डाक्टरलाई मात्र कसेर हुँदैन। गल्ती गरेमा डाक्टरलाई पनि कारवाही गर्नुपर्छ। यसमा दुईमत नै छैन। डाक्टरले गल्ती गर्दैन भन्ने पनि होइन, तर कुन ‘लेबल’को कारवाही गर्ने भन्ने विषय महत्त्वपूर्ण हो। यसमा पुलिसले थुनेर जेलमा राखेर छानविन गर्ने भन्ने कसरी आयो ?

के डाक्टर अपराधी हुन्? शल्यक्रिया गरेपछि मेरो हातमा हतकडी लाग्नसक्छ भन्ने थाहा पाउँदापाउँदै डाक्टरले किन शल्यक्रिया गर्छ र? बरु हात बाँधेर बस्छ। विशेषज्ञसँग सल्लाह नै नलिई हचुवाको भरमा ऐन संशोधन गर्नु दुःखद हो।

डाक्टरले उन्मुक्ति पाउनुपर्छ भन्ने तपाईँहरूको माग गलत होइन र?

त्यस्तो होइन, डाक्टरले गल्ती गरेको भन्ने प्रमाणित भयो भने किन नहुनु। डाक्टर पनि यही समाजका सदस्य हुन्। मुलुकको कानुन सबैले मान्नुपर्छ। अझ म त यदि यस्तो प्रमाणित भयो भने कडा कारवाही हुनुपर्छ भन्छु। पहिले पहिले भएको गल्तीलाई नि कारबाही हुनुपर्छ। दायाँ खुट्टा काट्नु पर्नेमा बायाँ खुट्टा काट्नु त्यो सरासर गल्ती हो यस्तो अवस्थामा यस्ता डाक्टर सजायको भागीदार हुनुपर्छ। तर सजाय भएको खै?

यस्ता ‘केस’मा पनि सजाय त भएको छैन नि? यस्तो बेला सरकार कहाँ हुन्छ? गाडी ‘ब्याक’ गरेर मार्ने  त्यस्तालाई सजाय नहुने हाम्रो देशमा उपचार गर्ने क्रममा तलमाथि पर्यो भने यस्तो सजायको प्रावधानले डाक्टरलाई हतोत्साही बनाउँछ। उनीहरूको मनोबल गिराउँछ।

अब यसको असर कस्तो होला त ?

हेर्नुस्, यसको असर सिधा बिरामीलाई पर्नेवाला छ। मेरो नै आज ‘ब्रेन ट्यूमर’को बिरामीको जटिल शल्यक्रिया छ। बिरामीलाई जे पनि हुनसक्छ। अब भन्नुस्। मैले शल्यक्रिया गर्ने कि नगर्ने ?बिरामीले शल्यक्रिया गर्नुभन्दा अघि मसँग ‘ग्यारेण्टी’ माग्नुभयो। मैले ‘म भगवान् होइन, ग्यारेण्टी दिन सक्दिन तर मेरो ज्ञान बुद्धिले भ्याएसम्म बचाउँछु’भनेँ।

यस्तो मानसिकता लिएर शल्यक्रिया कक्षमा पसेपछि कसरी काम गर्न सकिन्छ? डाक्टरले ‘रिस्क’ लिन चाहँदैनन्। बिरामीलाई बाहिर पठाउँछन्। कसले उपचार गर्छ यस्तो वातावरणमा यसको फाइदा मित्रराष्ट्रले उठाउँछन्।

यसले डाक्टर र बिरामीबीचको सम्बन्ध कस्तो होला?

कुनै पनि चिकित्सकले बिरामी उपचार गरेर नै माथि उठ्ने हो। उसलाई चिन्ता हुन्छ नि, उपचार गर्ने क्रममा ‘भवितव्य’ हुन सक्छ भनेर। ‘शल्यक्रियाविना रोगको उपचार हुन्छ’ भन्दै विज्ञापन गर्नेलाई छुट छ। त्यसलाई किन छुट? डाक्टरलाई मात्र किन बाँध्ने? बिरामी र डाक्टरबीच अहिलेसम्म सुमधुर सम्बन्ध छ, त्यो यसले बिगार्छ। एकातिर नेपाली डाक्टर सक्षम छन् भन्दै ‘मेडिकल टुरिज्म’को कुरा आएकोे छ अर्कोतिर यस्तो कानुन?

नेपालमा पछिल्लो समय स्वास्थ्य र शिक्षामा निकै राम्रो हुँदै गएको छ। विश्वमै दुर्लभ मानिने उपचार पनि नेपालमै सम्भव हुन थालिसेको छ। तर हाम्रा नेताहरु नेपाली डाक्टरलाई विश्वास नै नगरी विदेश जान्छन्। त्यो पनि सरकारी पैसामा। नेपालीले तिरेको करको पैसाले उपचार गरेर आउने अनि देशमै केही गर्नुपर्छ भन्ने डाक्टरलाई अपराधीको झै व्यवहार गर्ने ?

अहिलेको कानुनले उपचारका लागि देशबाहिर जाने प्रवृत्तिलाई मलजल गर्छ। यसले बिरामीलाई आर्थिक भार बढ्छ। यसबाट फाइदा लिने बिचौलियाको मनोबल बढ्छ। देशमा मेडिकल शिक्षा र उपचार राम्रो हुन थालेपछि यो के गर्न खोजिएको हो, मैले बुझ्न सकेको छैन। हामीले बाहिर देशमा ‘फेल’ भएका केस धेरै हेरेका छौँ। त्यसको प्रशंसा कहिल्यै हुँदैन।

अर्को कुरा अब हरेक टाउको दुखाइमा हामी ‘एमआरआई’ गर्न लगाउँछौँ किनभने पूरै जाँच नगरी औषधि दिँदा भवितव्य हुनसक्छ। तर अब हरेक बिरामीलाई १० हजार तिरेर एमआरआई गर्न लगाउने कि नलगाउने ?  यसले अन्ततः मार बिरामीलाई नै पर्ने हो।

अब समाधान के त ?

बिरामी मर्दा खुशी हुने डाक्टर को होला ? कतिपय शल्यक्रियामा यस्तो हुनसक्छ। ‘न्यूरो’ त अझ जटिल हुन्छ बिरामी ग्यारेण्टी खोज्न आइसके। अब कसरी ग्यारेण्टी दिने ? ग्यारेण्टीभन्दा डाक्टर र बिरामीको बिचमा विश्वास कायम रहनु महत्त्वपूर्ण हो। ‘एउटै डुंगामा पसेर यात्रा गर्ने’ भनेजस्तै आपसी विश्वासमा बसेर उपचार गर्ने हो। पार लाग्दा दुवै गन्तव्यमा पुगिन्छ। त्यसैले मैले भनेको हो, डाक्टर र बिरामीबीच सौहार्द सम्बन्ध हुनुपर्छ।

उपचारका सिलसिलामा कुनै घटना भए विशेषज्ञसहितको टोली बनाएर छानबिन गर्नुपर्छ। यदि दोषी पाइए कारबाही गर्दा हाम्रो केही आपत्ति छैन। अहिले नै एक समूह अस्पतालमा छुस्स केही भयो कि क्षतिपूर्ति माग्ने चिकित्सकलाई हात हाल्नेसम्म गरिरहेका छन्। यो कानुनले त झन् यस्ता समूहलाई प्रोत्साहन गर्छ।

म सामान्यदेखि अत्यन्त जटिल शल्यक्रिया पनि गर्छु। कतिपय बिरामीलाई चाहेर पनि बचाउन सकिन्न। तर यस्तो भनेर कामै छोड्न त मिलेन नि ? त्यसैले यो ऐनलाई संशोधन गरी सरकारले डाक्टरलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न जरुरी छ।

हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

प्रतिकृया दिनुहोस्

ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

ज्ञानेन्द्र न्यौपाने  रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ...

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

एजेन्सी : गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका...

तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ...

कांग्रेसले आयोजना गरेको खेलकुद कार्यक्रममा कम्युनिस्टको दादागिरी !

रुकुम : रुकुममा नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद  कार्यक्रम रोक्न सरकारले...

१० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया छिट्टै !

घनश्याम खड्का काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ  ।...