News Portal

  • जनआन्दोलनमा ४ छोरा गुमाएकी बेसहारा आमाको पिडा !

    हिमाली संचार संवाददाता
    ९२ पटक

    हेटौंडा, १५ जेठ : ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’ परिचय सुनाउन थालिन् ।

    हेटौंडा बजार नजिकै शान्तिनगरको सुकुम्बासी टोललाई ‘३७ घरे’ पनि भनिन्छ । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको उदयपछि बनेको यो सुकुम्बासी बस्तीमा ३७ घरपरिवार बसोबास गर्ने भएकाले टोलको नाम फेरिएको हो । ‘निको हुने घाउमा माक्रै खाटो बस्ने रहेछ बाबु,’ रत्तअल्पता र दमको बिमारले थलिएकी सुभद्रा बिस्तारै बोल्न थालिन्, ‘यो ३० वर्षमा एकपछि अर्को गर्दै मेरा ४ जना छोरा बेपत्ता भएको कुरो खाटो नबस्ने घाउझैं बनेको छ ।

    सुभद्रा ग्रहदशा कटाउने बहानामा ‘शनि पूजा’ हरेक शनिबार गर्छिन् । लिपपोत गरिएको साँघुरो कौसीमा बसेर कुराकानी गरिरहँदा कुनै घडी उनी केही सम्झेजस्तो गर्दै आफू सुत्ने खाटमुनिको कागजको थैलो झिक्न जान्थिन् । कुनै घडी बोरामा राखिएका पोकापोकीमाझ आफ्ना छोरा र श्रीमानको फोटो खोजिरहेकी हुन्थिन् । पिसाबबाट रगत जाने, एउटा किड्नी खराब भइसकेको र क्यान्सरको आशंका गरिएको उनको हालतले पनि हुन सक्छ, जति कुरा सम्झन खोज्थिन्, उति नै भक्कानिरहेकी पनि थिइन् ।

    दमले सताएका बेला सुघ्ने औषधि (एयरटेक एसएफ), रगत बढाउने औषधि (हेमप्लस) देखि ‘हेपाटप’ (सलभर टनिक) तथा ‘गौ अर्क’, ‘अविपत्तिकर’, ‘काञ्चना र गुलगुल’, ‘चन्द्रप्रभा वटी’ आदि एक दर्जनभन्दा बढी एलियोप्याथी होमियोप्याथी औषधिमूलो नित्य खाइरहन्छिन् ।

    साथमा पैसा नभएर एक महिनायता यो तालिका छुटेको छ । ‘यहाँ बिहानबेलुका कसरी छाक टार्ने भन्ने स्थिति छ । साहुले दिएको चामलदालको पैसा तिर्न सकेकी छैन । औषधिमूलो त टाढाको कुरा भयो बाबु,’ सुभद्राले गहमा आँसु झार्दै सुनाइन् । बाल्यकालमा एकदमै फरासिली र उत्सुक स्वभावकी सुभद्रामाया धुलिखेल, काभ्रेमा जन्मिएकी थिइन् ।

    काभ्रेकै फलामटारमा उनको ९ वर्षकै उमेरमा बिहा भएको थियो, २५ वर्षे नेत्रबहादुर दर्नालसँग । पहिलो सन्तान उनी १२ वर्ष उमेर छँदै जन्मियो, तर केही घण्टामात्रै बाँच्यो । फेरि १४ वर्ष पूरा नहुँदै अर्की छोरी जन्मिई । त्यो पनि उमेरमा २ वर्ष नलाग्दै बिती । ‘अनि त्यो ठाउँ फापेन भनेर मेरा बूढाले २०२२ सालमा हेटौंडाको हटिया बसाइँ ल्याएका हुन्,’ सुभद्राले सम्झिन्, ‘यता आएर सन्तान त अडिए तर दुःख र संघर्ष भने झनै बेहोर्नै नसकिने गरी थपिँदै गए ।

    सुभद्राले हटियामा खुरुखुरु ८ सन्तान जन्माइन्– ५ छोरा र ३ छोरी । ‘मैले जति कष्ट त संसारका कुनै आमाले पनि गरेका छैनन् होलान् बाबु,’ छोराछोरी हुर्काउँदाका दिन सम्झेर सुभद्रा भन्दै थिइन्, ‘एउटै डोकोमा छोराछोरी र गाग्री सँगै बोकेर पानी लिन जानुपर्थ्यो ।

    आफू बाँच्ने कि छोराछोरीलाई बचाउने भन्ने डरत्रासबीचमै तिनलाई हुर्काएकी थिएँ ।’ श्रीमान नेत्रबहादुर भने सुरुका वर्षहरूमा दर्जी पेसामा थिए । पछिल्ला वर्षमा उनी धामीझाँक्री पेसा र समाज सेवामा लागे ।

    उनको पनि ८० वर्षको उमेरमा ७ वर्षअघि निधन भइसकेको छ । ‘आफू त भातभान्सा र घरधन्दामै सधैंभर डुबिरहें,’ सुभद्रा सम्झिन्छिन्, ‘छोराछोरीले ५ कक्षाभन्दा माथि पढ्न नसके पनि सिलाइबुनाइ पेसामा हात बसालिसकेका थिए, जेठो काजी र माइलो भक्तले त राम्रैगरी सीप सिकेका थिए । तर, केको देस्यानले छोयो छोयो, सबै जना आँखाबाट ओझेल पर्दै गए ।

    सुभद्राका बुझाइमा कामधन्दा र सीप सिकिरहेकै बेला २०/२२ वर्षे जेठा र माइला छोरामा एकैचोटि गाउँघर बदल्ने, देशको अनुहारै फेर्ने धुन चढिसकेको थियो । देशमा जनआन्दोलनको लहर बढ्दै गएका बेला २०४५ सालको अन्तिमदेखि दुई दाजुभाइ काजी र भक्त जुलुस, भेलामा कुद्न थालिसकेका थिए । कहिले दिउँसै हराउँथे, कहिले राति ।

    २०४६ चैत २६ मा बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि ‘अब प्रजातन्त्र आयो, देशमा राम्रो हुन्छ, हामी गरिबदुःखीले नि बोल्न, लेख्न र गरिखान राम्ररी सक्छौं’ भन्दै जेठा–माइला देशको झन्डा बोकेर जुलुसमा गएका थिए रे । ‘उनीहरू आफूलाई बहुदले पार्टी मात्रै भन्थे,’ सुभद्राले सुनाइन् ।

    नाममा प्रजातन्त्र आए पनि आफ्नो घरधन्दा र बिहानबेलुकीको जोहो टार्ने समस्या आफैंसँग थियो । त्यसमाथि जेठा(माइलाकै बिहा भइसकेकाले रोजीरोटी र गरिखाने निहुँमा दर्नाल परिवारमा तनाव थपिएकै थियो ।

    ‘२०४८ वैशाख २९ मा चुनाव भएलगत्तै जेठ ५ गतेका दिन दुवै जना दाजुभाइ (काजी र भक्त) ‘हामी बजार गएर आउँछौं’ भनेर निस्कनुभएको थियो, सामान्य फिते चप्पल र सर्ट(पाइन्टमा निस्कनुभएका उहाँहरू कहिल्यै घर फर्किनुभएन,’ माइलो भक्तबहादुरकी श्रीमती निर्मला दर्नालले सुनाइन्, ‘अनेक खोजबिन गर्‍यौं, अड्डाअदालत गयौं, कतै भेटिएनन् ।

    निर्मला पनि सुकुम्बासी बस्तीकै बासिन्दा बनेकी छन् । उनीसँग आफ्नो श्रीमान्को सम्झना र चिनो भनेको एउटा धुमिल बनिसकेको नागरिकता मात्रै छ । श्रीमान्ले आफूलाई छाडेर हिँड्दा साथमा दुईवर्षे छोरी जन्मिसकेकी थिई । त्यही छोरीतर्फबाट जन्मेकी एक नातिनीलाई पढाउने(हुर्काउने काम गरेर निर्मला सुकुम्बासी टोलमा बसिरहेकी छन् ।

    जेठो छोरा काजीबहादुर दर्नालको त त्यही नागरिकता वा फोटो पनि कतै भेटिएन । आमा सुभद्रासँग पनि जेठो छोराको हुलिया मात्रै मानसपटलमा आइरहन्छ । अहिले हटियामै बस्ने काजीकी श्रीमती बुद्ध दर्नालका अनुसार २०४८ वैशाखको चुनावमा एक महिनाजति ‘म्यादी प्रहरी’ समेत बनेका श्रीमान् जेठ ५ गते अफिस (प्रहरी कार्यालय) जान्छु भनेर घर छाडी हिँडेका थिए । श्रीमती बुद्धले काजीको म्यादी प्रहरीको परिचयपत्रसमेत देखाइन् । काजीसँगै उनका भाइ भक्त पनि म्यादी प्रहरीमै भर्ना भएका थिए ।

    ‘त्यही वर्ष असारतिर भारत, दिल्लीको ठेगाना राखेर एउटा चिठी आएको थियो रे । हामी आउने दसैंमा फर्कन्छौं भनेका थिए रे,’ फेरि बूढी आमा सुभद्रा सुस्केरा छाड्दै भनिरहेकी थिइन्, ‘न त्यस्तो दसैं कहिल्यै आयो, न छोराहरू नै फर्किएर आए ।’ तर, यो चिठीको कुरा पनि ‘अरे’ मात्रै रहेछ, यसको प्रमाण पनि कोहीसँग थिएन । हेटौंडाबाट बाबु नेत्रबहादुरले त्यो चिठीको ‘जवाफ’ फर्काएका थिए, तर ‘ठेगाना मिलेन’ भनेर हुलाकले चिठी फिर्ता गरिदिए ।

    सुभद्राको साइँलो छोरा भीमबहादुर भने हटिया गाउँबाट काठमाडौंमा रोजीरोटीका लागि छिरेका रहेछन् । ‘जग्गा किनबेचको काम गर्छु भन्थ्यो,’ सुभद्राले सुनाइन्, ‘यहाँ हटियामा १० कट्ठाजति हाम्रो जमिन थियो, त्यो बिक्री गरेर आएको पैसामध्ये अलिकति साइँलो छोराले लिएर गएको थियो । बाँकी रहेको पैसा श्रीमानले यताउता गरेरै सके । सुकुम्बासी बनेर १० वर्षअघि यो टोलमा बस्न आएकी हुँ ।

    कुनै रोग लागेर साइँलो छोरा भीमको ४ वर्षअघि काठमाडौंमै निधन भएपछि शव आफ्नो बस्ती नजिकै कुख्रेनी खोलामा ल्याएर सुभद्राले अन्तिमसंस्कार गरेकी थिइन् ।

    गणतन्त्रको पालो !

    हटिया गाउँघरमै फुर्सदमा हिँडिरहेका दुई अल्लारे उद्धव र अमृत दर्नाललाई आफ्ना जेठा र माइला दाइहरूकै जस्तो ‘देश बदल्ने’ हावाले लपेटिसकेको थियो । अबको पालो प्रजातन्त्र होइन, गणतन्त्रकै थियो । ‘कान्छो र काइँलो छोरो पनि यस्तै कुनै आन्दोलनमा लागेको कुरो मैले २०५८ सालपछि थाहा पाएकी थिएँ,’ आमा सुभद्राले सुनाइन्, ‘कता हो कता, बम पड्क्यो रे ।

    अनि कता हो, कति माउवादी हो कि पुलिस मरे अरे भन्ने म पनि सुनिरहन्थें । दुई छोरा २०४६ सालको आन्दोलनमा लागेर बित्थामा बेपत्ता भएको पीडापछि बाँकी छोराहरूको आशा बाँचेकै थियो, कान्छो र काइँलो पनि आन्दोलनमा लागे अरे भन्ने थाहा पाएर म खुबै रोएकी थिएँ । घरै बसेर गरिखाओ, माउवादीमा नलाग, जुलुसमा नहिँड भनेकी हुँ । पिटिक्कै टेरेनन्, आमाको बोली सुनेकै होइन ।

    आमाको मनमा ढ्याङ्ग्रो बजिरहेकै बेला २०६० पुस २५ मा काइँलो छोरा उद्धव (रञ्जित) र पुस २८ मा कान्छो छोरा अमृत दर्नाललाई नेपाली सेनाले पक्राउ गरेको खबर भुसको आगो फैलिएसरह भएको थियो । त्यस बेला अमृतकी छोरी अस्मिसा भर्खरै १ वर्षकी थिइन्, हटिया गाउँमै आमा–हजुरआमासँग हुर्कंदै थिइन् ।

    ‘मेरा श्रीमान बेपत्ता भएका छोराहरू खोज्न भनेर अड्डा अदालत, मानव अधिकार सबैतिर गए । तर कहींकतै केही भएन,’ सुभद्राले भनिन्, ‘जनताको सेवा गर्ने हो, रगत बहे पनि जनताकै लागि बग्छ भन्थे । सबै कुरा सपनै भयो बाबु मलाई । मेरा दुःख, कष्ट, छोराछोरी, श्रीमान सबै सपनाजस्तै भए । मलाई विपना केही पनि भएन । विपनामा उही म आफू लुखुरलुखुर हिँड्छु, त्यत्ति हो ।

    एक दिन दुई दिन गर्दै महिना बिते, वर्ष बिते । राष्ट्रसंघीय मानव अधिकार, आईसीआरसी र अरू छानबिन समितिले पनि उद्धव(अमृतलाई बेपत्ता नागरिकको सूचीमा राख्यो । ‘नेपाली सेनाले राष्ट्रद्रोहीको संज्ञा दिँदै दुवै जनालाई (भैरवनाथ गणमा) मारिसकेको’ विश्वास बढ्दै गयो । त्यही बेला राज्यले दिने १० लाख रुपैयाँको राहतमा लुछाचुँडी सुरु भयो ।

    सुभद्राका अनुसार काइँलो छोरा उद्धवका नाममा आएको पैसा उसैकी श्रीमतीले लिएर अरू कतैतिर घर बसाल्न गइसकी भने कान्छो अमृतको राहत रकमबाट ५० हजार रुपैयाँ उसैकी छोरी (अस्मिसा) का नाममा राखिदिएकी छन् । बाँकी पैसा उनका श्रीमान् (नेत्रबहादुर) ले बेपत्ता छोराहरूको खोजबिनमा अड्डाअदालत धाएरै र अरू केही पैसा आफैंले स्वास्थ्य उपचारमा खर्चेर सकिसकेको उनले बताइन् ।

    ‘छोरा भए १० लाख मात्रै कमाउँदैनथे होलान् । पाल्थे पनि होलान्, पोल्थे पनि होलान् । म त बिहालमा छु नानी । भनौं कसलाई भन्ने, गरौं के गर्ने ? उमेर भए पनि त यसो मेलापात गरेर गरिखान्थें..,’ सुभद्रा गहमा भरिएर बोल्दै थिइन्, ‘म त कस्तो भाग्य लिएर आएकी रैछु ! ‘छोरा जम्मै खाइसक्या बूढी’ भन्नेहरू पनि यहीं छन् । अनेक दुःख, हन्डर काटेर हुर्काएकी थिएँ छोराहरू । छोरा सम्झना आए आकाशतिर फर्कनुपर्छ, धर्तीमा कोही छैनन् ।

    कथा सकियो, ब्यथा बाँकी !

    सुभद्राले जनआन्दोलन भनेर २ वटा छोरा (जेठो र माइलो) कुदिरहेका बेला ‘ठीकै छ नि त, अरू ३ छोराले बाटो समात्लान्’ भन्ने ठानेकी थिइन् । मेरो इच्छा, सपनाका कुरा कहिल्यै कसैले सोचेन । न छोराले केही सोधे, न श्रीमानले नै कहिल्यै ‘तँलाई के मन पर्छ ?’ भनेर सोधे,’ दमले चेपेको स्वरमा रोकिँदै उनले भन्दै थिइन्, ‘यो मन घट्टमा पानी लगाएपछि घुमेको फोहोरा जस्तै हुन्छ बाबु । उमेर र समयका आधारमा यो मेरो घट्ट घुमाई कम होला कि भन्ठान्छु । अझै जोडजोडले घुमिरहेको छ । यो एक मुठ्ठी सास रहिन्जेल घुमिरहन्छ होला ।’

    सुभद्राका ३ छोरीहरू हेटौंडा, पालुङ र काठमाडौंमा आफ्नै घर गरी खाइरहेका छन् । सुकुम्बासी बस्तीमा एक्लै बनेकी आमाको भरथेगमा त्यति आइरहन भ्याउँदैनन् । उमेरमा १७ वर्ष लागेकी नातिनी अस्मिसा साथैमा छिन् । ८ कक्षा पढेर छाडेकी र ब्युटी पार्लर तालिम लिएकी नातिनीलाई काम खोजिदिन सुभद्रा आफ्ना छेउ जो आए पनि हारगुहार गरिरहेकी हुन्थिन् ।

    ‘नेताहरू मुखै देखाउँदैनन्, भोट माग्ने बेला नानाथरी कुरा गर्दै हाम्रो छाप्रोसम्म आएका थिए, मलाई पनि जुलुसमा लिएर गएका थिए । सुकुम्बासीलाई घर बनाइदिन्छौं भन्थे । अहिले नेता कहाँ होलान् भनेर टीभीमा हेर्नुपर्छ, रेडियो सुन्नुपर्छ,’ उनले थपिन् ।

    बेपत्ता बनेका आफ्ना ४ जनै छोरालाई आमा सुभद्रा सपनामा देखिरहन्छिन् । नजिकै कुख्रेनी खोलामा साइँला छोरा र आफ्ना श्रीमानको आफैंले काजक्रिया गरेकाले होला, तिनीहरूले भने सपनामा त्यति सताउँदैनन् ।

    सपनामा म आफूलाई टाढाटाढा उडिरहेको देख्छु, बेपत्ता भएका छोराहरूको अनुहार झल्को आएर तिनलाई पछ्याउन खोजेजस्तो देख्छु,’ पढेरभन्दा परेर जीवन–जगत् बुझेकी सुभद्रा भन्छिन्, ‘कहिलेकाहीं त कस्तो लाग्छ भने यो हामी आमाको जात भनेको छोराछोरी, लोग्ने सबैका लागि खेलौनाजस्तै मात्रै हो ।

    आउँछन्, खेल्छन् अनि जान्छन् । दुई दिनका लागि आए, खेल खेले, गए । यसरी विपत् पर्ने बेला एउटैलाई मात्रै पर्दोरहेछ कि ? काखमा ५/५ भाइ छोरा थिए, सबै आज बिलाए । सम्झँदा छाती चिरिन्छ, रोएरै आँसु पनि अब त सुकिसक्यो ।

    बेपत्ता छोराहरूकी यी आमासँग कुनै आधिकारिक परिचयपत्र छैन, न द्वन्द्वपीडितकै परिचय छ । सुकुम्बासी समस्या समाधान समिति (नम्बर ७३३) को परिचयपत्र भने साथमै छ । एकल महिलाको परिचयबाट आउने मासिक १ हजार रुपैयाँ पनि उनका लागि नुनतेल किन्ने राहतझैं बनेको छ ।

    ‘यो मेरो लेखान्त होला । अगाडि बाटोमा हिँडिरहेका अर्काका हुर्केका छोरा देख्ता ती मेरा दूधका धारा खाएका छोराहरू आज कता होलान् नि भन्ने लाग्छ । रोएर कराएर भेटिन्न, के गर्नु ? बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले लैजान्छ,’ सुकुम्बासी बस्तीबाट बाटा लाग्नै लाग्दा पनि आमा सल्लाझैं सुसाइरहेकी थिइन् ।

    द्वन्द्वकालीन मुद्दा गफमात्रै ?

    माओवादी ‘जनयुद्ध’ लाई लिएर मानव अधिकारका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रावधान केलाउन ‘संक्रमणकालीन न्याय’ का जेजति दफा पल्टाए पनि समस्या र कठिनाइ यथावत् रहेको सुभद्रा दर्नालकै उदाहरणबाट पनि हेर्न सकिन्छ ।

    ‘सत्य निरूपण, बेपत्ता आयोग अथवा द्वन्द्व निरूपणका नाममा जेजति समिति बने पनि व्यवहारमा उपलब्धि निराशाजनक छ,’ विगतमा शान्ति समितिमा रहेका स्थानीय तेजबहादुर चौंलागाईं भन्छन्, ‘पीडित परिवारका लागि राज्यले के गर्न सक्यो त ? रोजगार, स्वास्थ्य, शिक्षाको अवसर कहाँ दिइएको छ त ?

    सुभद्राकै सन्दर्भमा पनि उनको प्रारम्भिक परीक्षणमा क्यान्सर रोग आशंका गरिएको थियो । थप खर्च लाग्ने भएकाले विशिष्ट परीक्षणमा उनी जान सकिरहेकै छैनन् । दलित आयोग, मानव अधिकार आयोगहरू पनि सुभद्राजस्ता पात्रबारे ‘बेखबर’ झैं छन् । बेपत्ता कान्छो छोरा अमृतकी छोरी (नातिनी) का लागि उनले सानोतिनो रोजगारी खोजी गरेको महिनौं भइसकेको छ ।

    अधिकारकर्मी चौंलागाईंका अनुसार मकवानपुर जिल्लामा मात्रै द्वन्द्वकालमा २०९ मृतक, ३५ बेपत्ता, ७५ अंगभंग, ४२ सम्पत्ति क्षति र ४ सय ३० जना यातनापीडितका रूपमा सूचित छन् । उनका अनुसार २०६० सालमा आफ्ना दुई छोरा (उद्धव र अमृत) बेपत्ता भएपछि बाबु नेत्रबहादुरले सर्वोच्च अदालतसम्म धाएर राज्यका नाममा ‘कि सास कि लासको माग राख्दै’ उजुरी दिएका थिए । सर्वोच्चका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठले बेपत्ता यी दुई नागरिकको यथास्थितिबारे १५ दिनभित्र जवाफ दिन सरकारलाई आदेश पनि दिएका थिए । तर, सर्वोच्चबाट पनि दर्नाल परिवारले न्यायको अनुभूति पाएन ।

    अर्का स्थानीय सामाजिक अभियन्ता, कमल विश्वकर्माका बुझाइमा सुभद्राका श्रीमान नेत्रबहादुर स्वयं जातीय छुवाछूतविरुद्धको आन्दोलनमा लागेका थिए । नेपाल उत्फीडित जातीय मुक्ति समाजका सत्रिय कार्यकर्ता रहेका नेत्रजस्ता ‘दलित, सीमान्तकृत र वर्गीय विभेदमा परेको समुदायलाई नै राजनीतिक दल र नेताहरूले सबैभन्दा बढी आफ्नो स्वार्थमा उपयोग गर्दै’ आएका छन् ।

    सुझद्राकै घरमा संक्रमणकालीन न्यायका हकअधिकारदेखि दलित मुत्तिबारेका पर्चासम्म राखिएको भेटियो । तर, त्यसको अर्थ र उपयोगबारे असाक्षर सुभद्रा पुरै बेखबर थिइन् । ‘नेतागणका मीठा र चिप्ला कुरामा सबैभन्दा छिटो भर पर्ने वर्ग पनि यही हो,’ मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र, नेपालसम्बद्ध कमलले सुनाए, ‘हुँदाखाँदाको जायजेथा–जमिन र सन्तानले भरिएको एउटा दलित परिवारलाई कसरी सबै अर्थमा राज्य र राजनीतिक दलहरूले सुकुम्बासी बनाउन सक्छन् भन्ने उदाहरण हेर्न सुभद्रा आमाको जीवनलाई हेरे पुग्छ। (कान्तिपुरबाट)

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा चर्चित गायक निशान भट्टाराईले यसरी धमाका मच्चाए

    कुवेत : अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ भव्य रुपमा सम्पन्न...

    तपाईंको राशिफल : आज २०७६ असार १ गते आइतबार, सन २०१९ जुन १६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कोहलपुरका मृगौला पीडित हेमन्त सिंह ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या (भिडियो)

    ज्ञानु संगम खड्का बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त...

    नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा...

    तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

    मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ ।...