News Portal

  • कम्युनिस्ट सरकार पूर्ण असफल, मध्यवधी निर्वाचन गरौं !

    डा.ज्ञान बस्नेत
    १२४ पटक

    कम्युनिष्ट पार्टीले चलाएको दुई तिहाइको सरकार एक वर्षभन्दा बढी समय देशमा बेथिती गरेको छ । उपलब्धी खोई ? नेपाली जनतालाई नयाँ के अनुभूति भयो त ? सरकार अराजकतातर्फ उन्मूख छ, सर्वत्र भद्रगोल बनाइएको छ । समग्रमा सरकार र नेकपा भित्र घोर सैद्धान्तिक र नैतिक विचलन देखिएको छ । स्थायी सरकार राष्ट्र र समाजको लागि अभिशाप जस्तो देखिएको छ । स्थिर सरकार र बहुमतले मात्रै हुँदैन की के हो भन्ने परेको छ । गिरोहको कब्जामा मुलुक फसेको देखिएको छ ।

    सरकारको एक वर्षे कार्यकालको उपलब्धीको मूल्यांकन गर्दा वर्तमान सरकार कार्यनीति, रणनीति, विकास नीति तथा विदेश नीति सबैमा पूर्णत असफल देखिएका । राजनैतिक संस्कार र पद्धति नै भत्काउने काम भएको छ । जनमतकै ठूलो अपमान भएको छ । अन्याय, राजनैतिक भागवण्डा, कानूनको शासनको उल्लंघन, नातावाद र कृपावाद अनि संस्थागत भ्रष्टाचारमा यो सरकारले रेकर्ड नै बनाएको पक्का हो ।

    भ्रष्टाचार, लुट, सार्वजनिक सम्पत्तिको दोहन यति बढेर गएको छ की राज्यका सारा सम्यन्त्र दलदलमा फसेको छ । राज्य र यसका संम्यन्त्रमा जनअविश्वास आकासीएको छ । घु नखुवाएसम्म कुनै काम हुँदैन भन्ने जनतामा छाप परेको छ । सरकारको नीतिमै भ्रष्टाचार छ । विभेद छ । अहंकार छ । सरकारको नीति मै सामाजिक सद्भाव विथोल्ने छ । स्पष्ट रुपमा भन्नु पर्दा पहिला सिंहदरवारको सेरोफेरोमा हुने लुट आज गाँउगाँउमा, टोलटोलमा पुगेको छ । ठेक्कापट्टा र विकास निर्माणको नाममा जनताको करको दोहन गरीएको छ ।

    सुनकाण्ड, आयल निगम घोटाला र वाईड बडी काण्डहरू त देखिने हर्कतहरू मात्रै हुन् । यस्ता अदृष्य पर्दा पछाडि हुने आर्थिक चलखेल त अनुमान मात्रै गर्न सकिन्छ । सहयोगको नाममा सरकारले राज्यकोषबाट अर्बौं रुपियाँ आफ्ना आसेपासे र कार्यकर्तालाई बाँड्ने काम गरेको छ । भ्रष्टाचारको हद कस्तो छ भन्ने कुरा त भ्रष्टाचार रोक्नको लागि स्थापित संस्थाको आयुक्तको शक्तिको दुरुपयोग र राजीनामाले नै प्रष्ट पारेको छ । यी हर्कतहरूले त राज्यसत्ता र सरकार नै खराब कुरा वा खराव संस्था हो की के हो भन्ने भान जनमानसमा परेको छ ।

    यो सरकारका प्रधानमन्त्री र मन्त्रीहरू अर्कोतिर समृद्धिको बखान गर्न भने छोड्दैनन् । उदेक लाग्दो कुरो यही हो । भ्रष्टाचार र सु—सम्पन्नता भनेको त विपरित कुरा हैनन् र ? एउटा मेयर र उपमेयरले समेत २ करोडको गाडी किन चढ्नु प¥यो ? एउटा वडाध्यक्षले लाखौंको गाडी किन चढ्नु पर्‍यो ? गरिव देशको राष्ट्रपतिलाई किन चाहियो १८ करोडको गाडी ? यहाँ ६० प्रतिशत जनता गरिवीको रेखामुनी बाँच्न बाध्य बनाइएको छ । यथार्थता यो हो । यस्तो विलासिता किन ? राष्ट्रको औकात अनुसारको गाडी चढे के बिग्रीन्थ्यो ? राज्यको औकात र आयश्रोतभन्दा लाखौं गुणावेशी यसको जनप्रतिनिधिको लागि खर्च गरिनु पनि खुल्ला र संस्थागत भ्रष्टाचारको नामसद नमूना हो भन्छु म । यस्तै हुन्छ त कम्युनिष्ट शासन ? यस्तै हुन्छ त समाजवादबाट साम्यवाद उन्मूख सरकारको चालढाल ? मार्क्स र लेनिनको साम्यवादमाथिको वकालत यसैका लागि थियो त ? हैन भने यो भ्रम कहिलेसम्म ?

    विश्वभरि नै मार्क्सको नाममा, साम्यवादको नाममा शासकहरूले हत्या, हिंसा, दमन, पीडा र भोकमरी अनि उत्पात मच्चाए र मार्क्सको सुन्दर दशनको हुर्मत लिए । हाम्रो मुलुकमा त यस्तो मानवतावादी दर्शनमाथि कालो धव्वा नै पोतिदिए । एउटा कालखण्डमा सामन्तिहरूको सफाया गर्ने नाममा मानिसहरूको टाउको छिनाल्ने काम भयो । अर्को कालखण्डमा गणतन्त्रको नाममा ४० बुँदे माग अगाडि सारेर नरसंहार नै गर्ने काम भयो ।

    आज समृद्धि र सुशासनको नाममा हुँदैछ । नयाँ राष्ट्रवादको नाममा हुँदैछ । क्रिश्चियन मिसिनरीको ‘पवित्र जाँड’ पिएर हाम्रो मौलिक संस्कृति र जीवनपद्दतिको हत्या हुँदैछ । सामाजिक संस्कृतिको हत्या, नरहत्याभन्दा पनि भएंकर हुन्छ । अन्तत्वगत्वा राष्ट्रकै हत्या हुनेछ । समग्रमा आज यो राष्ट्र क्रिस्चियन फौजीहरूको हातमा पुगेको छ ।

    भित्री कारण व्यक्तिगत स्वार्थ र शक्ति लोलुपता भएपनि नयाँ अभ्यासको नाममा संसरमा कतै नभएको एउटै पार्टीको दुई अध्यक्ष राखेर विश्व जगत हसाएका छन् नेपालका कथित कम्युनिष्ट शासकहरूले । मेरो मस्तिष्कमा एउटा प्रश्न सधैं उठिरहन्छ यदि कार्ल मार्क्स लण्डन हाइगेट सिमेट्रीवाट जिउँदो उठेर नेपाल आए भने हाम्रा कथित सर्वहारावर्गको नेतृत्व गर्ने नेतृत्वहरू, यिनका आसेपासे प्यादाहरू र यिनीहरूको जीवनशैली र शासन पद्धतिको तौरतरिका देखेर के सोच्दा हुन् ?

    डा.गोविन्द केसी पो साम्यवादी देखिए । मार्क्सवादले दिन सिकाउछ, लिन हैन । उत्थान सिकाउँछ, दमन हैन । मानव मुक्तिको वकालत गर्छ उनको दर्शनले । हिम्मत भए डा.केसीलाई नेकपाको अध्यक्ष बनाई दिए हुन्छ । पार्टीको साख जोगिन्छ नि थोरै भएपनि ।
    विकास के हो, कस्को लागि र कस्तो हुनुपर्छ भन्ने ठुलो सैद्धान्तीक विवाद हुँदाहुँदै पनि विकास समृद्धि र सुशासनको एउटा सानो पक्ष भने पक्कै हो । समृद्धि र सुशासनको खोक्रो नारा बेचेर बहुमतको मत बटुलेका अहिलेको वामपन्थी सरकारको विकास यात्रा भने झनै उदेक लाग्दो छ । विकासको खाका समेत छैन । गोरेटो समेत कोरेको छैन । चुनावी नारा र घोषणा पत्रका बाचाहरू फोहोरको टोकरीमा मिल्काए यिनले ।

    दुई तिहाई सरकारको विकासको हलो त केवल भ्यूटावर, पानी जहाज र रेलमा गएर अड्केको छ । कथा मात्रै भएको छ । गरिव र निमुखा यो सरकारको प्राथमिकतामा पर्नै सकेन । हरेक तप्का र तहमा विधि र प्रकृया मिचिएको छ भने राज्यको हरेक संयत्र पार्टीकरण वा नेकपाकरण गरिएको छ । उदाहरणको लागि विकासको प्राथमिकता नहेरी झापामा झण्डै ३ अरवको लागतको १८ तले टावर बनाउने जस्ता हर्कत देखाएर यो सरकारले विकासको कस्तो मोडेल प्रस्तुत गर्न खोजेको हो ? वुझिनसक्नु छ । कथित ठूला नेताहरूको जिल्ला वा क्षेत्रमा मात्रै विकासको सवै योजना थुर्पाने प्रवृत्ति आज पनि किन यथावत ? गम्भीर बहसको खाँचो टड्कारो देखियो ।

    यो देशमा वितेका दुई दशकमा १९ प्रधानमन्त्रीले जागीर खाएछन् प्रधानमनत्रीको रुपमा । सबैले मेलम्चीको पानीको सपना देखाए । पानी खोई ? यस्तो तालले कसरी आउछ समृद्धि ? सभ्रान्त परिवारको दिवंगत भरतमोहन अधिकारीको उपचार खर्च राज्यले ब्यहोर्ने सरकारी निर्णय ६० प्रतिशत जो गरिवीको रेखामुनि बाँच्न वाध्य वनाइएका नेपाली जनताको उपहास हो की हैन ? हुँदाहुँदा अब राष्ट्रिय राजनीतिमा गरेको योगदानको आधारमा मृत्यु पर्यन्त राज्यले दिने राष्ट्रिय सम्मानको पनि हँसिमजाक वनायो यो दुई तिहाईको सरकारले । यो विषयमा गम्भिर छलफल गरी एउटा स्थाई थिति बसाउने चेष्टा गरोस् सरकारले । ताकी भविष्यमा कुनै पनि सरकारले मनलागी गर्न नसकोस् ।

    वितेका तीस वर्षमा हाम्रो परनिर्भता झनै बढेको छ । परनिर्भर मुलुक हो हाम्रो । ल्याएर, किनेर खाने । उत्पादन छैन । निर्यात केही छैन । यस्तो विकासको मोडेल र गतीले नेपाल एउटा भारतको एकाधिकार वजार भन्दा माथी कहिले उठ्छ ? हामी किनेर खाने उपभोक्ताभन्दा माथी कहिले उठ्ने ? हामी नागरिक कहिले बन्ने ? मुर्ख शासकहरूको कारणले भेनेजुयला, कम्बोडिया, सोमालिया र सिरिया अनि अरु अनेक मूलुकका जनताले भोगेको पिडा र दर्दनाक कथा हामी पढ्छौं, सुन्छौं ।

    नेपाल पनि त्यही वाटोमा छ भन्ने कुरा विर्सनु हुँदैन । यस्तै तालले देश आर्थिक रुपमा टाट पल्टन समय नलाग्न सक्छ । शासक र शासन व्यवस्था खराब भएपछि के हुने रहेछ भन्ने कुरा भेनेजेयलाको उदाहरण नै काफी छ । दक्षिण अमेरीकाको सबैभन्दा प्रजातान्त्रिक र सम्पन्न मुलुक आज कहाँ पुग्यो ? दुई जना राष्ट्रपति छन् त्यहाँ अहिले । जनता भोकै छन् । मुद्रास्फीति लाखौं प्रतिशतले बढेको छ ।

    भिषण गृहयुद्धको चरणमा रहेको त्यो देशको जनतालाई सडकमा पु¥याइएको छ । थोरैले अझै मोजमस्ती गरेका छन् । तर तानाशायी सत्ता ढल्दो छ । नेपालका शासकहरूले पनि सिकुन यी विश्व परिघटनाहरूबाट । तर, यिनले सिक्ने छाँट देखाएनन् । जनताप्रति थोरै इमान्दारीता पनि प्रर्दशन गरेनन् । यो डरलाग्दो अवस्था हो ।

    नागरीक स्वतन्त्रता र मानव अधिकार संरक्षणको जति बखान गरे पनि समाजमा दण्डहीनताले जरा गाडेको छ । हत्या, हिंसा र बलात्कार बढेको छ । समाज अस्थिर र असुरक्षित बन्दैछ । वोल्न पाँउने र लेख्न पाउने अधिकारमाथि राज्यले दमन गरेको छ । समग्र सञ्चारमाध्यमलाई भएभित गर्ने, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विभिन्न विधेकहरू संसदमा विचारधीन छन् । जुन संविधानको मर्मसंग मेल खाँदैन ।

    अधिनायकवादको पहिलो खुड्किलो कला, संगीत र साहित्यमाथीको प्रहारबाट शुरु हुन्छ भनिन्छ । गीत संगीत जस्तो विषयमा प्रतिवन्ध लगाएर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माथि धरपकड गरेर यो सरकारले निषेधको राजनीति शुरु गरेको छ। प्रजातान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको छ ।

    सरकार अनुदार वन्दो छ । दुई तिहाईको अहंकार झन् बढेर गएको छ । विपक्षी, वुद्धिजीवी र आलोचकलाई सहनै नसक्ने मनो ग्रन्थीको विकास भएको देखिन्छ । अनुत्तरदायी सरकारको चरित्र कस्तो हुन्छ भने जनतालाई हरदम गुम्राहमा राख्ने, ढाँट्ने, भ्रम छर्ने र असत्यलाई सत्य सावीत गर्न कोशिस गर्ने हुन्छ अनि तर्कमा हारेपछि आक्रमणमा उत्रिने मानवीय स्वभाव नै हो । यहाँ भएको यही हो ।

    सरकारमा बसेका नेतृत्वहरू हुन् वा पार्टीका नेतृत्वहरू, उनीहरूको भाषा शैली, हेर्दा एउटा प्रधानमन्त्री वा पार्टीको नेतृत्वले वोलेको हो वा छापामार युद्धको नाइकेले छुट्याउन कठिन हुन्छ । अवस्था विकराल छ । बनाइएको छ यहाँ । ४० वुँदे मागको नाममा हजारौं निर्दोष जनता सहादत भए । पछि आफै सत्तामा रहँदा चालीस बुँदाको ‘च’ पनि उच्चारण गरेनन् यीनले । अहिले पनि यी सत्तामै छन् । अहिले पनि अर्को एउटा भएंकर युद्धको धम्की दिदैछन् ।

    धम्की कसलाई हो ? कसको विरुद्धमा युद्ध ? जनता ?संक्रमणकालीन न्याय समयमै पूरा गरेर पीडकलाई कारवाही गरिएको भए यस्तो बोल्ने आँट कसैले गर्ने थिएनन् । विप्लवहरूले फेरि बम पड्काउने, मान्छे हत्या गर्ने शाहस गर्ने थिएनन् आज । यहाँ त सँवैधानिक तथा कानूनी प्रावधान र नेपाल पार्टी रहेको अन्तराष्ट्रिय मानव अधिकारको महासन्धीहरूको खिल्ली उडाएको छ । संक्रमणकालीन न्यायको अवधारणालाई गिज्याएको छ । युद्ध पीडीतहरूलाई हँसिमजाक बनाएको छ ।

    सत्यनिरुपण तथा वेपत्ता आयोग औचीत्यहीन बनाइएको छ । संक्रमणकालीन न्यायलाई मौलिकताको नाममा घरेलु रुपमै सामसुम पारेर पीडकहरूलाई उन्मुक्ती दिने सरकारको सोंच देखिन्छ। सरकारको यस्तै सोंच र पीडकहरूको क्रियाकलाप रहिरहने हो भने यो गम्भिर हो, खतराको संकेत हो । यस्तो हर्कतले कसैलाई फाइदा हुँदैन । यो पक्का हो । अन्त्यमा वेफाइदा त शासक र पिडकलाई नै हुन्छ कारण न्याय र सत्य अमर हुन्छ । अकाट्य हुन्छ ।

    हत्या र हिंसाको उन्मुक्ति हुदैन । भागेर कहाँ जाने ? आज न्यायको विधिशास्त्रको नै धज्जी उडाइएको छ यहाँ । सरकारी संरक्षणमा दण्डहीनता झन् मौलाएको छ । हत्या, हिंसा र काटमार अभियोगमा थुनामा रहेको रेशम चौधरीलाई चोरवाटोबाट प्रतिनिधि सभा सदस्यमा सपथ गराइयो भने जेल सजाय भोगेर निस्केका दीपक भनिने राजीव गुरुङ्गलाई प्रदेश सभा सदस्यको । यी राजनीतिक अपराधीकरणको नामुद उधाहरणहरू हुन् । रेसम चौधरीको हकमा हत्या, हिंसा र ज्यादती जे सुकै कारणले जसले गरेको भए पनि क्षम्य हुँदैन भन्ने कुरा कैलाली जिल्ला अदालतको फैसलाले प्रमाणित गरेको छ । एउटा अपराधीलाई सरकारले गराएको सपथ गलत थियो भन्ने कुरा प्रमाणित भएको छ ।

    गंगामाया अधिकारी र निर्मला पन्तहरुको हकमा एउटा आमा, दिदी, बहिनीलाई न्यायको लडाइमा हराइ सकिएको छ । वलात्कारी त्यही छन्, हत्या, हिंसा गर्ने त्यही छन् । पीडित पनि त्यही छन् तर न्याए मात्रै छैन । न्यायको आत्मा नै मारिएको छ यहाँ । राजनीतिक स्वार्थ, दाउपेज र व्यक्तिगत स्वार्थको लागि न्याए र सत्यको हत्या हुने मूलुक भएको छ हाम्रो देश आज । सरकारको एक वर्षे कार्यकाल, उपलब्धी हेर्दा कुनै पनि कोणवाट घोर असफलता देखियो । परिणाम देखिएन । सरकार र यसको नेतृत्व अक्षम देखियो ।

    राजदुत नियुक्तिदेखि लिएर भेनेजुयला प्रकरणसम्म आइपुग्दा हाम्रो अस्थिर विदेश नीतिमा झन् ठुलो भ्वाङ् पारे यीनले । राष्ट्रिय स्वार्थको विषयहरुमा निर्णय गर्दा नियम, कानस्न र परम्पराभन्दा वचपन र हचुवापन देखियो । पार्टीगत र व्यक्तिगत स्वार्थ हावी देखियो । मनलागी भयो । गरे । हुँदाहुँदा सबैभन्दा ठूलो संघीयता विरोधी त नेकपा र वर्तमान सरकार पो देखियो त । हैन भने सिडियोलाई हर्ताकर्ता बनाउने चेष्टा किन गर्थे यिनले । कुरो वुझिनसक्नु छ ।

    अवको विकल्प के ?

    अतिवादी, आलोचक, वर्तमान सरकारको हर्ताकर्ता, नेतृत्वहरू र यीनका आसेपासे चम्चाहरू र अन्धभक्तहरू, पार्टी र सरकारका प्यादाहरूले बेमौसमको वाजा भन्लान् तर मेरो विचारमा अब नयाँ जनमतको पुनः मूल्यांकन गर्ने समय आयो । यो दुई तिहाइले गरेको १ वर्षको हर्कतहरू हेर्दा सरकारको नेतृत्व वा केही टाउकोहरू परिवर्तन गरेर मात्रै केही नहुने स्पष्ट देखियो ।

    दुई तिहाइसँग राष्ट्र सञ्चालनको, विकासको थोरै भन्दा थोरै भिजन पनि नभएको देखियो । अव वृहत राष्ट्रिय सहमतिमा मध्यवर्ती निर्वाचन घोषणा गरिनुपर्छ । किन ? पहिलो, प्रजातान्त्रिक मुलुकमा सरकारको हैसियतको वा कामको मूल्यांकन वर्ष वा महिनामा हैन, मिनेट—मिनेटमा हुन्छ । घण्टा —घण्टामा हुन्छ ।

    बहुमत ल्याएर सरकार बनाउँनु मात्रै काफी हुँदैन । वाचा गरे अनुसारको काम पनि देखिनुपर्छ । संविधान वा कानुनमा व्यवस्था गरीएको सरकारको कार्यकाल भनेको त अस्थाई हो वा जनमत रहेसम्म मात्रै हो । यसको मतलव प्रजातान्त्रिक मूल्य र मान्यता भीत्र रहेर वा संविधान वा विधिसम्मत काम गरे सम्मको लागि मात्र हो । यो सरकारले त पाइला पाइलामा संविधान, मूल्य मान्यता मिच्ने काम गरेको छ। विपक्षलाई वाइपास गरेको छ । अव दुई तिहाईको औचित्य के ? प्रश्न उठेको छ, उठाउनु पर्छ । सरकारको यी हर्कतहरुले अव जनमतको पुनमूल्यांकन गर्ने वाटो प्रशस्त गरेको छ ।

    दोस्रो, कुनै पनि सरकारको मूल्यांकन उसको कामवाट गरेको उपलब्धीबाट मूल्यांकन हुने हो । चुनावताका समृद्धि र सुशासनको मिठो सपना देखाए यीनले । जादुको छडीको कुरा गरे । असम्भव सपना देखाए । जनतामा भ्रम छर्ने काम भयो । चुनावी नारा अनुसारको थोरै भन्दा थोरै काम पनि भएन । खोई ? यसको अर्थ वर्तमान सरकारले जनमतकै ठुलो अपमान गरेको छ । दुई तिहाईको दुरुपयोग गरेको छ । दुई तिहाईको नाममा सार्वभौमसत्ता कै झन् ठुलो अपमान गरेको छ । संशदलाई अझै पनि रबरस्ट्याम्प मात्रै वनाएको छ ।

    सत्ताधारीहरुले क्रिश्चियन मिसनरीको ‘पवित्र जाँड’ सेवन गरे सँगै भेनेजुयला प्रकरण सम्म आइपुग्दा यिनीहरुको मनोग्रन्थी पनि मिर जाफर अलिखान वहादुर अनि लेण्डुप दोर्जेहरुको मनोदशा एउटै रहेको कुरा नेपाली जनताले स्पष्ट वुझिसके । दुईतिहाई सरकार भोगेको १ वर्ष पछि नै आज नेपाली जनताको मनोविज्ञान फेरिएको छ । ठुलो परिवर्तन आएको छ । त्यसैले मध्यवधी निर्वाचन अत्यावश्यक भयो ।

    तेस्रो, सवै भन्दा महत्वपूर्ण के भने प्रजातन्त्रको विकल्प अझ धेरै, परिस्कृत प्रजातन्त्र नै हो । विकल्प छैन । निर्वाचन नै प्रजातन्त्रको आधारशिला हो भने नयाँ जनमत खोज्न वा पुष्टि गर्न पनि निर्वाचन नै एक विकल्प हो । जन आक्रोस, आन्दोलन र जन—विद्रोहको विकल्प भनेको निर्वाचन नै हो । जन—अपेक्षा अनुसार सरकारले काम गर्न सकेन भने जनताले त्यसलाई वोकीरहनु पर्छ भन्ने कतै लेखिएको छैन ।

    प्रजातन्त्रमा जन इच्छा सबैभन्दामाथि हुन्छ । जनता नै सर्वभौम हुन्छ । त्यसैले मध्यावधि निर्वाचनको घोषणा गर्न ढिला गर्नु हुँदैन । यहि नै सबैभन्दा राम्रो विकल्प हो अहिलेको लागि । यो राष्ट्रिय स्वार्थको हितमा पनि हुनेछ । दुई तिहाइको बोझवाट राष्ट्रलाई मुक्ति दिनेछ भने सबै राजनैतिक शक्तिहरुलाई आफ्नो औचित्य पुष्टि गर्ने अवसर र अग्नीपरीक्षा दुबै हुनेछ ।

    अहिलेको राज्य सरकारले समाजलाई वेथिति र अहंकार सिवाय केही दिन नसकेको सत्य हो । संविधान, नियम र कानूनलाई कागजको खोस्टोमा परिणत गरिएको कुरा झनै सत्य हो । विभिन्न अनैतिक हर्कतह–ले हाम्रो जीवन पद्धति, मूल्य मान्यता र नैतिकतामाथि नै प्रश्न उठेको छ ।

    सत्य र न्यायको निर्मला हत्या भएको छ । जनतामा त्रास छ । देश नै टाट पल्टाउने हुन् की के हो भन्ने ठूलो शंका पैदा गरेको छ । जन निराशा व्याप्त छ। नियन्त्रित प्रजातन्त्रको शुत्रपात भैसकेको छ । समग्रमा राष्ट्र असफलतातिर उन्मुख छ भने प्रजातन्त्र नै खतरामा छ । यी कुराहरुमा गम्भिर बहस जरुरी छ । विकल्पहरु खोज्नुको विकल्प छैन ।

    (डा.बस्नेत बेलायतबाट मानव अधिकारसम्वन्धि कानूनमा विद्यावारीधी हुन्)

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली चयन

    कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी...

    सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

    काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै...

    सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

    दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते...

    तपाईंको राशिफल : आज २०७६ साल जेठ ५ गते आइतबार, सन् २०१९ मे १९ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित) पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा...