News Portal

  • युरोप घुम्ने नेतालाई प्रश्न : फोटोमात्र खिच्ने कि नेपालीको पीडा पनि बुझ्ने ?

    हिमाली संचार संवाददाता
    ६०६ पटक

    वसन्त रानाभाट/बार्सिलोना । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रुसमा पुगेर एउटा फरक नेपालको चर्चा गर्दै थिए । नेपालको प्रतिमूर्ति निर्माण गरेकोमा गैरआवासीय नेपाली संघको पहल र नेतृत्वलाई उनले प्रंशसा समेत गरे ।
    यसै सातादेखि युरोप भ्रमणको सुरुवात रुसबाट गरेका भट्टराईले भने, ‘विश्व समुदायमा हाम्रो आफ्नै विशिष्ट सभ्यता र संस्कृति छ । यो हेरेर मलाई अत्यन्त खुशी लाग्यो । किनकि हामी एक विश्वका अंग हौं । आफ्नो इतिहास, संस्कृति, वास्तुकला झल्कने गरी नेपाल हाउस बनेको छ । यसमा नेपालले पनि महत्त्वपूर्ण स्थान ओगटेको पाउँदा मलाई एकदमै खुशी लाग्यो ।’

    डा. भट्टराईले लेनिनको देश घुम्ने धोको त अवश्य पूरा गरे तर त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे कत्तिको चासो राखे वा राखेनन् ? लाखौ रुपैयाँ खर्च गरेर अवैधानिक बाटो हुँदै युरोप छिर्ने नेपाली युवाहरुको ट्रान्जिट जस्तै बनेको रुसमा लुकिछिपी रहेका नेपालीहरुबारे उनको ध्यान कत्तिको गयो ? यसबारे जानकार भए वा भएनन् ?

    वर्षौंअघि रुस आएर व्यावसायिक, प्राविधिक वा अन्य रुपमा सफल बनेका केही नेपालीहरुको सफलता कथामा मात्र दंग परे वा लाखौं रकम बिचौलियाहरुलाई बुझाएर युरोप सपना बुनेका युवाहरुका कथा पनि सुन्न भ्याए । नेपालदेखि दिल्ली, मस्को हुँदै स्थल मार्गको प्रयोगसँगै युरोपका अन्य मुलुकहरु छिर्ने युवाहरुका डरलाग्दो अवस्थाबारे चासो ब्यक्त गरे त ?

    नेपाल हाउस अगाडि भट्टराई दम्पत्तिले दङ्ग पर्दै फोटो समेत खिचाउन भ्याए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युरोपको अध्ययन भ्रमणको क्रममा पहिलो दिन दोहा हुँदै रूसको राजधानी मस्को पुगियो । लेनिनको देश घुम्ने र बुझ्ने पहिलेको योजना विशेषतः ०७२ असोजको अन्तिम क्षणमा रद्द गर्नुपर्दा अधुरै रहेको थियो । रूसमा रहेका गैरआवासीय नेपाली र रूसी विज्ञहरूसँगको छलफल र अन्तरक्रियाबाट नेपाललाई कसरी छिटो समृद्धिपथमा लान सकिन्छ बुझ्ने अपेक्षा गरिएको छ।’

    गत वर्ष एनआरएनको युरोपेली बैठकमा जर्मनीस्थित नेपाली राजदूत रमेशप्रसाद खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, एनआरएन डेस्क हेर्ने उपसचिव डा. डमरुबल्लभ पौडेल, अर्थमन्त्रालयका अधिकृत भीमकान्त न्यौपानेले बुँदागत रुपमा नेपालीहरुका समस्याहरु टिपे । तर, एउटा औपचारिकता मात्र निर्वाह गरे भन्दा पनि फरक पर्दैन ।

    यस्तै चेक रिपब्लिकन होस् वा पोल्याण्ड आउँदा, थुप्रै नेपालीहरु ठगिएका छन् । गत वर्ष गैरआवासिय नेपाली संघ (एनआरएनए) को युरोपेली बैठक जर्मनीमा हुँदै गर्दा पोल्याण्ड र चेक रिपब्लिकनमा धेरै नेपालीहरु ठगिएको विषयले निकै चर्चा पायो ।

    त्यतिबेला सभाकक्षमा नै चेक रिपब्लिकका एनआरएन प्रतिनिधिहरुले आवाज उठाएका थिए, ‘करिब ५–६ सय मान्छे अवैधानिक रुपमा यहाँ आइसकेका छन् । चेक रिपब्लिकन आउनलाई फ्री भिसा हो, यहाँ पैसा लाग्दैन । तर एजेण्टहरुले १०–१२ लाख रुपैयाँ लिएर १ लाख तलब पाइन्छ, बस्न र खान फ्री हुन्छ भनेर मान्छे ल्याउँछन् । यस्ता माफियाहरुलाई रोकिदिनुपर्यो । होइन भने चेक रिपब्लिकन एउटा ट्रान्जिट भएको छ ।’

    तर, यो आवाज केवल टिपोटमा नै सीमित रह्यो । पोल्याण्ड र चेक रिपब्लिकनमा लाखौं रकम बुझाएर आउने नेपालीहरु अहिले अन्तिम गन्तव्यको खोजी गर्दै पोर्चुगल र स्पेनमा थुप्रिएका छन् । चेक रिपब्लिकन आउनैका लागि एक नेपाली जोडीले ४० लाख रुपैयाँसम्म बुझाएको बताउँछन् । हाल स्पेनको बार्सिलोनामा आएका उनीहरुलाई जीवनकै ठूलो गल्ती युरोप छिर्नुलाई ठान्दै पछुतो मान्नुबाहेक अन्य विकल्प रहेन ।

    यसै साता एनआरएनको एघाराैं युरोपेली बैठक लक्जम्वर्गमा हुँदैछ । विगतमा भई आएका यस्ता बैठक वा सम्मलेनको प्रगति विवरणलाई हेर्ने हो भने यसपटक पनि सुन्ने र टिप्नेमा नै सिमित रहन्छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ । सम्मेलनमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अथितिको रुपमा सहभागी हुँदा युरोपमा रहेका नेपालीहरुका समस्यालाई एकै पटक सुन्ने र नजिकबाट बुझ्ने मौका भने प्राप्त गर्नेछन् ।

    अवैैधानिक रुपमा युरोप आएका तथा अन्य मुलकमा वैधानिक बस्ने आधार सकिएपछि अन्तिम गन्तव्यका रुपमा पोर्चुगललाई हेर्ने गरिन्छ । मानव तस्करहरुले समेत पोर्चुगलको सपना बाँड्दै नेपालमा लाखौं रकम कुम्लाउने गरेका घटनाहरु सुनिन्छन् ।

    पोर्चुगलको खेतीमा नेपाली श्रमिकहरुले पसिना चुहाएका छन् तर श्रमको उचित मूल्याङ्कन हुन सकेको छैन । सामाजिक नेतृत्व गरिरहेका केहि नेपालीहरुले नै श्रमशोषण गर्दै आफ्नो खल्ती भरिरहेको आरोप लगाउनेको कमी देखिँदैन । रोजगारीका लागि पोर्चुगल आउँने सीधा ढोका खोल्न वा कामदारको विषयमा दुबै मुलुकहरुबीच राम्रो संयन्त्र बनाउन नेपाल सरकारले सक्रियता बढाउन जरुरी छ ।

    मन्त्री ज्ञवालीले बुधबार पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भासँग भेटवार्ता गरे । झन्डै २० हजार नेपालीहरु बस्ने अनुमान गरिएको पोर्चुगलका नेपालीहरुको समस्यालाई गम्भीरताका साथ प्रस्तुत गर्न सके वा सकेनन् ? आफ्ना समकक्षीसँग भेटवार्ता गर्दा नेपाल पोर्चुगलको कुटनीतिक सम्बन्धलगायत दुईपक्षीय हितको विषयमा पहिलोपटक उच्चस्तरीय छलफल भयो । सुनौलो मौकाको सदुपयोग भयो वा भएन त्यो त आगामी दिनले नै बताउला ।

    केही दिनअघि मात्र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले समेत पोर्चुगलको भम्रण गरे । नेता निधिले युरोप भेलामा आएका कांग्रेस कार्यकर्ता छलफल र अन्तरक्रिया मात्र हैन प्रशिक्षणसमेत दिए । के उनी समग्र युरोपवासी नेपालीहरुका समस्यालाई बुझेर फर्केका छन् त ?

    प्रायजसो नेताहरु युरोपको विकास र समृद्धिको बारे चर्चा गर्ने, घुमफिर गर्दै परिवारसँग फोटो खिचाउने र नेपाल फर्किएपछि युरोपमा संघर्षरत नेपालीहरुको पीडालाई बिर्सने गरेको पाइन्छ । विशेषगरी मानव तस्करको प्रलोभनमा परी युरोप आएका वा बीचैमा अलपत्र परेका नेपालीहरुको पीडालाई भुलेको पाइन्छ ।

    प्रवासी नेपालीहरुका समस्याहरुबारे चासो राख्दै गर्दा पछिल्लो क्रममा इटाली आएका नेपाली युवाहरुको कथा डरलाग्दो छ ।

    केही महिनाअघि म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ वर्षीय धनमान पुर्जाले इटाली आउनेक्रममा ज्यान गुमाए । लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्ने क्रममा ट्युबको डुङ्गामा पानी छिर्न थालेपछि बाँच्ने आशा गुमाएर अचेत बनेका पुर्जाले बाटोमा नै ज्यान गुमाए । धनमानका श्रीमती र ४ छोराछोरीले अन्तिमपटक उनको अनुहारसमेत देख्न पाएनन् । युरोप पुगेर धन कमाउने पुर्जाको ठूलो सपना थियो तर उनको सपनालाई सामुद्रिक डुङ्गाले चकनाचुर बनाइदियो ।

    उनीसँगै यात्रा गरेका अन्य १२ नेपालीहरु बाँच्न सफल त बने तर इटाली छिरेपछि धन कमाउने सपना भने तुहिएको छ । ‘इटाली पुगेर महिनामा नै १५–१६ सय युरोसम्म कमाइन्छ, कार्ड बन्छ’ भन्ने प्रलोभनमा परेको उनीहरु अहिले पछुताइरहेका छन् । युरोप छिर्नकै लागि उनीहरुले जनही १३ देखि १७ लाख रुपैयाँसम्म रकम खर्च गरे तर इटालीको वास्तविकता भने भिन्नै रहेको छ । इटाली घटनाले युरोप छिर्न नेपालीहरु जस्तो सुखै जोखिम मोल्न पनि तयार छन् भन्ने बुझ्न सकिन्छ । त्यसो त पुर्जाको मृत्युअघि र पछि पनि नेपालीहरु लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्ने क्रम अझै रोकिएको छैन ।

    अफ्रिकी मुलका आप्रवासीहरुसँगै ज्यान जोखिममा राखेर युरोप छिर्ने युवाहरुको यस्तो कदमलाई रोक्न कस्तो कदम चाल्न उचित छ ? प्रलोभनमा पार्ने मानव तस्करदेखि विचौलियालाई कारवाही गर्न सरकारले किन उचित कदम चाल्न सक्दैन ? जोखिमपूर्ण यात्रा पार गर्दै इटालीस्थित शरणार्थी शिविरमा रहेका ती नेपालीहरुले, ठूलो सामुन्द्रिक जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका बताउँदै आएका छन् ।

    यस्तै साइप्रसमा घरेलु कामका लागि आएका महिलाहरु तथा विद्यार्थीहरु समेत इटाली मोहका कारण लाखौं रकम खर्च गरेका छन् । साइप्रस, टर्की बुल्गेरिया हुँदै सर्भिया र क्रोयसिया, स्लोभोनिया हुँदै अवैधानिक रुपमा इटाली छिर्ने क्रम बढ्दो छ । बाटोमा बन्धक बनाउँदै याताना दिने र ब्ल्यामेल गर्दै परिवारबाट बिचौलियाले रकम असुल्ने गरेको पीडितहरु बताउँछन् । युरोप सपना बोकेर आएका थुप्रै नेपालीहरु टर्कीमा अलपत्र परेका छन् ।

    घरेलु कामका लागि साईप्रस आएका नेपाली महिलाहरुको आफ्नै समस्या छ । डेनमार्क, फिनल्याण्डमा वा स्विटजरल्यान्डमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको समस्या पनि उत्तिकै पाइन्छ । चाहे स्पेनमा वैधानिक रुपमा बसेका नेपालीहरुलाई परिवार पुनर्मिलनका लागि दिल्लीस्थित स्पेनिस दूतावासले दिने सास्ती होस् वा इटाली, बेल्जियममा शरणार्थी बन्दै स्थायी बसाइँको अनुमतिको पर्खाइमा रहेका नेपालीहरुको पीडा किन नहोस् आ–आफ्नो ठाउँमा उत्तिकै छ ।

    तर मुख्यतः अवैध रुपमा युरोप छिर्ने क्रममा नेपालीहरुले भोगेको पीडा दर्दनाक छन् । यसै क्रममा विभिन्न मुलुकहरुमा नेपाली युवाहरु थुनिएका छन् । कतै विचौलियाले बन्धक बनाएर मोटो रकम असुलेका छन् । कठिनपूर्वक युरोप आइहाले पनि लाखौंको ऋण थाप्लोमा बोकेर कैयौं युवाहरु पछुतो मानिरहेका छन् ।

    एनआरएनको युरोप सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीसहित पूर्वप्रधानमन्त्री भट्टराईको पनि सहभागिता रहने छ । सम्भवतः युरोपका नेपालीहरुका समस्याहरु बारे बैठकमा अझ गम्भीर रुपमा बुझ्नेछन् । हालै युरोप भ्रमण गरी फर्केका कांग्रेस उपसभापति निधि हुन् वा भम्रण गरिरहेका पूर्वप्रधानमन्त्री भट्टराई हुन् वा परराष्ट्रमन्त्री ज्ञवाली ।

    मानवतस्करीका यस्ता घटनाहरु रोक्न तत्काल पहल गर्न जरुरी छ । आफ्ना पार्टीनिकटका कार्यकर्तासँगै युरोप घुम्ने, यहाँको विकास र समृद्धिबारे भाषण गर्दै फोटो मात्र खिचेर फर्कने हो भने विचौलियाहरु झनै मौलाउँदै जानेछन् । युरोपमा अवैधानिक रुपमा रहेका नेपालीहरुको अवस्था झनै दर्दनाक बन्ने छ ।

    प्रतिकृया दिनुहोस्

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal