News Portal

  • एसिडको जलन जीवनभर, अपराधीलाई हाइसन्चो

    सन्त गाहा मगर
    ५६९ पटक

    १२ असोज, काठमाडौं – मुलुकको कान्छो जिल्ला नवलपुर, कावासोती–९, की २७ वर्षीय बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन् । उनलाई सोमबार साँझ तरकारी किनेर घर फर्कदै गर्दा छुरा र एसिड प्रहार गरेको आरोपमा छिमेककै बसन्त शीर्पाली पक्राउ परेका छन् ।

    बसन्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका श्रीमान् यमबहादुर परियारले अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘उपचार जारी छ, तर डाक्टरहरूले के हुन्छ अहिले नै भन्न सकिँदैन भन्नुभएको छ ।’

    ई हप्ताको बीचमा भएको यो तेस्रो एसिड आक्रमण हो । यसअघि एसिड आक्रमणमा परेकी चन्द्रनिगाहपुर–६, रौतहटकी सम्झना दासको उपचारको क्रममा ज्यान गइसकेको छ ।

    सम्झनासँगै एसिड आक्रमणमा परेकी १४ वर्षीय सुस्मिता दासको कीर्तिपुर अस्पतालमा उपचार चलिरहेको छ । २६ भदौ मध्य राति मस्त निद्रामा रहेका बेला एसिड प्रहार गरेको आरोपमा छिमेकी ५० वर्षीय रामबाबु दास पक्राउ परेका छन् ।

    तुर्माखाँद–४, अछामकी देवसरा बयकका नाबालक छोरा मुस्कान बयकको २ असोजमा एसिडकै कारण मृत्यु भयो । जम्मा छ महिनाका मुस्कानलाई सुतिरहेका बेला एसिड खुवाएर मारेको अरोपमा उनकी काकी जानकी बयकलाई प्रहरीले पक्राउ गरेको छ ।

    विगतमा एसिड आक्रमणका यतिविधि घटना हुँदैनथ्यो । पछिल्लो एक दशकमा एसिड प्रहारका १७ घटना दर्ता भएको नेपाल प्रहरीको अभिलेखले देखाउँछ ।

    गएको दुई हप्तामा यस्तो अपराधको शिकार भएका चारमध्ये दुई जनाको ज्यान जानुलाई सामान्य रुपमा लिन नहुने जानकारहरू बताउँछन् । अधिवक्ता मीरा ढुंगाना, ‘रोकथामको उपाय नखोज्ने हो भने एसिड आक्रमण विकराल समस्या बन्न सक्छ ।’

    पीडितलाई आजीवन पीडा, अपराधीलाई हाइसन्चो

    सुनसरी, गौतमपुरकी रिंकु मेहतालाई १ फागुन ०७० मा एसिड प्रहार गरेका ओमप्रकाश मेहता तीन वर्ष कैद सजाय भोगेपछि वैदेशिक रोजगारीमा गइसकेका छन् । ओमप्रकाशलाई समाज र कानूनले छाती फुकाएर हिँड्ने छुट दिएको छ ।

    तर, कक्षा १० पढ्दापढ्दै यस्तो अपराधको शिकार भएकी रिंकु भने शरीर भरी ओमप्रकाशले प्रहार गरेको एसिडको घाऊको टाटा बोकेर हिंड्नु परेको छ । घाम र धुलोबाट जोगाउन मात्रै होइन, मान्छेहरूले देख्लान् की भनेर लुकेर हिँड्नुपर्ने अवस्था छ ।

    रिंकुमाथि आक्रमण हुनुभन्दा ठीक १० दिन पहिले इटहरी, पकलीमा ज्ञानु चौधरीलाई आफ्नै श्रीमान ओरेन्ज हुसेनले शरीर भरी एसिड खन्याएका थिए । जीवनभरी साथ दिने कसम खाएका हुसेनलाई अदालतले अपराधी ठहर त गर्‍याे  तर चार वर्ष सजाय भोगेपछि फुक्काफाल हिँडिरहेका छन् । ज्ञानु एसिडको चोट बोकेर छोरा र आमाको हेरचाहमा लागेकी छन् ।

    यी दुबै घटना मुलुकी संहिता जारी हुनुभन्दा पहिलेका हुन् । तर पीडितमैत्री भनिएको मुलुकी संहितामा पनि एसिड पीडितलाई न्याय गर्न सक्ने प्रावधान नभएको पीडितहरूको गुनासो छ ।

    गत भदौदेखि लागु भएको मुलुकी संहिता अनुसार क्रुर यातना दिई वा निर्ममतापूर्व ज्यान मारेको, विमान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिई हत्या गरेको, सार्वजनिक रुपमा उपयोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको, बलात्कार गरेर हत्या गरेको अपराधमा जन्मकैदको सजाय हुन्छ ।

    तर, एसिड प्रहारबाट शरीर क्षतविक्षत पारेर गरिएको हत्यालाई पनि संहिताले जन्मकैदको सजाय दिन आवश्यक ठानेको छैन । अनुहारमै एसिड परेको छ भने अपराधीले बढीमा आठ वर्ष सजाय पाउँछ । तर शरीरका अन्य अंगमा जतिसुकै क्षति पुर्‍याए पनि अपराधी तीन वर्षमै छुट्न सक्ने व्यवस्था संहितामा छ ।

    उपचार खर्चको सकस

    एसएलसी परीक्षा नदिँदै एसीड आक्रमणमा परेका संगाता र सीमा स्नातक तह अध्ययनको तयारीमा छन् । चार वर्ष पहिलेको त्यो त्रासदीपूर्ण घट्नाले बनाएको भाउको उपचार सकिएको छैन ।

    पछिल्लोपटक गत हप्ता अपरेसन गरेकी संगीता भन्छिन्, ‘१६ औं पटक अपरेसन भइसकेको छ, अझै कतिपटक उपचार गर्नुपर्ने हो डाक्टरहरुले पनि भन्न सक्नुभएको छैन ।’

    तर, त्यतिबेलाको घट्नाले अझै पिछा छाडेको छैन । ‘यस्तो पीडा भोग्नुपर्दा त अपराधीलाई फाँसीकै सजायहोस् जस्तो लाग्छ, तर त्यस्तो कानून छैन’ अहिले पनि घाउ दुखिरहने बताउँदै संगीता भन्छिन्, ‘हामी जस्ता निर्दोषले जीवनभरि पीडा बोकेर हिँड्नुपर्ने अनि अपराधी केही वर्षपछि नै गंगाजलले नुहाएजस्तो बन्न पाउने व्यवस्था राम्रो हो र ?’

    फलोअप उपचारका लागि काठमाडौं मोडेल कलेज धाईरहने संगीताको डेढ–दुई महिनाको फरकमा अपरेशन गरिरहनुपर्छ । उनका बुबा प्रेमबहादुर मगर एकपटक अपरेसन गर्दा ५०–६० हजार रुपैयाँ खर्च हुने गरेको बताउँछन् ।

    कीर्तिपुर अस्पतालमा सम्झना दास र सुस्मिता दासको उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेत एसिड आक्रमणमा परेका बिरामीको औषधी लगायत उपचार खर्च निकै महँगो भएको बताउँछन् । उनका अनुसार बिरामीको धेरै भागमा एसिड परेको छ भने विकसित देशमा पनि साढे एघार करोड रुपैयाँ (१० लाख अमेरिकी डलर)सम्म उपचार खर्च लाग्छ ।

    सम्झना दासका बुबा जादो लाललाई शुभचिन्तकहरूले भारत वा अन्य देशमा लगेर उपचार गर्न सुझाव नदिएका होइनन् । ३५ प्रतिशत शरीरमा क्षति पुगेको सम्झनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले शुरुमै बताएका थिए ।

    जादो लालले पनि आफ्नी प्यारी छोरीहरूको पीडा छिटो भन्दा छिटो निको गराउन नचाहेको कहाँ हो र । तर, आफूले चाहेको देशमा लगेर छोरीहरूलाई उपचार गराउने पैसा उनीसँग थिएन ।

    रौतहटबाट काठमाडौं ल्याउँदा नै सरसापट गर्नुपर्ने आर्थिक अवस्थाका उनका लागि भारत पुर्‍याउन लाग्ने एयर एम्बुलेन्सको २५ लाख रुपियाँ (भारु १६ लाख ) भाडा नै आकाशको फल जस्तो थियो । त्यहाँ पुगेपछि बालुवामा पानी खन्याएर जसरी हुने उपचार खर्च त झन कल्पना भन्दा बाहिरको कुरा भइहाल्यो ।

    डा. बस्नेत शरीरको धेरै भाग जलिसकेको छ भने सुविधा सम्पन्न अस्पतालमा पुर्‍याए पनि विरामी बाँच्ने ग्यारेन्टी नहुने बताउँछन् । उनका अनुसार ४० प्रतिशत भन्दाबढी भागमा एसिड परेका बिरामीलाई जोगाउन मुस्किल पर्छ ।

    मध्यम वर्गीय परिवारले समेत धान्न नसक्ने महँगो उपचार खर्च दर खाने दिनमा पनि घरमा मीठो मसिनो खुवाउन नसकेका जादो लाल जस्ता अभिभावकको वशमा हुने कुरै भएन ।

    अस्पताल, चिकित्सक र सहयोगीहरूले आफ्नो छोरी बचाउन भरमग्दुर प्रयास गरेको बताउँदै जादो लाल भन्छन्, ‘बाबुको मन हो कताकता विदेशमा लान सकेको भए सम्झना बाँच्थी कि जस्तो पनि लाग्छ ।’

    न राहत, न क्षतिपूर्ति

    सर्वोच्च अदालतले दश वर्ष पहिला नै एसिड पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । २८ साउन २०६६ मा सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय बलराम केसी र अवधेशकुमार यादवको संयुक्त इजलाशले सरकारले नेपाल पक्ष राष्ट्र भइसकेको सबै प्रकारका भेदभाव निर्मूलसम्बन्धी महासन्धि (सिड) को ‘ट्रिटी अब्लिगेसन’ पूरा नगरेको ठहर गरेको थियो ।

    सदिना खातुन र उनका तीन वर्षे छोरालाई ०६३ जेठमा एसिड प्रहार गरेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारलाई एसिड प्रहारजस्तो क्रुर अपराधमा सरकार आँखा चिम्लेर बस्दा अन्तराष्ट्रिय सन्धि, महासन्धि र सम्झौता हनन भएको उल्लेख गरेको थियो ।

    फौजदारी कानून सुधार कार्यदलका सदस्य तथा मुलुकी अपराध संहिता विधेयकका मस्यौदाकार वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानाङ्ग एसिड आक्रमणका घटनामा सजाय वापतको सबै रकम पीडितले क्षतिपूर्ति स्वरुप पाउने बताउँछन् । त्यति मात्रै होइन, पीडितको ज्यान गएको अवस्थामा जन्मकैदकै सजाय गर्नुपर्ने उनको धारणा छ ।

    तर, पीडितको उपचार खर्चको तुलनामा संहितामा राखिएको जरिवाना रकम भने निकै कम छ । किनभने संहितामा बढीमा जम्मा ५ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ । त्यो रकम पाउन पनि मुद्दा जितेर अदालती प्रक्रिया पुरा हुँदा वर्षौं लाग्न सक्छ ।

    पीडकको आर्थिक अवस्था कमजोर छ भने त्यो क्षतिपुर्ति रकम पाउनबाट पनि पीडित बञ्चित हुन पुग्छ । अधिवक्ता ढुंंगाना पीडितलाई तत्काल राहत र उपचार खर्च सरकारले नै व्यवस्था गर्नुपर्ने बताउँछिन् ।

    तत्काल सरकारी अस्पताल पुर्‍याउन नसक्ने अवस्था छ भने निजी अस्पताल गरिएको उपचार खर्च पनि राज्यले तिर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।

    ‘अपराधीलाई नाम मात्रको सजाय’

    एसिडबाट पीडित तथा सरोकारवालाहरू भने यति ठूलो अपराधका लागि यो सजाय निकै कम भएको बताउँछन् । सरोकारवालाहरू अपराधीलाई कडाभन्दा कडा कानूनी सजायको व्यवस्था नभई यस्तो अपराध नरोकिने बताउँछन् ।

    १० फागुन २०७१ मा काठमाडौं, बसन्तपुरमा ट्युसन पढ्न गइरहेका बेला संगीता पुलामी मगर र सीमा बस्नेतमाथि भएको एसिड प्रहारको चौतर्फी आलोचना भयो । त्यतिबेलासम्म यस्तो आततायी अपराधमा संलग्नलाई कारवाही गर्ने छुट्टै कानून बनिसकेको थिएन ।

    त्यो आपराधिक घटनापछि २०७२ सालमा लैङ्गिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एसिड आक्रमणलार्इं पहिलो पटक कानूनीरुपमा अपराधीकरण गरियो ।

    साविक मुलुकी ऐनको कुटपीटको महलमा ‘१४क’ थपेर एसिड प्रहार गरेर अनुहार कुरुप पार्नेलाई पाँचदेखि आठ वर्षसम्म सजाय र एक लाखदेखि तीन लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गर्‍याे । जरिवाना वापतको पुरै रकम पीडितलाई घाउ खर्च वापत दिइने पनि व्यवस्था गरियो ।

    एसिड आक्रमणसम्बन्धी छुट्टै दफाको व्यवस्था भने मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले गरेको हो । संहितामा दोषीलाई पाँच वर्षदेखि आठ वर्षसम्मको कैद सजाय र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

    पीडकको पक्षमा लाग्ने र उल्टै पीडितलाई दोषी देखाउन खोज्ने चलनको अन्त्य हुनुपर्नेमा जोड दिन्छिन् बसन्तपुर घटनाकी पीडित सीमा बस्नेत ।

    सधैंभरि अनुहार लुकाएर हिँड्नुपर्ने वा शरीरको जुनसुकै अंग भंग भएपछि रोजगारीको अवसर पाउने सम्भावना न्यून हुन्छ । बस्नेत भन्छिन्, ‘राज्यले मृतकका आफन्त वा बाँचेका पीडितलाई रोजगारीको लगायत समाजमा पुनस्र्थापना हुने वातावरण मिलाउनुपर्छ ।’

    एसिड प्रहारबाट १७ वर्षीया छोरी सम्झनालाई गुमाएका रौतहटका जादोलाल दास अपराधीलाई कडा सजायको व्यवस्था भए अपराध गर्नेहरू निरुत्साहित हुने बताउँछन् ।

    सानी छोरी सुस्मितालाई अस्पतालमा छोडेर सम्झनाको सतगत गर्न रौतहट गएका दासले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘मेरी फूलजस्ती छोरीहरूमाथि यति ठूलो हमला गर्ने अपराधीलाई सामान्य सजाय गरेर पुग्ला र ?’

    भरतपुर अस्पतालमा उपचाररत कावासोती–९ की बसन्तीकी दिदी मिठू परियार पनि अपराधीलाई हदैसम्मको सजाय हुनुपर्नेमा जोड दिन्छिन् । चक्कु र एसिड प्रहारबाट छट्पटाइरहेकी बहिनीको रेखदेख गर्न अस्पतालमा बसिरहेकी उनी भन्छिन्, ‘मेरी बहिनीमाथि जे भयो, अरुमाथि त्यस्तो नहोस् भन्नका लागि पनि अपराधीलाई कडा सजाय हुनुपर्छ ।’

    महिला, कानून र विकास मञ्चकी अध्यक्षसमेत रहेकी अधिवक्ता मीरा ढुंगाना भन्छिन्, ‘अपराधको क्रुरता हेर्दा एसिड हान्नेलाई आजीवन कारावास सजायको व्यवस्था हुनैपर्दछ ।’

    अनुहार बाहेकको अंगमा क्षति पुगेको अवस्थामा भने अपराधीलाई तीन वर्ष मात्रै सजाय दिएर छाड्न सकिने व्यवस्था मुलुकी संहितामा छ । जरिवाना पनि ५० हजारदेखि एक लाख रुपैयाँ मात्रै छ ।

    अधिवक्ता ढुंगाना यस्तो अपराधमा न्यायाधीशलाई तजबिजी अधिकार दिन नहुने बताउँछिन् । जस्तो– पाँचदेखि आठ वर्षसम्म सजायको व्यवस्था राख्नुको सट्टा सिधै आठ वर्ष कैद सजाय भन्नुपर्ने उनको सुझाव छ ।

    खै पुनर्स्थापनाको व्यवस्था ?

    पीडितलाई समयमै उपचार र अपराधीलाई कानूनी कठघरामा उभ्याएर मात्रै राज्यको दायित्व पुरा हुँदैन । उनीहरूको सामाजिक पुनस्र्थापना गर्नुको विकल्प छैन । पीडितमा आश्रित परिवारका सदस्यको समेत पुनस्र्थापना हुनुपर्ने जानकारहरू बताउँछन् ।

    संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ले उपचार, न्याय र क्षतिपूर्ति सम्बन्धी हकको सुनिश्चितता गरेको छ । सन् २००५ मा संयुक्त राष्ट्रसंघको महासभाले भौतिक तथा मानसिक उपचार र न्यायसँगै सामाजिक पुनस्र्थापनाको अधिकार प्रत्याभूत गरेको छ ।

    संसारभरि हरेक वर्ष हुने १५ सय एसिड आक्रमणका घटनाका पीडितमध्ये ८० प्रतिशत महिला छन् । घट्नापछि आफूहरूले सामाजिक समस्यामा पनि झेल्नु परेको पीडितहरूको अनुभव छ ।

    विनासको अर्को कारणः एसीडको सहज उपलब्धता

    बसन्तपुरमा संगीता र सीमालाई प्रहार गरेको एसिड जीवन बिकले न्यूरोडको एउटा ब्याट्री पसलबाट हर्लिक्सको सिसीमा राखेर लगेका थिए । सम्झना र सुस्मिता, नाबालक मुस्कान र बसन्तीमाथि प्रहार भएको एसिड प्राप्त गर्न पनि अपराधीले केही दुःख गर्नु परेन ।

    जानकारहरू जहाँसुकै एसिड प्राप्त हुँदा पनि अपराधीलाई सजिलो भएको बताउँछन् । न्याय तथा अधिकार संस्था नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेकी अधिवक्ता शशी बस्नेत भन्छिन्, ‘दाल, चामल भन्दा सजिलै किन्न पाउनु पनि एसिड आक्रमणका घट्ना बढ्नुको प्रमुख कारण हो ।’

    अधिवक्ता बस्नेतले आफ्नो रिटमा एसिड जस्तो संवेदनशील वस्तुको दुरुपयोग रोक्न यसको उत्पादन, भण्डारण, आपूर्ति, खरिद तथा बिक्री वितरणमा नियमन आवश्यक रहेको उल्लेख गरेकी छन् । रिटमाथि सुनुवाई गर्दै अदालतले १२ भदौ २०७३ मै एसिड बिक्री, वितरण, नियन्त्रण र नियमनको कानून बनाउन सरकारको नाममा परमादेश जारी गरेको थियो । तर, अदालतको यो परमादेश भने कार्यान्वयन भएको छैन ।

    छिमेकी भारत संसारमै दोस्रो बढी एसिड आक्रमण हुने देश हो । यस्तो अपराध हुने देशको पहिलो नम्बरमा छ, बंगलादेश । जहाँ सन् १९९९ देखि २०१७ को बीचमा ३७ सय ६० जनामाथि एसिड प्रहार भयो । सन् २००२ मा ‘एसिड कन्ट्रोल एक्ट र एसिड क्राइम प्रिभेन्सन एक्ट’ जारी भएपछि भने यो अपराधमा केही कमी आएको छ । यस्तो ऐन बनेको वर्ष ४९६ जनामाथि एसिड आक्रमण भएको थियो ।

    तर, ऐन आएको एक दशकपछि भने बंगलादेशमा एसिड पीडितको संख्या घट्दो क्रममा छ । एसिड सरभाईभर्स फाउन्डेसनका अनुसार २०१२ मा ९८, २०१३ मा ८६, २०१४ मा ७४, २०१५ मा ७४, २०१६ मा ५० र २०१७ मा ४८ जना प्रभावित भएका छन् ।

    सन् २०१८ को पहिलो आठ महिनामा १९ जनामाथि एसिड आक्रमण भएको फाउन्डेसनको तथ्यांक छ ।

    जहाँ पायो, त्यही एसिड किन्न नपाउने व्यवस्था मात्रै गर्न सक्दा अपराध घट्दो रहेछ भन्ने बंगलादेशको उदाहरणले देखाउँछ ।

    अधिवक्ता बस्नेत लाइसेन्स प्राप्त गरेका व्यक्तिलाई मात्रै एसिड प्रयोग गर्न दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘एउटा स्थानीय तहले नै मदिरा पिउनेलाई लाईसेन्स दिन सक्छ भने व्यक्तिको ज्यानै लिने एसिड प्रयोगमा पनि सरकारले लाइसेन्सको व्यवस्था गर्न सक्नुपर्दछ ।’

    शरीरमा एसिड परे के गर्ने ?

    नेपालमा एसिड उत्पादन हुँदैन । विभिन्न प्रयोजनका लागि आयात गरिएका एसिडलाई नै अपराधीहरूले दुरुपयोग गरिरहेका छन् ।

    खासगरी नाइट्रिक, हाइड्रोक्लोरिक, सल्फ्युरिक जस्ता एसिडले हान्ने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । उनीहरू एसिडले छालामा क्षति गर्छ र कुरुप तुल्याउँछ भन्ने आम बुझाइ गलत रहेको बताउँछन् । चिकित्सकहरूका अनुसार यसले आँखाको ज्योति गुम्नेदेखि हड्डी नै गलाउन सक्छ ।

    कीर्तिपुर अस्पतालमा कार्यरत डा. सुरेन्द्र बस्नेत जलनले गर्दा निमोनिया, प्रेसर, पिसाब रोकिने लगायतका समस्या देखिने बताउँछन् । ‘देख्दा छाला मात्रै चलेको हुन्छ, तर यसले छाती, किड्नी, मुटु र दिमागमा समेत क्षती पुर्‍याउन सक्छ’ उनी भन्छन्, ‘त्यसैले एसिडको घाउ अन्य दुर्घटनाको भाउ भन्दा बढी जोखिमपूर्ण मानिन्छ ।’

    सामान्तयाः अपराधीले ज्यानै लिने उद्धेश्यले आक्रमण गरेको अवस्थामा बाहेक शरीरको अंगमा एसिड पर्ने सम्भावना न्यून हुन्छ । प्रयोगशाला वा अन्य प्रयोजनमा यसको प्रयोग गर्दा हात–खुट्टामा परे पनि संवेदनशील अंगमा परेका उदाहरण विरलै छन् ।

    डा. बस्नेत एसिड परिहाले आधा घण्टा पानीमा नुहाउन सुझाव दिन्छन् । नुहाउँदा एसिडको केही मात्रा बगेर जान्छ ।

    एसिडले जलेपछि शरीरमा पानीको मात्रा कम हुने भएकाले यो उपाय उपयोग हुने डा. बस्नेतको भनाइ छ । तर, यस्तो गर्दा पीडित र उद्धारकर्ता दुबैको आँखा लगायतका संवेदनशील अंग भने जोगाउनुपर्ने उनी बताउँछन् ।

    जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्ने त छँदैछ । डा. बस्नेत तुरुन्तै अस्पताल पुगेका विरामीको उपचार प्रभावकारी हुने गरेको बताउँछन् ।

    सम्झना दासलाई चन्द्रनिगाहपुरबाट १५७ किलोमिटरको दुरी पार गरेर काठमाडौं ल्याई पुर्‍याउँदा बिहान भइसकेको थियो । बोलाएको बेलामा एम्बुलेन्स पनि आएन । अभिभावक पनि शुरुमा अलमलमा परे । चन्द्रनिगाहपुर अस्पतालले ‘रिफर’ गरेपछि मात्रै उनलाई काठमाडौं ल्याइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal