News Portal

  • महिलामाथि विभेद कायमै, रोजगारीका नाममा बढ्दो मानव तस्करी

    रमेश भारती
    २७२ पटक

    विश्वभर आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। नेपालले पनी विभिन्न कार्यक्रम आयोजना गरेर नारी दिवस मनाउने गरेको छ। ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ यो वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छ।

    न्यूयोर्कमा सन् १९०७ सालको मार्च ८ तारिखका दिन महिलालाई उचित ज्याला र १० घण्टा कामको माग गर्दै संघर्ष सुरु भएको नारी दिवस । सन् १९०८ साल मार्च ८ तारिखकै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग राखेका थिए ।

    सोही दिनको सम्झनामा सन् १९१० सालदेखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । न्यूयोर्कमा भएको संघर्षलाई स्मरण गर्दै हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ। नेपालमा भने अन्तर्राष्ट्रिय नारी दिवस १९७५ सलदेखि मनाउन शुरु गरिएको हो ।

    नेपालका विभिन्न नारीवादी संस्था र राजनीतिक दलले अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि सरकारले मनाउन थालेको थियो । सन् १९१० सालको मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्षको ८ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेसँगै नेपाल सरकारले यो दिवस मनाउने घोषण गरेको थियो ।

    • रोजगारी र ज्यालामा विभेद:

    नेपाली महिला रोजगारी र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुग्ने गरेका छन् । वि.सं. २०५० साल यता करिब ११ लाख नेपाली महिला वैदेशिक रोजगारीमा विभिन्न देश पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक छ । नेपाली महिला विषेशत: खाडीका देशमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

    वैदेशिक रोजगारीमा करिब ७ लाखभन्दा बढी महिला कामदार कार्यरत छन् । तीमध्ये ७० प्रतिशत महिला घरेलु रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । खाडीका देश र मलेसिया महिला कामदारलाई घरेलु रोजगारीमा लैजाने गरिन्छ ।

    सरकारले विस २०६९ सालमा ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडीका देश र मलेसिया घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको थियो । खाडी देश र मलेसिया रोजगारीमा गएका महिला कामदार आर्थिकसँगै मानसिक, शारीरिक शोषणमा परेको भन्दै सरकारले घरेलु रोजगारीको श्रम स्वीकृति रोकेको थियो । हाल खाडीका देश र मलेसियामा महिला कामदार पठाउन प्रतिबन्द छ ।

    धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक, रोजगारी हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो अन्तर रहेको पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछिन् । विकासशील देशहरूको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् । तर, स्रोत र साधनमा ती महिलाहरूको अत्यन्त न्यून पहुँच हुनेगरेको पौरखीकी अध्यक्ष गुरुङले बताइन् ।

    ‘नारी दिवस केका लागि, दिनानुदिन महिला हिंसा बढ्दै गर्दा नारीले रमिता हेरेर मात्र बस्ने काम भइरहेको छ । नेपालको सन्दर्भमा एकतिर रोजगारीका नाममा महिला बेचिएका छन् भने अर्कोतिर चुलोचौकाबाट बाहिर निस्कन सकेका छैनन्,’ उनले भनिन्, ‘नेपाली महिलाहरू हरेक दृष्टिकोणबाट पीडित छन् । चाहे त्यो घरभित्र हुने हिंसा होस् अथवा समाजबाट हुने हिंसा होस् । पाँच वर्षकी बालिकादेखि ६० वर्षकी बृद्धासमेत बलत्कृत भइरहेका छन् ।’

    सरकारले वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउन रोक लगाएर महिलाको रोजगारीको अधिकार हनन गरेको अध्यक्ष गुरुङको आरोप छ ।  महिलाहरू न हिजो सुरक्षित थिए न आज छन् । सरकारले महिलामाथि भइरहेको अपराधिक क्रियाकलाप हेरेर बस्ने गरेको उनको आरोप छ ।

    नेपालभित्र २१ लाख घरेलु महिला कामदार रहेको सरकारी तथ्यांक छ। यी घरेलु महिला कामदारले सरकारले बनाएको श्रम ऐन अनुसार सेवा सुविधा पाउँदैनन् । सरकारले श्रमिकका लागि भनेर ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुविधासमेत महिला श्रमिकले लिन पाएका छैनन् ।

    महिला हिजो पनि समाजिक अपहेलना र विभिन्न आरोपमा पीडित थिए, आज पनि त्यही स्थिति कायमै छ । महिला हिंसा, लैङ्गिक विभेद, छाउपडी प्रथा जस्ता कुराले महिलालाई पछाडि पार्ने चलन कायमै रहेको महिला अधिकारकर्मीको आरोप छ ।

    देशभित्र रोजगारीमा कार्यरत महिला र पुरुषमा ज्यालामा समानता नभएको आवाज उठ्ने गरेको छ । लोकतन्त्र आएपछि ज्यालादरी श्रमिक र अन्य महिलाबीच समान ज्यालाका लागि सरकारले पहल नगरेको महिला अधिकारकर्मीको गुनासो छ ।

    • रोजगारीका नाममा मानव बेचबिखन

    पछिल्लो समय वैदेशिक रोजगारीका नाममा महिलाहरू बेचबिखनको सिकार बनिरहेका छन् । सरकारले खाडीका देशमा घरेलु महिला कामदार पठाउन रोक लगाएपछि भारत, श्रीलंका र बंगलादेश हुँदै ती देशमा नेपाली महिला कामदार ओसार्न थालिएको छ ।

    खाडीका देश र मलेसिया मात्र नभइ विकासित देशमा राम्रो रोजगारीमा लगाइदिने भन्ने प्रलोभन देखाएर नेपाली महिलाको तस्करी भइरहेको छ । दक्षिण एसियामा नेपाली महिला मानव तस्करीको उच्च जोखिम रहेको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अध्ययनने औँल्याइएको छ ।

    निरक्षर महिलाहरू दलाल र विचौलियाको फन्दामा परि जटिल समस्यामा पर्ने जोखिम अझै बढी छ । अत्यासलाग्दो गरीबी र बेरोजगारीले पिल्सिएका नेपाली महिला दलालको प्रलोभनमा पर्ने गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले बताए । सरकारले रोजगारीका नाममा अन्य वाहनामा भइरहेको मानव तस्करी नियन्त्रण गर्न सहकार्य र गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।

    सरकारले वैदेशिक रोजगारीका सम्बन्धमा ग्रामीण महिलालाई शिक्षित बनाउन सकेको छैन । जसका कारण विदेशमा कमाइ र राम्रो रोजगारी पाउने आसमा धेरै महिला दलालको फन्दामा पर्ने गरेको रोजगारविज्ञको आरोप छ ।

    नेपालबाट वार्षिक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७ हजारभन्दा धेरै महिला मानव तस्करीले तेस्रो देश पु्र्‍याउँने गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अध्ययनमा उल्लेख गरिएको छ ।

    राष्ट्रिय मानव अधिकार आयोगको आप्रवासनसम्बन्धी अध्ययनमा १५ लाख नेपाली महिला मानव तस्करीको जोखिममा रहेको औँल्याइएको छ । मानव तस्करीको निशानामा ग्रमीण भेगका निरक्षर महिला पर्ने गरेको आयोगको अध्ययनमा उल्लेख छ ।

    • संविधानमै आरक्षणको ग्यारेन्टी 

    नेपालको संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री भएको बताइन्छ । एसियाका अन्य देशको तुलनामा राजनीतिक क्षेत्रमा नेपाली महिला धेरै अगाडि बढेका पाइन्छ । नेपाली महिला राजनीति, प्रशानिक र कानुनी क्षेत्रका उच्च पदमा बसेर काम गरिरहेका छन् । नेपालको संविधानमा महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

    महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग भइरेको छ । संविधामा आरक्षणको व्यवस्था भए पनि कार्यन्वयन नभएको महिला अधिकारकर्मीको आरोप छ ।

    उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । सोही अनुसार प्रत्येक स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी व्यवस्था छ ।

    संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् ।

    सरकारले नारीलाई संविधानमै सुरक्षा र उनीहरूको अधिकारको ग्यारेन्टी गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता निरौला बताउँछन् । समयअनुसार सरकारले महिलाका अधिकारलाई व्यवस्थित बनाइरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal