News Portal

  • सहकारीमा बेथिति सञ्चालक मालामाल सदस्यको बेहाल

    हिमाली संचार संवाददाता
    ३९८ पटक

    बनेपा – विनायक बचत तथा ऋण सहकारी संस्थामा राखेको आफ्नै पैसा निकाल्न पनि नमोबुद्ध–१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले निकै तनाव झल्नुपर्यो । उनी प्रहरीदेखि सञ्चारमाध्यमका ढोकासम्म पुगे । सहकारीका सञ्चालकले दिन्छु–दिन्छु भन्दै भाका सार्दै गइरहेका छन् । तर, ८ महिनादेखि धाउँदा पनि घोरसाइनेले संस्थाबाट निक्षेप फिर्ता पाउन सकेका छैनन् ।

    काठमाडौंका सडक किनारामा मकै पोलेर घर खर्च चलाउँदै आएकी एक महिलाले वर्षौंदेखि नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा निक्षेप जम्मा गर्दै थिइन् । श्रीमानले पनि छाडेपछि एक छोरीलाई काखमा च्यापेर मकै पोल्दै आएकी उनले थोरै–थोरै रकम जम्मा दैनिक जम्मा गर्थिन् । छोरी हुर्किइन् । उच्च शिक्षाका अध्ययनका लागि उनलाई पैसा चाहियो । वर्षौंदेखि जम्मा गरेको रकम ८ लाख नाघिसकेको थियो । छोरीलाई त्यही पैसाले उच्च शिक्षा दिलाउने सोचकी उनी सहकारी संस्थामा पुगिन् । तर त्यसबेलासम्म सहकारी संस्था नै बन्द भइसकेको थियो । पछि उनले थाहा पाइन् २४ करोड रुपैयाँ सर्वसाधारणको निक्षेप कुम्ल्याएर सहकारीका सञ्चालक नै फरार भएछन् । त्यसपछि उनी सहकारी विभाग बानेश्वरमा न्यायका लागि पटक–पटक धाइरहिन् । तर पनि आफ्नो पैसा फिर्ता पाउन सकेकी छैनन् ।

    *****

    यी दुई प्रतिनिधि पात्र मात्रै हुन् । सहकारीको ठगीबाट सर्वसाधारण पीडित भएका घटनाहरु धेरै छन् । देशमा अहिले ३४ हजार ८ सय ३६ वटा सहकारी संस्थाहरु छन् । तिनीहरुले मुलुकको अर्थतन्त्रमा राम्रै योगदान पनि दिएका छन् । तर, विकृति पनि उत्तिकै छ ।

    यो क्षेत्रबाट करिब ६८ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । कुल गाह्रस्थ उत्पादनमा सहकारी क्षेत्रको ४ प्रतिशत योगदान छ । नेपालमा बचत तथा ऋणको वार्षिक ४० खर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । जसमा ४ खर्ब रुपैयाँ अर्थात १० प्रतिशत हिस्सा सहकारी क्षेत्रले ओगटेको छ ।

    तर सहकारी संस्थामा भएको बेथितिले राम्रा विषयहरु खर्लप्पै छोपेको छ भने नराम्रा गतिविधिहरु बढ्दै गएका छन् । सहकारीमा सेयर सदस्यहरु समस्यामा पर्दा सञ्चालकहरु भने जहिले पनि सुरक्षित नै हुन्छन् । सहकारी क्षेत्रका सञ्चालकहरु मालामाल र सदस्यहरु बेहाल हुने अवस्था निरन्तर चलिरहेको छ ।

    सेयर सदस्यले लगानी गरिदिएको रकमबाट चल्ने सहकारी क्षेत्रका नेताहरुले साधारण सदस्यको हितका लागि भने कमै ध्यान दिएका छन् । अझ लकडाउन भएयता यस्ता समस्याका उजुरीहरु बढ्दो क्रममा रहेको सहकारी विभागका अधिकारी बताउँछन् ।

    लगानी सर्वसाधारणको, प्रतिफल नेतालाई !

    जसले लगानी गर्छ प्रतिफल उसैले पाउनु पर्ने हो । तर सहकारी क्षेत्रमा अलि अवस्था फरक छ । लगानी गर्ने सेयर सदस्यहरु सधैं समस्यामा हुन्छन् । कहिले सञ्चालकले बदमासी गरिदिन्छ र लगानी नै डुब्ला कि भन्ने चिन्ता भइरहन्छ । सेयर सदस्यहरुले राम्रो मुनाफा आर्जन गरे पनि प्रतिफल भने सहकारी क्षेत्रका संघ तथा महासंघका नेताहरुसम्म पुग्छ ।

    लगानी उठे नाफा भयो, प्रतिफल सञ्चालकले पनि खान पाए । यदि ऋण डुबे सर्वसाधारण सेयरधनीको विचल्ली बनाएर सञ्चालक नै फरार हुने गरेका छन्

    सहकारी ऐनको दफा ७० मा सहकारी प्रवर्द्धन कोष सम्बन्धी व्यवस्था गरिएको छ । सहकारी व्यवसाय प्रवर्द्धनको लागि खुद बचत रकमको २५ प्रतिशत रकम छुट्टयाई त्यसको शून्य दशमलव ५ प्रतिशतले हुन आउने रकम यो कोषमा जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ । लगानीको प्रतिफल राष्ट्रिय सहकारी महासंघदेखि विषयगत सहकारी संघ, प्रदेश सहकारी संघ, प्रदेशका विषयगत संघका साथै जिल्ला सहकारी संघ र जिल्लाका पनि विषयगत सहकारी संघसम्मलाई पुर्याउनु पर्ने कानुनमै व्यवस्था गरिएको छ ।

    यो कोष सहकारी तथा गरिवी निवारण मन्त्रालयमा छ । यो कोषमा भएको रकम क–कसलाई कति बाँड्ने भनेर सहकारी ऐनमा नै उल्लेख छ । नियमावलीमा उल्लेख भएअनुसार प्रवर्द्धन कोषमा रहेको रकमबाट श्रोतको तीस प्रतिशतसम्म राष्ट्रिय सहकारी महासंघमा बुझाउनु पर्छ । केन्द्रीय विषयगत सहकारी संघहरुलाई जम्मा श्रोतको २५ प्रतिशतसम्म, प्रदेश सहकारी संघ तथा प्रदेशका विषयगत र जिल्लाका विषयगत संघहरुलाई समेत श्रोतको १० प्रतिशत रकम बुझाउनु पर्ने नियामावलीमा उल्लेख गरिएको छ । यो कोषबाट जिल्ला सहकारी संघहरुलाई पनि श्रोतको १५ प्रतिशतसम्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    यसरी जम्मा भएको रकम शिक्षा, सूचना, तालिम, बजार प्रवर्द्धन, अनुगमन लगायतमा खर्च गर्ने ऐनमा उल्लेख गरिएको छ । तर, धेरै पैसा अनुगमन र भ्रमणका नाममा सकिन्छ । यही पैसाबाट सहकारी क्षेत्रका नेताहरु विदेश भ्रमणमा पुग्ने गरेको सहकारी क्षेत्रका जानकारहरु बताउँछन् ।

    सहकारी संस्थाहरुले प्रवर्द्धनमा खर्च गर्ने भनेर छुट्टै पैसासमेत छुट्याएका हुन्छन् । यो रकम पनि सहकारीका सञ्चालकहरुले धेरैजसो घुमघाममै खर्च गर्ने गरेका छन् । संस्थाले गराउने अध्ययन भ्रमण पनि अधिकांश सहकारीले सञ्चालकहरु मात्रै लैजान्छन् ।

    असुरक्षित लगानी, ब्याजदरमा मनमरी

    सहकारीमा स्वेच्छिक तथा खुला सदस्यता नीति हुनु पर्नेमा सहकारी संस्थाहरुले विषयगत संघहरुमा सदस्यता लिनु पर्दा पनि सदस्य संख्याका आधारमा लेवी तिर्ने गरेका छन् । मानौं, २ हजार सदस्य रहेको उदयपुरको एउटा सहकारी संस्था केन्द्रीय बचत तथा ऋण सहकारी संस्थामा सदस्य बन्नु पर्यो भने ७ रुपैयाँका दरले पैसा बुझाउनु पर्छ ।

    वित्तीय कारोबार गर्न नपाउने छाता संगठनहरुले समेत बैंकको जस्तै वित्तीय कारोबार गर्ने गरेका छन् । सहकारीहरुले गर्ने लगानी पनि एकदमै असुरक्षित छ । देशको एक नागरिकले जुनसुकै बैंकमा गएर ऋण लिन सक्छ । तर सहकारीबाट ऋण लिनका लागि संस्थाको सदस्य हुनै पर्छ । त्यसमा पनि कम्तिमा ३ महिना अघिदेखि सदस्य भएको हुनुपर्ने व्यवस्था छ ।

    तर सञ्चालकहरुले आफ्ना मान्छेलाई ल्याएर एक सय रुपैयाँको रसिद काटेर सदस्यता दिई सोही दिन ठूलो रकम ऋण लगानी गर्ने गरेको महासंघका पदाधिकारीहरु बताउँछन् । यसले सहकारी क्षेत्रको लगानी कति असुरक्षित छ भन्ने देखाउँछ । यसरी गरिएको लगानी डुब्ने जोखिम हुन्छ । लगानी उठे नाफा भयो, प्रतिफल सञ्चालकले पनि खान पाए । यदि ऋण डुबे सर्वसाधारण सेयरधनीको विचल्ली बनाएर सञ्चालक नै फरार हुने गरेका छन् ।

    सहकारी संस्थाहरुले अहिले मनपरी ब्याज लिइरहेका छन् । सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । धेरै सहकारीले योभन्दा बढी लिन्छन् । अझ कतिपय सहकारी संस्थाहरुले त सेवा शुल्क भन्दै थप ४ प्रतिशतसम्म लिने गरेका छन् ।

    सहकारी विभाग के भन्छ ?

    सहकारी क्षेत्रमा यति धेरै बेथितिका बारेमा सहकारी विभाग पनि जानकार नै छ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे अनुमगन भइरहेको बताउँछन् । उनले सहकारी क्षेत्रलाई सुधारका लागि गर्नु पर्ने कामहरु भइरहेको दाबी गरे ।

    केही संस्थाहरुलाई कारबाहीसमेत गरिएको उनले जानकारी दिए । ‘हामीले नियमित अनुगमन गरिरहेका छौं, कैफियत भेटिएका संस्थाहरुलाई सुधार्न भनेका छौं,’ उनले भने, ‘गत वर्ष २ वटा संस्थालाई त हामीले कारबाही नै गरिसकेका छौं ।’

    उनले समयमा बचत फिर्ता नदिएका उजुरीहरु पनि बढ्दो क्रममा रहेको सुनाए । कसरी हुन्छ समस्या सहज बनाउने प्रयास भइरहेको उनले बताए । सहकारी संस्थाहरुमा सञ्चालकहरु नै हावी भएको कुरालाई पनि रजिष्ट्रार पाण्डेले स्वीकार गरे । संस्था लोकतान्त्रिक ढंगले सदस्यबाट नियन्त्रित हुनु पर्नेमा त्यसो नभएको उनको बुझाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal