News Portal

  • ए डिभिजन लिग : न खोजेजस्ता खेलाडी, न खोजेजस्तो मैदान !

    ऋग्वेद शर्मा
    ४९२ पटक

    ७ भदौ, काठमाडौं – झण्डै चार वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुन अब एक महिना मात्र छ । तर, लिग खेल्ने १४ मध्ये एकाध क्लबसँग मात्र टिम तयार छ । तीन विभागीय टोली आर्मी, पुलिस, सशस्त्र प्रहरीका साथै थ्रीस्टार र मनाङ मस्र्याङ्दीसँग मात्रै बलियो टिम छ ।

    तर, अरु क्लबसँग अझै टिम छैन । ‘हामीसँग १०/१२ जना खेलाडी छन् । बाँकी खेलाडीसँग पनि सम्झौता गर्ने प्रयासमा भइरहेको छ’ फ्रेन्ड्स क्लबका अध्यक्ष राजिव पौड्यालले अनलाइनखबरसँग भने ।

    फ्रेन्ड्सले टिममा आवद्ध गरेका अधिकांश खेलाडी यू-१८ का छन् । राष्ट्रिय टिममा खेलेको खेलाडीहरु विभागीय क्लबका साथै थ्रीस्टार र मनाङमा छन् । उनीहरुलाई क्लबले नियमित पारिश्रमिक दिन्छ ।

    अहिले नयाँ क्लबले अनुबन्ध गर्न चाहँदा ठूलो रकम खर्चिनुपर्छ, जुन उनीहरुले सम्भव नै देखेका छैनन् । ‘अहिले त खेलाडी नै छैनन् । भएका खेलाडी भने तितरवितर भइसके । नयाँ खेलाडी अनुबन्ध गर्न पनि आवश्यक रकम छैन’ सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली भन्छन् ।

    लिग कमिटीका अनुसार क्लबले कम्तीमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउने छन् । जसमा ४ जना विदेशी खेलाडी राख्न पाउने नियम छ । यदि हरेक टिमले २० जना राख्छन् भन्ने मान्ने हो भने पनि २ सय ८० खेलाडी चाहिन्छ । यसमा ५६ सम्म विदेशी खेलाडी अटाउन सक्छन् ।
    तर, चार वर्षदेखि लिग नहुँदा धेरै खेलाडी पलायन भइसकेका छन् । चार वर्षअघि लिग खेल्ने केही उमेरका कारण पनि अहिले पुनः फुटबलमा फर्कन सक्ने अवस्थामा छैनन् भने कोही विदेशिए ।

    हालै मात्र एन्फाले यू-१८ प्रतियोगिता गराएका कारण उमेर समूहकै भए पनि केही खेलाडी देखिएका छन् । अब धेरै क्लब तिनै खेलाडीहरुलाई अनुबन्ध गरेर ए डिभिजन लिग खेल्ने तयारीमा छन् ।

    एन्फाका अधिकारीहरु खेलाडी अभाव पनि स्वीकार गर्छन् । एक पदाधिकारीले भने, ‘ए डिभिजन लिग भने पनि क्ललहरुले बी र सीका खेलाडीलाई लिएर टिम बनाउनुपर्ने अवस्था हामीलाई थाहा छ ।’

    क्लबहरुकाअनुसार उमेर समूहका खेलाडीहरुलाई न्यूनतम २०/२५ हजार रुपैयाँ मासिक तलब दिनुपर्ने अवस्था छ । विदेशी र राष्ट्रिय टिममा खेल्ने खेलाडीहरुको तलब धेरै क्लबले व्यहोर्न सक्ने अवस्था छैन ।

    साधारण टिम बनाउँदा पनि ७०/८० लाख खर्च हुने अवस्था रहेको बताइन्छ । ‘यू-१८ का खेलाडीहरु पनि एक वर्षसम्म क्लबमा रहने व्यवस्था भएको भए राम्रो हुन्थ्यो’ फ्रेन्ड्सका अध्यक्ष भन्छन् ।

    मनाङ, थ्रीस्टारहरुलाई भने समस्या छैन । मनाङ लिग नभएका वर्षमा पनि खेलाडीहरुलाई ६/६ महिनाको अनुबन्धमा राख्दै मोफसलका प्रतियोगितामा व्यस्त थियो । मनाङका प्रशिक्षकसमेत रहेका सचिव विजय घले एक दुई दिनमा खेलाडी अनुबन्धको काम सकेर अभ्यासमा जुट्ने बताउँछन् ।

    मैदान अभाव त्यस्तै

    क्लबहरुसँग खेलाडी मात्र होइन, खेल्ने मैदान समेत छैन । आर्मी र सशस्त्र प्रहरीको आफ्नो मैदान छ । तर, सशस्त्र प्रहरीको हल्चोक मैदानका अतिरिक्त एन्फा कम्प्लेक्समा लिग खेलाउने एन्फा नेतृत्वको तयारी छ । यस्तो अवस्थामा एकाध बाहेक कुनै पनि क्लबसँग अभ्यास गर्ने मैदान समेत छैन ।

    एन्फा कम्प्लेक्समा थोरै मात्र दर्शक अट्छन् भने सशस्त्र प्रहरीको मैदानमा प्रवेश नै कठीन हुनेछ । दर्शकबिनाको फुटबल अर्थ नहुने सरस्वती क्लबका अध्यक्ष पराजुली बताउँछन् ।

    राष्ट्रिय टोलीका कप्तान विराज महर्जन पनि दर्शकको साथले नै खेलाडीहरुले राम्रो गर्न सक्ने बताउँछन् । तर, लामो समयदेखि हुन नसकेको लिग हुने कुराले उत्साहित भने भएको उनले सुनाए ।

    ‘चार वर्षदेखि लिग हुन नसक्नु दुःखद हो । हामी खेलाडी फुटबलमा भिज्न पाएनौं भने त्योभन्दा कठीन अवस्था अरु के होला त ? हामी खेल्न पाउने बाहेक अरु कुरा सोच्दैनौं’ उनले भने ।

    लिग कि वार्मअप ?

    एन्फाको नयाँ नेतृत्वले असोज १३ गतेदेखि माघ १६ गतेसम्म ए डिभिजन लिग सञ्चालन गर्ने बताएको छ ।

    तर, रेलिगेशन नहुने उसको घोषणाले लिगमाथि नै प्रश्न उठाएको छ । रेलिगेशन लिग फुटबलको आत्मा हो । आत्मालाई नै मारेर गराउन लागेको लिगको के अर्थ भन्ने प्रश्न पनि आएको छ ।

    टिम नै बनाउन नसक्ने अवस्थामा लिग खेल्ने र रेलिगेशन हुने हो भने आफूहरु खेल्न नसक्ने एक क्लबका पदाधिकारी बताउँछन् ।

    तर, एन्फा नेतृत्व पनि रेलिगेशन विनाको लिग लिग जस्तो नहुने मान्छन् । तर, रेलिगेशन राख्न तयार छैनन् ।

    यसमा मुख्यतः क्लबहरुको दबावले काम गरेको देखिन्छ । टिम नै बनाउन नसक्ने अवस्थामा लिग खेल्ने र रेलिगेशन हुने हो भने आफूहरु खेल्न नसक्ने एक क्लबका पदाधिकारी बताउँछन् । उनले भने, ‘वर्षौसम्म लिग नै हुन नसकेको अवस्थामा यो लिग होइन, वार्मअप हो ।’

    एन्फा प्रवक्ता किरण राई ए डिभिजन लिगमा रेलिगेसन नहुँदा पनि फुटबलको मर्म मर्न नदिने दाबी गर्छन् । ‘हामीले नयाँ शैलीले सोचेका छौं । रेलिगेसन नभए पनि अन्तिममा रहेका तीन क्लबले अर्को वर्षको लिग सुरु हुँदा अंक गुमाउने छन् । जसले जितको महत्व कायम राख्ने छ’ उनले भने ।

    एन्फाले गरेको तयारीका अनुसार लिग सकिँदा अन्तिममा रहने क्लबले अर्को वर्षको लिग सुरु हुँदा ३ अंक गुमाउने छ । अन्तिमबाट दोस्रोमा रहनेले दुई अंक र तेस्रोमा रहनेले एक अंक गुमाउने छन् । साथै अर्को वर्षको लिग सुरु हुनुअघि पाउने तयारी खर्च पनि कटौती गर्ने तयारी छ । यसले मिलेमतो हुन नदिने र खेल भावना नमर्ने विश्वास गरिएको प्रवक्ता राई बताउँछन् ।

    रेलिगेसन नहुँदा हुन सक्ने विकृति कम गर्न र अरु खेलभावना विपरीतका गतिविधि नियन्त्रण गर्न एन्फाले इन्टिग्रिटी अफिसर राखेको पनि प्रवक्ता राईले बताए । ‘मंगलबार मात्रै हामीले पूर्वडीआईजी सुदीप आचार्यलाई इन्टिग्रिटी अफिसर नियुक्त गरेका छौं । उहाँले काम थालिसक्नु भएको छ, लिगमा हुनसक्ने मिलेमतो र लापरबाही जस्ता कुरामा हाम्रो ध्यान हुनेछ’ उनले भने ।

    पुरस्कार राशी तोकिएन

    पछिल्लो पटक ०७० सालमा भएको लिगमा विजेताले १ करोड र उपविजेताले ५० लाख रुपैयाँ पाएका थिए । त्यसबेला क्लबहरुले तयारीका लागि भनेर एन्फाबाट १० लाख रुपैयाँ पाएका थिए ।

    यसपटक पुरस्कार तय भइसकेको छैन । तर, एन्फाले तयारीका लागि हरेक क्लबलाई २०/२० लाख रुपैयाँ छुट्याउने तयारी गरिरहेको छ । लिगमा ‘ए डीभीजन’ का १४ क्लबको सहभागिता रहनेछ ।

    थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेण्डस् क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यू रोड टिम, बिग्रेड ब्वाइज, हिमालयन शेर्पा क्लब लिगमा छन् ।

    २०११ सालबाट सुरु भएको लिग ०७४ सालसम्म ६३ वर्षमा ४१ पटक भयो । हुन नसकेका वर्षमा विशेष त राजनीतिक कारण नै देखिए पनि पछिल्लो चार वर्ष एन्फाको बेथितिले नै यताउति भयो । यसैले रेलिगेसन नै नहुने गरी हुन लागे पनि लिग हुने कुराले सबै सकारात्मक छन् ।

    समग्रमा चार वर्षदेखि हुन नसकेको लिग सुरु गर्ने एन्फा नेतृत्वको प्रयासलाई सकारात्मक मान्नुपर्छ । यसले नयाँ खेलाडीहरुलाई मौका मात्र दिने छैन, क्लबहरुको गतिविधि पनि बढ्नेछ । तर, रेलिगेशन विना लिग गराउँदा रोमाञ्चकतामा कमी नआओस् भन्नेमा एन्फा सचेत हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal