News Portal

  • अर्को देशको आसमा सकिन्छ खाडीको कमाइ

    ४५८ पटक

    जनकराज सापकोटा/काठमाडौँ — खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता ‘राम्रो कमाइ हुने’ देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् ।

    यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् । तर, पैसा बुझाइसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाइ छ । प्रहरीमा आएका उजुरीले पनि त्यही देखाउँछ ।

    कृष्ण घलेले दुबईमा ५ वर्ष पसिना बगाएर कमाएको पैसा मकाउ जाने आशमा गुमाए । लमजुङको दोर्दी गाउँपालिका ४ का उनले दुबईमा सँगै काम गरेका सफलराज कुँवरको भर परेर झन्डै ७ लाख रुपैयाँ बुझाएका थिए । गाउँका ४ साथीसँग पनि जनही ६ लाख ७५ हजारका दरले एकमुष्ट साढे २६ लाख रुपैयाँ संकलन गरेर सफलले भनेको मान्छेलाई दिए । तर न उनी मकाउ जान पाए, न उनका साथीहरू । यतिबेला कृष्ण फसेको पैसा उठाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाइरहेका छन् । ‘दुबईमा कमाएको सबै गयो, दु:खले कमाएको धन फस्यो,’ उनले भने ।

    नवलपरासी, कावासोतीका टीकाराम भट्टराईले १० वर्ष मलेसिया र साउदी अरबमा बिताए । ५ वर्ष मलेसियामा काम गरेर फर्केलगत्तै साउदी गएका उनले त्यहाँ २ वर्ष बिताए । फेरि मलेसिया गएर ३ वर्ष काम गरे । अघिल्लो वर्ष माघमा उनी नेपाल फर्के । दशक लामो विदेश बसाइबाट जोगाएको रकम खर्चेर मंसिरमा फेरि टर्की लागे । पर्यटक भिसामा पुगेका उनले त्यहाँ भनेजस्तो काम पाएनन् ।

    सोचेजस्तो कमाइ नहुने देखेपछि मानव तस्करको सहयोगमा अवैध रूपमा ग्रिस छिर्ने प्रयत्नमा उनी लागे । त्यही बेला पक्राउ परे । तीन दिन थुनामा बसेपछि नेपाल फर्किए । मनग्गे कमाउने लोभमा उनले मलेसिया र साउदी अरबमा पसिना बगाएर कमाएको करिब ६ लाख गुमाए । लामो प्रयास र झन्झटपछि उनले एजेन्टबाट साढे चार लाख मात्र फिर्ता पाए ।

    साढे ६ वर्ष कतार बसेका पाल्पा, रामपुरका नारायण सुनुवारको व्यथा पनि यस्तै छ । डेढ वर्षअघि घर फर्केका उनले कमाएको पैसा कहाँ लगाउने भन्नेमै वर्ष दिन गुजारे । आफन्तको सल्लाहमा उनले पनि टर्की जाने प्रक्रिया सुरु गरे । दिल्ली हुँदै पर्यटक भिसामा टर्की पुगेका उनले भनेजस्तो काम त पाएनन् नै, आवासीय अनुमतिको कानुनी आधार पनि भेटेनन् । त्यसपछि उनी पनि मानव तस्कर गिरोहलाई पैसा बुझाएर ग्रिस जाने तयारीमा जुटे । त्यहीबेला पक्राउ परे । चार दिन थुनामा बसेपछि नेपाल फर्के । उनको पनि साढे ६ लाख रुपैयाँ गुम्यो । ‘कतारको कमाइ स्वाहा भयो,’ नारायण थक्थकाउँछन् । यतिबेला नारायणसहितका व्यक्तिले फसेको रकम उठाउन र अवैध रूपमा विदेश पठाउन संलग्नलाई कारबाही माग्दै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।

    इटहरीका उमेश विष्टको भोगाइ पनि उस्तै छ । पाँच वर्ष दुबई बसेर झन्डै दुई वर्षअघि फर्केका उनलाई लाग्यो– अब नेपालमै केही गर्नुपर्छ । के गर्ने भन्ने सोच्दासोच्दै केही महिना बित्यो । छटपटीका तिनै दिनमा उनको सम्पर्क दुबईमा सँगै काम गरेका पुराना साथी सफलराज कुँवरसँग भयो । मकाउ पुगेका सफलले आशा देखाएर भने, ‘मकाउ आउने भए चाँजो मिलाइदिन्छु । भनेजस्तो कमाइन्छ ।’

    सफलले भनेअनुसार उनले ४ लाख ५० हजार रुपैयाँ सन्तबहादुर गुरुङको खातामा हालिदिए । उनले गाउँले, छिमेकी र नातेदार गरी सात जनासँग पनि पैसा उठाए । २५ लाख रुपैयाँ सफललाई दिने गरी सन्तको खातामा हालिदिए तर न उमेश मकाउ जान पाए न त गाउँले र आफन्त । उनले दु:खेसो पोखे, ‘खाडीको कमाइ मकाउ सपनाले डुबायो । साथीभाइ र आफन्तको पैसा पनि डुब्यो ।’

    वैदेशिक रोजगारीबारे अध्ययन/अनुसन्धानमा संलग्न गणेश गुरुङ खाडी र मलेसियाबाट कमाएर फर्केकाहरू मानव तस्करको चंगुलमा परेर बिल्लीबाठ हुने प्रवृत्ति बढदै गएको बताउँछन् । गुरुङको बुझाइमा स्वदेशभित्रै लगानीको उचित वातावरण र केही रकमसहित फर्किएका कामदारको पैसा सदुपयोग गर्ने नीति नहुँदा यस्ता घटनाले निरन्तरता पाइरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले साउन १३ मा मकाउ लैजाने आश्वासन दिएर ठगी गरेको आरोपमा सुनसरी, धरानका बालकृष्ण भण्डारीलाई पक्राउ गर्‍यो ।

    उनीमाथि २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजारका दरले रकम उठाएको आरोप थियो । यही अभियोगमा ब्युरोले काठमाडौं सरस्वतीनगरबाट सन्तबहादुर कुँवरलाई पनि पक्राउ गरेको छ । (कान्तिपुर)

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal